शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जुन महिना इतिहासकै उच्च गर्मी : तापक्रमले किन नयाँ कीर्तिमान बनाउँदैछ ?

बुधबार, ०८ साउन २०७६, १० : ३२
बुधबार, ०८ साउन २०७६

ज्यासमिन अगुलिएरा/टाइम

अमेरिकाको मध्यपश्चिम र पूर्वी सामुद्रीक तटीय क्षेत्रमा लाखौँ नागरिक अत्यधिक तापक्रमको सामना गर्न तयार रहेका छन् । गत जुन महिनामा इतिहास कै अत्याधिक गर्मी भएको रेकर्ड आइरहेका बेला वैज्ञानिकहरुले जुलाई महिना पनि सोही किर्तिमान दोहोराउन सक्ने बताएका छन् ।

वैज्ञानिकले जलवायु परिवर्तनले गर्दा अत्यधिक गर्मी मौसम र ‘हिट वेभ’ विश्वभर बारम्बार दोहोरिने अनुमान गरेका छन् ।

२० औँ शताब्दीमा जुन महिनामा विश्वको औसत तापक्रम ५९.९ डिग्री फरेनहाइट रहने गरेको थियो । द नेसनल असिएनिक एन्ड एट्मोस्फेरिक एड्मिनिष्ट्रेसन (एनओएए) का अनुसार गत जुन महिनामा भने सो औसतभन्दा तापक्रम १.७१ डिग्री फरेनहाइट बढी रहेको थियो । आर्टिक तथा अन्टार्टिका क्षेत्रको बरफको क्षेत्र अत्यधिक रुपमा घटेको पनि एनओएएले जनाएको छ ।

“हाम्रो जलवायु तातोपना बढ्दै गएको छ,” एनओएएका जलवायु वैज्ञानिक अहिरा सन्चेक–लुगोले टाइमलाई बताएका छन् । ‘२१ औँ शताब्दीमा आइपुग्दा हामीले विश्वको तापक्रममा पाँच पटक नयाँ किर्तिमान बनाइसकेका छौँ,’ उनले भने ।

जुन महिनामा अत्यधिक गर्मी भएको रेकर्ड आइरहेका बेला वैज्ञानिकहरुले जुलाइ इतिहासकै अत्यधिक गर्मी महिना रहन सक्ने र विश्वको तापक्रम निरन्तर बढ्ने वरिष्ठ वैज्ञानिक रोबर्ट रोह्डेले टाइमलाई बताएका छन् ।

क्षेत्रीय रुपमा युरोपमा जुन महिनाको तापक्रमले रेकर्ड नै तोडेको छ । अफ्रिका तथा दक्षिण अमेरिका र अलस्काका लागि वर्षको पहिलो छ महिना अत्यधिक गर्मी भयो । माडागास्कार, न्यूजल्याण्ड, मेक्सिको, पश्चिम क्यानाडा र पूर्वी एसिया पनि यस अवधिमा अत्यधिक तापक्रम वृद्धि भएको छ ।

जनवरीदेखि जुनसम्मको तापक्रम  बिसौँ शताब्दीको विश्वको औसत तापक्रम ५५.३ डिग्री भन्दा १.७१ डिग्रीमाथि रहेको थियो । सबैभन्दा गर्मी वर्ष रहेको सन् २०१७ सँग यसले बराबरी गरेको छ ।

यो प्रवृत्तिको कारण मानिसले उत्सर्जन गरेको हरितगृह ग्यास भएको लरोह्डेले बताएका छन् । उनले भने, “मानिसले उनीहरुको चालचलन परिवर्तन नगरेसम्म यो क्रम जारी रहने र वायुमण्डल रुपान्तरित रहने छ ।”

उनले विश्वको तापक्रम क्रमिकरुपमा बढ्दै गएको र हामीले अब तातिरहेको विश्वमात्र देख्ने बताएका छन् । “यो निरन्तर भने हुने छैन,” उनले भने, “हाम्रा प्रत्येक नयाँ वर्ष गर्मी मात्र हुने छैनन्, नयाँ महिना गर्मीमात्रै हुने छैनन्, त्यसमा उतार–चढाव हुनेछ, नयाँ रेकर्ड बनाउँदै हामी अगाडि बढ्नेछौँ ।”

तापक्रमले किन नयाँ रेकर्ड बनाउँदैछ ?

एनओएएका जलवायु वैज्ञानिक सन्चेक–लुगोका अनुसार अहिले विश्व तातिँदै गएको छ जसले गर्दा हामीले तापक्रममा वृद्धि हुनको साथै खडेरी र अकल्पनीय मौसमको निरन्तर सामना गर्नुपर्छ ।

“हाम्रो तापक्रमको उच्च तह परिवर्तन हुनेछ”, उनले भनिन्, “खडेरी अझै भयानक र बाराम्बर दोहोरिनेछ । खडेरीले पानीको गुणस्तरमा पनि असर पार्नेछ । खडेरीकै कारण पानी र खाद्यान्न, बालीलगात वस्तुहरु महङ्गो हुँदै जानेछ ।”

वैज्ञानिक रोह्डेका अनुसार अब विश्वमा केही दिनमात्र चिसो हुनेछ । हरितगृह ग्यास उत्सर्जनका कारण विश्वमा निरन्तर तापक्रम वृद्धि हुनेछ । उनले भने, “यसले परम्परागत मौसमका लागि तयार गरिएको सामाजिक, आर्थिक र प्राविधिक प्रणालीमा दबाव पर्ने अवस्था आउँछ ।” उदाहरणका कृषि प्रणाली केहीमात्र पर्ने पानीको भरमा पर्नुपर्छ, जुन तापक्रम वृद्धि हुँदै जाँदा निरन्तर घट्दै जानेछ ।

जलवायु वैज्ञानिक सन्चेक–लुगोले अमेरिकका विभिन्न भागमा जलवायु परिवर्तको असर देखिइसकेको बताइन् । उनले जुन महिनामा अमेरिकको मध्यपश्चिमा औषतमात्र पानी परेको र त्यसले खेती तथा खाद्यान्न उत्पादनका लागि अपुग भएको उल्लेख गरिन् । उनले भनिन्, “यो वर्ष खेती गर्ने क्षेत्रमा मकै रोपिएन किनकी त्यहाँ पर्याप्त चिसो थिएन ।”

लामो समयपछि जलवायु परिवर्तनले आर्टिक तथा अन्टार्टिक क्षेत्रमा बरफ पग्लेर ठूलो खतरा ल्याउनेछ । त्यसले गर्दा समुद्र सतहमाथि आउनेछ । जुन महिनामा अन्टार्टिकामा सन् १९८१ देखि सन् २०१० मा समुद्री बरफले ओगटेको क्षेत्र औसतभन्दा ८.५ प्रतिशत कम थियो । यो फरक ६२ हजार प्रतिवर्ग माइल हो । त्यसैगरी आर्टिक क्षेत्रमा समुद्री बरफले ढाकेको स्थान औसतभन्दा १०.५ प्रतिशतले कम थियो, यो जुन महिनाको दोस्रो कम रेकर्ड हो ।

प्रचण्ड तातोले कहाँका जनतालाई असर पार्छ ?

यो जुन महिनामा युरोप, अस्ट्रिया, जर्मनी र हङ्गेरी सबैभन्दा बढी ततिए । तर, जुन महिनाको २८ तारिखमा स्वीट्जरल्याण्ड र फ्रान्समा इतिहासकै गर्मी देखियो । जुन ११३ डिग्री फरेन्हाइट थियो ।

लिड्स विश्वविद्यालयमा प्रिष्टीली इन्टरनेशनल सेन्टर फर क्लाइमेट चेन्जमा प्राध्यापक रहेका पिइर्स फोस्टरले अत्यधिक तातोपना युरोप क्षेत्रका बृद्धबृद्धाका लागि निकै खतरनाक हुने बताए । उनले भने, “उनीहरुले उच्च तापक्रम थेग्न सक्दैनन् ।” “खासगरी युरोपमा उच्च तापक्रमले विशेषगरी कृषि उपजमा ठूलो क्षति पुग्नेछ,” उनले थपे, “बालीमा ठूलो असर पर्नेछ, अझै धेरै संवेदनशीलता डढेलोबाट देखिनेछ, जसले घर जलाउने अथवा वायुप्रदुषणको अत्यन्त खराब अवस्था सिर्जना गर्नेछ ।”

त्यसैगरी दक्षिण अमेरिका, अफ्रिका र अलस्का समग्र क्षेत्रमा जुन महिना सबैभन्दा बढी नै तातियो । आलस्कामा तापक्रम वृद्धिका कारण हिउँ पग्लिएर पूर्वाधार ध्वस्त भए । अहिले अमेरिकाले १०० डिग्री फरेनहाइट तापक्रमको ‘हिटवेभ’ थेग्न कमजोर देखियो । नेसनल वेलफियर सर्भिसका अनुसार प्रचण्ड तातो मौसम अमेरिका लागि समुद्री आधीभन्दा पनि बढी जोखिम हुनेछ ।

तापक्रम वृद्धिको क्रमलाई परिवर्तन गर्न केही गर्न सकिन्छ ?

सन्चेक–लुगो, रोह्डे र फोस्टरले विश्वको तापक्रम वृद्धिमा अन्त्य गर्न हरितगृह ग्यासको उत्सर्जनलाई रोक्न विश्व सहमत हुनुपर्ने बताए । फोस्टरले हरितगृह ग्यास कम गर्न सकिएन भने बढ्दै गरेको तापक्रम बृद्धिलाई रोक्न नसकिने बताए । उनले भने, “तापक्रम वृद्धि हुनुबाट रोक्न, हामीले हरितगृह ग्यासको उत्सर्जनलाई जुनसुकै हालतमा शून्य बनाउनै पर्छ ।”

विश्वको तापक्रम वृद्धिलाई २ डिग्री सेल्सीयस अर्थात् ३.६ फरेनहाइटभन्दा बढी हुन नदिन विश्वका १७९ देशहरुले हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने ‘प्यारिस जलवायुसम्बन्धी सम्झौता’मा हस्तारक्षर गरेका छन् । तर, अमेरिका सन् २०१७ देखि उक्त सम्झौताबाट फिर्ता भइसकेको छ ।

फोस्टर अझैपनि सकारात्मक हुँदै भन्छन्, “विश्वका सबै देशले यस विषयलाई अत्यन्त गम्भीरतापूर्वक लिनेछन् । यो विषय विश्वका प्रत्येक देशले आर्थिक क्षेत्रमा इच्छा देखाएका छन्, तर यो हाम्रो मानवियतामाथिको चुनौति भएकाले सधैँ उठीरहन्छ, म व्यक्तिगत रुपमा विश्वस्त छु ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप