शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीको सिद्धार्थनगरद्वारा तीन विधामा अक्षयकोष, यस्ता छन् विद्याहरु

मङ्गलबार, ०७ साउन २०७६, १९ : ५८
मङ्गलबार, ०७ साउन २०७६

बुटवल– रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले तीन विधामा नगरस्तरीय अक्षयकोष स्थापना गरेको छ । नगरले खेलकुद विकास, भाषा, संस्कृति र कला, तथा पत्रकारिता अक्षयकोष स्थापना गर्न बटेट विनियोजन गरेको छ । खेलकुदतर्फ १० लाख, भाषा, संस्कृति र कलातर्फ ५ लाख र पत्रकारितातर्फ ७ लाख विनियोजन गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले जानकारी दिए । अक्षयकोष स्थापना गर्न नगरले अहिले सम्बन्धित क्षेत्रका विज्ञसँग सहकार्य गरेर कार्यविधि बनाइरहेको सूचना अधिकृत देवप्रसाद ज्ञवालीले जानकारी दिए ।

खेलकुद अक्षयकोषमार्फत् नगरभित्रका पूर्व खेलाडी, वर्तमान खेलाडीहरुलाई भइपरी आउने समस्यामा सहयोग गरिने छ । उनका अनुसार अबको तीन वर्षमै यो अक्षयकोष बृद्धि गरी कम्तिमा ५० लाख गराइने छ ।
यस्तै, नगरपालिकाले भैरहवा क्षेत्रका पत्रकारहरुको संस्था लुम्बिनी प्रेस क्लबसँग सहकार्य गरी पत्रकारिता अक्षयकोष स्थापना गर्न लागेको हो । यो अक्षयकोषबाट नगरपालिकाले वर्सेनि उत्कृष्ट पत्रकारलाई सम्मान गर्ने र बाँकी रकमबाट पत्रकारहरुलाई भैपरी आउने समस्या सहयोग गरिनेछ । भाषा, संस्कृति र कला अक्षयकोष सिद्धार्थ साहित्य परिषद्सँगको सहकार्यमा स्थापना गर्न लागिएको हो । यो कोषबाट पनि भाषा, संस्कृति तथा कला साहित्यको क्षेत्रमा योगदान गर्नेलाई सम्मान गरिनेछ । नगरपालिकाले कार्यविधि बनेपछि छुट्टै बैंक खाता खालेर अक्षयकोषको रकम जम्मा गर्ने छ र उक्त रकमको ब्याजबाट सहयोग उपलब्ध गराइने छ ।

अक्षयकोष बाहेक नगरपालिकाले आव २०७६÷०७७ मा खेलकुद क्षेत्रमा ३३ लाख बजेट विनियोजन गरेको छ । फुटबल खेलका लागि २० लाख, विभिन्न खेलकुद संचालनका लागि माछापुच्छ«े क्लबलाई १ लाख, भैरव क्लबलाई ५० हजार छुट्याएको छ । यस्तै, महिला उपमेयर कप सञ्चालन गर्न ५ लाख, व्याडमिन्टन खेलका लागि १ लाख ५० हजार र अन्य विविध खेलकुद शीर्षकमा ५ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख उमा काफ्लेले जानकारी दिइन् ।

यस्तै, भाषा, संस्कृति तथा कला साहित्यको संरक्षण र प्रबद्र्धन गर्न ६ लाख रुपैयाँ छुट्याएको छ । यो बजेट नगरभित्र रहेको संस्कृति, भाषाभाषी, साहित्य, कलालाई प्रबद्र्धन गर्न विभिन्न कार्यक्रम बनाई खर्च गरिनेछ । ‘संस्कृति भएन भने संस्कार रहँदैन, यसले नगरको इतिहास संरक्षण गर्न मद्दत गर्छ’, उपप्रमुख काफ्लेले भनिन् ।

नगरपालिकाले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न लुम्बिनी प्रेस क्लबलाई विगत तीन वर्षदेखि प्रत्येक वर्ष २ लाखका दरले बजेट छुट्याउँदै आएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा नगरपालिकाले स्थापना गरेको ५ हजार राशीको सिद्धार्थ श्रमजीवी पत्रकारिता पुरस्कारलाई निरन्तर गर्ने समेत जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप