शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेटेर फर्किए ‘रअ’ का प्रमुख

मङ्गलबार, ०७ साउन २०७६, २२ : १२
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं– भारतीय जासुसी निकाय रिसर्च एण्ड एनलाइसिस विङ ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल भ्रमण पूरा गरेर सोमबार स्वदेश फर्किसकेका छन् । 

भ्रमणका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न नेताका साथै सुरक्षा निकायका प्रमुखसमेतलाई भेटेको बताइएको छ । 

यद्यपि भेटलाई सम्बन्धित दलका नेता र सुरक्षा निकायले गोप्य राखेका छन् । 

शनिवार विहान नेपाल आएका रअ प्रमुख गोयलले ‘सम्बन्ध विस्तार’ उद्देश्यसहित भेटघाट गरेको स्रोतको भनाई छ 

बालुवाटारमा ओलीसँग भेट !
गोयलले शनिवार राती ९ः३० वजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेको स्रोतको दाबी छ ।  

राती १ वजेसम्म भएको भेटघाटमा चीन, पाकिस्तान र सार्कको विषयमा छलफल भएको थियो ।  पछिल्लो समय नेपालको मामलामा भारत कमजोर हुँदै गएको महसुस गर्दै भारत सरकारले यतातिर विशेष ध्यान दिएको छ । त्यसैले भारतीय सरकारले नियुक्त गर्ने वित्तिकै गोयललाई पहिला नेपाल पठाएको हो । 

उनी असार २६ गते रअको प्रमुखमा नियुक्त भएका थिए । नियुक्त भएपछि उनको पहिलो भ्रमण नेपाल नै हो । नेपालमा भारतप्रतिको माहोला किन बिग्रेको छ, भारत विरोधी गतिविधि किन हुन्छ भनि जान्ने उद्देश्यका साथ उनी नेपाल भ्रमणमा आएको बताइन्छ । 

नेपालमा चीनको लगानी र भारतको सीमासम्म उसको पहुँच कसरी भयो, यसमा नेपाल किन संवदेनशिल नरहेको भन्नेजस्ता विषयमा गोयलले प्रधामन्त्री अ‍ोलीसँग जिज्ञासा राखेका थिए । गोयलको टीमले सार्कको विषयलाई पनि प्रधानमन्त्रीसँग गम्भीर रुपमा उठाएको थियो । 

भारतबाट पाकिस्तानको बालकोटमा भएको आक्रमणपछि नेपालले जारी गरेको विज्ञप्तिप्रति पनि गोयलले चासो राखेका थिए । 

भेटका क्रममा प्रधानमन्त्री ओलीले दुई देशबीचको सम्बन्धलाई उचाइमा पुर्याउन सरकार र नेकपाले चाहेको धारणा राखेका थिए ।   

प्रधानमन्त्रीको सचिवालयले भने गोयलसँगको भेटको खण्डन गरेको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार कुन्दन अर्यालले रअका प्रमुख गोयलसँग ओलीले कुनै भेटघाट नभएको दाबी गरे । 

नेपाल आएको बेलामा गोयलले (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’  र काँग्रेस सभापति शेरबहादुर देउवालाई समेत भेटेको स्रोतको दाबी छ ।  प्रचण्डलाई भेट्न उनी खुमलटार नै पुगेको बताइन्छ । 

विप्लवको चर्चा
प्रधानमन्त्री ओलीसँगको भेटका क्रममा गोयलले नेत्र विक्रम चन्द विप्लव समूहको गतिविधि बढेको प्रतिपनि चिन्ता व्यक्त गरेका थिए । नेपालमा विप्लव समूहको गतिविधि बढे भारतमा पनि  त्यसको प्रभाव पर्ने भएकाले त्यसलाई नियन्त्रण गर्न उनले सुझाव दिएको बताइन्छ । 

सो क्रममा ओलीले विप्लव समूहमाथि प्रतिबन्ध लगाएर सरकार कारवाही प्रकृयामा गइसकेका बताएका थिए ।  

महाराजगञ्चमा को–को भेट्न पुगे ?
गोयलले प्रधानमन्त्री ओली र प्रचण्डबाहेक अरु सबैलाई महाराजगञ्जस्थित एकजनाको नीजि घरमा भेटघाट गरेको स्रोतको दावी छ । 

सो घरमा काँग्रेसका सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, नेकपाका सचिवालय सदस्यद्वय माधवकुमार नेपाल, वामदेव गौतम, प्रहरी प्रमुख र नेपाली सेनाका प्रमुख लगायतका व्यक्तिसँग गोयलले छलफल गरेका थिए । 

गोयलसँग को–को थिए ?
नेपाल भ्रमणका क्रममा गोयलका साथमा बृज भुषणसिंह तोमर र अरुण जैन पनि थिए । तोमर रअका ज्वाइन्ट सेक्रेटरीका साथै चीन साउथ एसिया डेस्कको प्रमुख पनि हुन् । जहाँ यसअघि (३० जुनसम्म) विवेक जोहरी थिए ।

नेपालस्थित भारतीय दुतावासमा कन्सुलर भएर काम गरिसकेका अरुण जैन पनि साथमा आएका थिए । रअका ज्वाइन्ट सेक्रेटरी जैन नेपाल मामलाका जानकार मानिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप