शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

'देवीजी आउनुस् अब सँगै मिलेर जाऔँ '

शुक्रबार, २७ साउन २०७४, ११ : ५२
शुक्रबार, २७ साउन २०७४

सर्वप्रथम त तपार्इंलाई बधाई छ, जीतपछि कस्तो महशुस गरिरहनुभएको छ ? 
यतिबेला भरतपुर महानगरपालिकाको मेयरमा निर्वाचित हुँदा मलाई अत्यन्तै खुसी र थप जिम्मेवारीबोधको पनि अनुभूति भइरहेको छ । यसलाई मैले अवसर र चुनौतीका रुपमा पनि लिएको छु । 

आइतबार तपार्इंहरुले पद तथा गोपनियताको शपथ पनि लिनुभयो तर नेकपा एमालेका जनप्रतिनिधिले बहिष्कार गरे । यसलाई कसरी लिनुभएको छ ? यो तपाईंप्रति असहयोगको सङ्केत होइन ? 
शपथ ग्रहण कार्यक्रममा उहाँहरु आउनुपथ्र्यो, के कति कारणले आउनुभएन मलाई जानकारी भएन । मतगणना स्थलमा मतगणना हुँदैगर्दा परिणमा स्वीकार गरेर मलाई बधाई तथा शुभकामना दिनुभएको हो । एमाले जिल्लाका अध्यक्ष कृष्णभक्त पोखरेललगायत पार्टीका प्रतिनिधिहरु जति पनि हुनुहुन्थ्यो, उहाँहरु सबैले मलाई बधाई तथा शुभकामना दिएर जानुभएको थियो । उहाँहरुको सल्लाह बमोजिम नै शपथ ग्रहण समारोह तय गरिएको थियो । उहाँहरुले त्यसलाई स्वीकार गर्नुभएको थियो तर समारोहमा उहाँहरु देखिनुभएन । मलाई पनि आश्चर्य लाग्यो किन आउनुभएन कार्यक्रममा ? उहाँहरुलाई नै जानकारी होला त्यो विषय तर आउनुभएन, आउनुपथ्र्यो भन्ने मलाई लाग्छ । 

भर्खरै पदबहाली गर्नुभएको छ, चुनौतीका पहाडहरु के–के देख्नुभएको छ ?  
सबैखालको ट्रेन्ड र टेन्डेन्सीको नेतृत्व गरेर अगाडि बढनुपर्ने हुन्छ । विभिन्न राजनीतिक पार्टी, विभिन्न समुदायका व्यक्तिहरुको भावना, सल्लाह सुझाव अनुसार अगाडि बढ्नुपर्ने हुन्छ । सबैलाई मिलाएर लैजानुपर्ने जुन परिस्थिति छ, त्यसलाई चाहिँ ठीक ठीक ढङ्गले मिलाएर लैजानुपर्ने अवस्था छ । 

यो एउटा राजनीतिक चुनौती हो, अरु चुनौती के देख्नुभएको छ ?
कतिपय प्राविधक खालका समस्या पनि छन् । ती सबैका सन्दर्भमा म के भन्न चाहन्छु भने सबै खालका तह र तप्काका सल्लाह सुझाव लिँदै विज्ञ समूहका अनुभव, सबैका सुझाव लिएर अगाडि बढ्छु । त्यो ढङ्गले सुझाव लिएर अगाडि बढ्दा चुनौती होला जस्तो लाग्दैन । 

हो म प्रचण्डपुत्री त हुँ, यसमा मलाई गर्व छ । थप जिम्मेवारीबोध पनि मलाई हुन्छ तर त्यति मात्रै कारण भएर समग्र हिजोदेखि आजसम्मका मेरा भूमिकाहरुलाई कमजोर बनाउने, मिनिमाइज गर्ने ट्रेन्ड देखिन्छ नि, त्यो चाहिँ कुनै पनि अर्थमा मलाई सही लाग्दैन् । एउटा कार्यकर्ताको हैसियतले मैले पनि त्यो भूमिका पाउनुपर्यो ।

तपाईंलाई पारिवारिक जोडबलका आधारमा मेयर बनाइयो र विभिन्न षड्यन्त्र गरेर निर्वाचित हुनुभयो भन्ने विपक्षीको आरोप पनि छ, यसलाई कसरी लिनुहुन्छ ?
हैन, पारिवारिक जोडबल भन्ने कुरालाई म स्वीकार्न तयार छैन् । प्रचण्डको छोरी भएर मात्र टपक्क टिपेर एउटा उम्मेदवार खडा गर्न उभ्याइएको थियो भने त्यस खालका आरोप प्रत्यारोप लगाउन ठीक थियो । तर मेरो विगतदेखि वर्तमानसम्म नजिकबाट बुझ्नेलाई थाहा छ । लामो समयदेखि म यो परिवर्तनको आन्दोलनमा निरन्तर लागिरहेकी छु । पहिलो संविधान सभाको निर्वाचनपछि संविधान सभा सदस्य थिएँ । दोस्रो संविधान सभाको निर्वाचनमा काठमाडौँ १ बाट म चुनावी प्रतिस्पर्धामा होमिएको थिएँ । विभिन्न खालका राजनीतिक आन्दोलन र पार्टीको मुख्य मुख्य जिम्मेवारी एउटा कार्यकारी पद र जिम्मेवारी लिँदै अगाडि बढेको छु । त्यो ढङ्गले एउटा कार्यकर्ताको हैसियतले म यहाँ आएको छु नि त । म कार्यकर्ताको हैसियतले यहाँ आँउदै गर्दाखेरी, माननीयको हैसियतको मान्छे अहिले मेयर बन्दाखेरीलाई यति धेरै टीकाटिप्पणी गर्न आवश्यक छैन । पदको दुरुपयोग गर्यो, प्रचण्डपुत्री भनेर जसरी अपव्याख्या गरिएको छ, कुनै पनि मानेमा यो सही छ जस्तो मलाई लाग्दैन । 

हो म प्रचण्डपुत्री त हुँ, यसमा मलाई गर्व छ । थप जिम्मेवारीबोध पनि मलाई हुन्छ तर त्यति मात्रै कारण भएर समग्र हिजोदेखि आजसम्मका मेरा भूमिकाहरुलाई कमजोर बनाउने, मिनिमाइज गर्ने ट्रेन्ड देखिन्छ नि, त्यो चाहिँ कुनै पनि अर्थमा मलाई सही लाग्दैन् । एउटा कार्यकर्ताको हैसियतले मैले पनि त्यो भूमिका पाउनुपर्यो । देशमा सबैतिर नेताका छोराछोरी मात्र त छैनन् होला नि । पार्टीमा हिजोदेखि मिहिनेत गरेका कार्यकताले त्यो खालको भूमिका जिम्मेवारी पाउने, म पनि कार्यकर्ताकै हैसियतबाट यो ठाउँमा यो भूमिकामा आउन नपाउने के छ ? त्यस्तो कारण त केही पनि छैन । 

चुनावी प्रक्रियाको विषयमा पनि निकै विवाद छ, यसबारेमा के भन्नुहुन्छ ? 

यो चुनावी प्रक्रियाको बारेमा पनि यति धेरै विवाद गर्नुपर्ने त्यति जरुरी म ठान्दिनँ । तपाईं हेर्नुहुन्छ, जतिबेला म पार्टीको उम्मेदवार बनेँ, पार्टीले जुन निर्णय गर्यो, अब यहाँचाहिँ निर्णय गर्ने बेलादेखिकै स्थितिलाई हेर्दाखेरी नै एक खालको मिडियाबाजी, एक खालको प्रोपोगान्डा मच्चाइयो, सकारात्मक नकारात्मक दुवै खालको कोणबाट । एउटै मात्र भन्दिनँ, नेगेटिभ मात्र छैन, पोजेटिभ पनि छ । नेगेटिभ पोजेटिभ दुवै खालका क्रिया प्रतिक्रियाहरु, त्यो खालको टीकाटिप्पणी व्यापक रुपमा भयो र त्यसमा पनि प्रचण्डपुत्रीका रुपमा अझ बढी । अरु बाँकी विषय त त्यस्तो केही पनि हैन । प्रचण्डपुत्रीका रुपमा अझ बढी टीकाटिप्पणी भयो । त्यो सँगसँगै पछि गठबन्धनका बारेमा । नेपाली काङ्ग्रेससँग पार्टीले गठबन्धन गर्ने निर्णय गर्यो, तालमेलका कुराहरु भइसकेपछि यहाँ चाहिँ ब्यापक खालको गलत मिडियाबाजी भयो । मेरो प्रतिस्पर्धी दलको तर्फबाट अझ बढी आक्रमण भयो । उहाँहरुले दुई पार्टी गठबन्धन बनेपछि आफूहरु पराजित हुने देखेर पराजित मानसिकता वा के भनौँ, जरुरी थिएन त्यसो गर्नलाई । एउटा लोकतान्त्रिक प्रक्रियामा हामी सबैले जनताको मतको कदर गर्नुपर्छ र त्यो ढङ्गले अगाडि बढ्नुपर्छ  भन्ने मलाई लाग्छ । त्यो बेलामा पनि व्यापक प्रोपोगान्डा भयो र अहिले पनि भइरहेको छ । चुनावी प्रक्रियाको दौरानमा हो त्यतिबेला जसलाई म दुर्घटना भन्छु म । (मतपत्र च्यातिनु) त्यो दुर्घटना हो । दुर्घटना भयो । दुर्घटना भन्ने कुरा कुनै सोचे सम्झेर पनि हुने होइन । त्यो परिस्थिति आउनु दुःखद छ । यसलाई म सुखद भन्दिनँ, यो दुखद् हो । त्यो दुर्घट नै हो, त्यो परिस्थिति आइसकेपछि त्यसबाट पार त लगाउनुपर्यो । अगाडि त बढ्नुपर्यो, त्यसलाई रोकेर राखेर पनि भएन । परिस्थितिलाई पार लगाउने सन्दर्भमा प्रचलित नियम र कानुनको अधीनमा रहेर हुनुपर्यो हरेक चीजहरु ।  

अहिले जे भएको छ, त्यो एकदमै व्यावहारिक र वस्तुवादी ढङ्गले भएको छ र यो परिणामलाई सबैले स्वीकार्नुपर्छ । यो मतलाई सबैले कदर गर्नुपर्छ । म उहाँहरुलाई पनि के आग्रह गर्न चाहन्छु भने मेरा प्रतिष्पर्धी साथीहरु खासगरी नेकपा एमालेका देवी ज्ञवालीजीलाई पनि, यो जनताको अभिमतलाई तपाईं कदर गर्नुस् । हुन त तपाईंलाई पनि जनताले जितको नजिक नजिक, थोरै मतको अन्तरले जित र हार भएको छ । तपाईं पनि सँगसँगै हुनुहुन्छ । तपाईंका पनि हरेक भावनाको म प्रतिनिधित्व गर्नेछु । तपार्इंका आवश्यक सरसल्लाहलाई पनि लिएर म अगाडि बढ्नेछु । म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु । हिजोको दिन शपथ ग्रहण समारोहमा उहाँहरु उपस्थित नभएको चाहिँ राम्रो भएन, शोभनीय भएजस्तो मलाई लाग्दैन । 

तपाईं गठबन्धनको सहयोगमा महानगरको कार्यकारी भूमिकामा हुनुहुन्छ, यो क्षेत्रमा तपाईहरुको दलको पनि त्यति राम्रो पोजिसन छैन, तेस्रो स्थानमा रहेको छ । एमालेले तपाईंलाई असहयोग गर्ने सङ्केत गरिसकेको छ ? भोलि काङ्ग्रेससँग पनि मतभिन्नता होला । गठबन्धनलाई सधैँ सुमधुर सम्बन्ध राख्ने तपाईंका सूत्र के छन् ?
मुख्य कुरा मुलुक परिवर्तनको यो आन्दोलनमा हामीसँग थुप्रै अनुभवहरु छन् । हामीसँग व्यक्तिगत स्वार्थ भन्ने कुरा हुँदैन । मुलुकको सर्वोपरि हितलाई केन्द्रमा राखेर काम गर्ने हो । भरतपुर महानगरपालिकालाई विकास र समृद्धिको दिशातर्फ अगाडि बढाएर लैजाने हो । त्यो क्रममा उहाँहरुका सकारात्मक सुझावलाई आत्मसाथ गरेर लैजाने हो । यो ढङ्गबाट अगाडि बढ्दा उहाँहरुबाट सहयोग पाउँछु भन्ने मलाई विश्वास छ । अरु कुनै उद्देश्य नराखी सकारात्मक उद्देश्य राखेर अगाडि बढ्दा मैले सहयोग पाउँछु भन्ने मलाई दृढ विश्वास छ । गठबन्धन पार्टीबाट पनि सहयोग पुग्छ र प्रतिस्पर्धी दलका साथीबाट पनि मलाई सहयोग हुन्छ । म साझा र सही उद्देश्यका साथ अघि बढ्छु । 

महानगरपालिकाको मेयर भइसकेपछि म माओवादी केन्द्रको, नेपाली काङ्ग्रेसको मात्रै प्रतिनिधि हैन नि । म एमालेको पनि प्रतिनिधि हुँ, उहाँहरुक सबैको, सबै जनताका भावनाको प्रतिनिधित्व गर्दै काम गर्छु । म यो उद्देश्यका साथ अघि बढ्छु भनेपछि मलाई सहयोग नहुने भन्ने कुरै छैन नि । सबैबाट सहयोग हुन्छ भन्ने मैले महसुस गरेको छु, म त्यो ढङ्गबाट काम गर्छु । 

तपार्इंले अरुको सहयोग लिएर अगाडि बढ्ने बताइरहुनुभएको छ । यसो हुँदा तपाईंले ल्याउने योजनाहरुमाथि अरुको दाबाब र प्रभाव हावी हुने खतरा देखियो नि ? 
किन अरुको हस्तक्षेप, प्रभाव हुनुपर्यो र ? अरुबाट म गाइडेड हुन जरुरत छैन । मेरो आफ्नै भिजन छ, आफ्नै काम गर्ने तौरतरिका छ । जे गर्न उचित छ, त्यस्ता कार्यक्रम अघि बढाउन म तयार छु । र त्यो ढङ्गबाट म अगाडि बढ्छु, यसकारण कसैबाट म निर्देशित हुन जरुरत छैन । अरुको प्रभावमा पर्नु जरुरत पनि छैन, यदी सही छन र जायज छन भने पर्नु पनि पर्यो । नाजायज कुरा छन् भने त्यसलाई स्वीकार गर्ने भन्ने कुरा हुँदैन । जायज कुरा छन् भने त्यसलाई सुन्नु पनि पर्यो, बुझ्नु पनि पर्यो । फेरि आफ्नो पनि भिजन हुन्छ । त्यसलाई पनि अगाडि बढाउनुपर्छ भन्ने लाग्छ मलाई । 

तपाईंले बुझ्नुभएको भरतपुर महानगरपालिका के हो ?  
भरतपुर महानगरपालिका भनेको देशकै सुन्दर, सम्भावनायुक्त, विकासका हिसाबले प्रचुर सम्भावना बोकेको महानगरपालिका हो । देशकै केन्द्र भागमा यो महानगरपालिका छ र भौगोलिक हिसाबले पनि उपयुक्त स्थानमा छ  । पूर्व पश्चिम जोड्ने केन्द्रका रुपमा पनि छ । म के ठान्छु भने देशको राजधानी काठमाडौँ देशको केन्द्र छ । त्यसपछिको अहिले नै देशको दोस्रो केन्द्र बन्न सक्छ  भन्नेमा मलाई पूरै विश्वास छ । त्यो हिसाबले मैले विकास निमार्णका लागि केन्द्रीय स्रोत पनि परचालन गर्ने, स्थानीय स्रोत र साधनलाई सही हिसाबले प्रयोग गरेर अगाडि बढ्न सकेको खण्डमा यो महानगरपालिका समृद्ध, व्यवस्थित, सुन्दर बन्न सक्छ । एउटा उदाहरणीय महानगरपालिका बन्न सक्छ भन्ने मलाई विश्वास छ । 


अबको पाँच वर्षमा यो महानगरपालिका कस्तो बन्छ ? 
अबको पाँच वर्षमा भरतपुर महानगरपालिका एउटा समृद्ध महानगरपालिका बन्छ । देशको मात्र नभएर दक्षिण एसियाकै एउटा उदाहरणीय महानगरपालिका बन्छ भन्ने मलाई दृढ विश्वास छ । 

प्रतिपक्षी दल नेकपा एमालेलाई कसरी आफ्नो अनुकुलतामा ल्याउनुहुन्छ ? उहाँहरुप्रति तपार्इंको के भनाइ छ ? 
एउटा संसदीय राजनीतिमा चुनावी प्रक्रियामा गइसकेपछि त्यसको परिणाम स्वीकार्नै पर्छ । ढिलो चाँडोसहज ढङ्गले आउनुपर्छ भन्ने मलाई लाग्छ । साझा उद्देश्यका साथ अगाडि बढ्नलाई उहाँहरुले सहयोग गर्नुपर्छ । उहाँहरुको भूमिका पनि एकदमै सक्रियापूर्वक र जिम्मेवारीपूर्ण हुनुपर्छ भन्ने म ठान्छु । 

देशकै महानगरपालिकाहरु मध्ये कार्यकारीमा पुग्ने महिलामा तपाईं एकजना मत्र हुनुहुन्छ । महिला प्रमुख भएपछि त्यसक्षेत्रका महिलाका अपेक्षा पनि बढी नै हुने भए । के छन् भरतपुरका महिलाहरुको अपेक्षा ? 
भरतपुर महानगरपालिकामा  एकजना महिला म मेयरको उम्मेदवार हुँदैखेरि यहाँका महिला दिदीबहिनीमा खुसीयाली छाएको थियो । देशका छ महानगरपालिका मध्ये एकमा महिला निर्वाचित भएको अवस्था हो । वीरगञ्जमा चुनाव हुनै बाँकी छ भए पनि बाँकी पाँचवटामा त मत परिणाम नै आइसक्यो । एउटा महानगरपालिकामा महिला मेयर बन्दै गर्दाखेरी आम महिलाजगतमा पनि खुसीयाली छाएको थियो । उहाँहरु भन्नुहुन्थो, यो एकजना रेणु दाहालको मात्र प्रतिष्ठाको विषय हैन, यो सिङ्गो महिलाहरुको प्रतिष्ठाको विषय हो । महिलालाई जिताउनुपर्छ भन्ने एउटा लहर पनि चलेको थियो । मलाई थप उत्साहित पनि बनाएको थियो । म एकजना महिला भएको नाताले पनि महिलाहरुको समस्या बुझेको छु । जिम्मेवारीपूर्वक उहाँहरुका समस्या हल गर्नुपर्छ भन्ने मैले अनुभूति गरेको छु । हिजो पनि महिला आन्दोलनको नेतृत्व गरेकी थिएँ र आज पनि महिला सङ्गठनमा रहेकी हुँदा यसबारे थुप्रै अनुभूतिहरु छन् । महिलाहरुलाई आत्मनिर्भर बनाएर लैजाने खालका कार्यक्रमका योजना मैले सोचिरहेको छु । महिलाहरुको समग्र विकासका लागि कार्यक्रम लिएर आउनेछौँ, त्यो ढङ्गले छलफल अगाडि बढाउनेछौँ । 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप