शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नगरप्रमुखविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित ६ जना पक्राउ

बुधबार, ०८ साउन २०७६, १२ : ५९
बुधबार, ०८ साउन २०७६

खोटाङ हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राईविरुद्ध चक्काजाममा उत्रिएका दुई वडाध्यक्षसहित छ जनालाई प्रहरीले पक्राउ गरेको छ । गत असार ३१ गते आयोजित नगरसभाप्रति असन्तुष्टि जनाउँदै चरणबद्ध आन्दोलनमा उत्रिएका उनीहरुले आज बिहान आयोजना गरेको चक्काजाम गर्न खोजेका थिए । चक्काजाममा सहभागी वडा नं ५ दुर्छिमका वडाध्यक्ष रमेश तिवारी, वडा नं ७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राई र सोही वडाका वडासदस्य नीरजमानसिं बस्नेतसहित छ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
 
उनीहरुसँगै चक्काजाममा बसेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हलेसी नगर समितिका कार्यालय सदस्य प्रमोद श्रेष्ठ, नगर समितिकै सचिवालय सदस्य सर्वधन बस्नेत र महादेवस्थान वडासमिति सचिव धनकुमार भुजेललाई प्रहरीले पक्राउ गरेको छ । चक्काजाम गराउन बसेका वडाध्यक्षसहित छ नेकपाका कार्यकर्ता पक्राउ परेपछि अहिले दिक्तेल–हलेसी सडकखण्ड तनावग्रस्त बनेको छ ।
    
नगरप्रमुख राईले नेकपाबाट निर्वाचित चार वडाध्यक्षको मागलाई बेवास्ता गर्दै एकलौटी ढङ्गले नगरसभा गरेको भन्दै विरोधमा उत्रिएका उनीहरुले एक घण्टाका लागि बिहान छ बजेदेखि चक्काजाम गरेका थिए । चार वडाध्यक्षसहित २६ जनप्रतिनिधि, नेकपानिकट कार्यकर्ता र स्थानीयवासीले हिजो नाराजुलुससहित एक घण्टा दुर्छिमस्थित नगरपालिकाको कार्यालयमा धर्ना दिएका थिए ।

सडकमा अवरोध पु¥याएकाले चक्काजामको नेतृत्व गर्ने दुई वडाध्यक्षसहित छ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले जानकारी दिए । ‘पक्राउ परेका उनीहरुलाई इलाका प्रहरी कार्यालय हलेसीमा राखिएको छ’, उनले भने, ‘उनीहरुका बारेमा के गर्ने भन्ने बारेमा सुरक्षा समितिको बैठक बसेर निर्णय गर्ने तयारी गरिएको छ ।’

नेकपाबाट निर्वाचित चार वडाध्यक्षले आर्थिक वर्ष २०७४÷७५ को महालेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न, आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रगति समीक्षा गर्न, एकमुष्टमा बजेट विनियोजन गर्ने परिपाटी अन्त्य गर्नलगायतका माग राख्दै आएका छन् । नगरप्रमुखदेखि रुष्ट बनेका उनीहरुले सम्बन्धित वडाको जनप्रतिनिधिलाई थाहै नदिई कतिपय योजनाको उपभोक्ता समिति गठन गरिएको, हालसम्मको आन्तरिक राजश्व चुस्तदुरुस्त नदेखाइएको, योजनालाई कार्यकर्ता लक्षित गरिएको लगायतका आरोप लगाएका छन् । 

जनप्रतिनिधिसहित ६ जना नेता तथा कार्यकर्ता पक्राउ परेपछि अहिले हलेसी नगरसमितिको बैठक बसिरहेको छ । शान्तिपूर्ण आन्दोलनमा प्रहरीले बल प्रयोग गरेको प्रति आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्ने तयारी भइरहेको नगरसमिति अध्यक्ष सुरेन्द्र राईले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप