बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मैदानमा खेल्दा खेल्दै किन मृत्यु हुन्छ ‘अश्वेत’ खेलाडीको ?

शनिबार, ०३ असार २०७४, १० : ५२
शनिबार, ०३ असार २०७४

जोर्डन डनबर/ बीबीसी

केही समय अघि अफ्रिकी देश कोटे डे आइभरीका फुटबलर शेक टिओटेको प्रशिक्षणको क्रममा मैदानमा नै मृत्यु भयो । उक्त दुर्घटना चीनमा भयो ।

खेलको दुनियाँमा उक्त घटनाले सबैलाई स्तब्ध तुल्यायो । उक्त दुर्घटनाले एक ठूलो प्रश्न खडा गरिदिएको छ ।

प्रश्न यो छ कि के अन्य खेलाडीका तुलनामा अफ्रिकी खेलाडीको मैदानमा मृत्यु हुने आशंका बढि हुन्छ ?

बीबीसीको जोर्डन डनबारले यो प्रश्नको जवाफ खोज्ने कोसिस गरे ।

बीबीसी रेडियोमा उनले आफ्नो कार्यक्रम ‘मोर अर लेस’ मा सहयोगी शार्लोट म्याकडोनाल्डसँग मिलेर केही आँकडा र अन्य केही जानकारसँग यसबारे कुराकानी गरे ।

पछिल्ला केही वर्षमा केही खेलाडीको फुटबल खेल्ने बेला मैदानमा मृत्यु भएका केही घटना सार्वजनिक भइरहेका छन् ।

फुटबल खेल्ने बेला मृत्युः

यीमध्ये धेरैजसो चर्चित घटनामा अफ्रिकी खेलाडीको नाम संलग्न छ । उदाहरणका लागि क्यामरुनका मार्क विवियन फो, जसको खेल्दा खेल्दै मृत्यु भएको थियो ।

यस्तै कंगोका फेब्रिस मुआम्बा, उनको पनि मैदानमा नै हृदयघात भएको थियो तर उनको ज्यान भने बचेको छ ।

यद्यपी, अहिलेसम्म कतिजनाको खेल्दा खेल्दै मृत्यु भयो भन्ने कुराको कुनै आधिकारिक आँकडा भने छैन ।

त्यसकारण जोर्डन डनबार र शार्लोट म्याकडोनल्डले यसबारे विकिपेडियाबाट आँकडा निकालेका छन् ।

यी आँकडामा ती मानिसहरुको नाम देखियो जसको खेलको क्रममा वा तालिमको क्रममा मृत्यु भएको थियो ।

१० वर्षमा ६४ को मृत्युः

ग्लोबल स्पोर्टस स्ट्याटिस्टिक्सका रोबर्ट म्यास्ट्रोडोमेनिकोले यो आँकडाको मद्दत लिएर केही कुरा बताएका छन् ।

उनका अनुसार पछिल्लो १० वर्षमा करिब ६४ फुटबल खेलाडीको मैदानमा मृत्यु भएको छ । यद्यपी, यी खेलाडी कुन देशका थिए, त्यो पत्ता लगाउन भने मुश्किल थियो ।

अर्थात्, जुन आँकडा उपलब्ध छन् त्यसको आधारमा प्रश्नको ठोस् जवाफ हाँसिल गर्न मुश्किल नै छ । तर यसमार्फत केही महत्वपूर्ण कुराहरु भने सार्वजनिक भएका छन् ।

पछिल्लो १० वर्षमा जुन ६४ खेलाडीको मैदानमा मृत्यु भयो तीमध्ये २६ खेलाडी अफ्रिकी देशका थिए ।

अर्थात्, मैदानमा ज्यान गुमाउने कूल खेलाडीमध्ये ४० प्रतिशत अफ्रिकी देशका थिए ।

हुन त धेरैजसो अफ्रिकी देशका खेलाडी यूरोप, अमेरिका वा ल्याटिन अमेरिकी देशको क्लबमा फुटबल खेल्छन् । यस्तोमा यी आँकडा निकै सहयोगी देखिएन ।

हृदयघातका कारण मृत्यु हुने आशंकाः

तर यसका केही संकेत भने भेटिन्छन् । फिफाका अनुसार संसारभरी करिब २६ करोड पचास लाख मानिस टीममा फुटबल खेल्छन् । यीमध्ये १७ प्रतिशत अफ्रिकी छन् ।

अर्थात्, संसारभरी फुटबल खेल्ने मानिसहरुमा अफ्रिकी खेलाडी १७ प्रतिशत छन् भने मैदानमा मृत्यु हुने खेलाडीमा ४० प्रतिशत अफ्रिकी थिए ।

धेरैजसो खेलाडीको मृत्यु हृदयघातका कारण भयो । पछिल्लो १० वर्षमा जुन २६ अफ्रिकी खेलाडीको मृत्यु भयो तीमध्ये २५ को मृत्यु हृदयघातका कारण भयो ।

त्यसो भए के अफ्रिकी खेलाडीलाई हृदयघातको आशंका धेरै हुन्छ ? बीबीसीले यसबारे बेलायतमा हृदयघातका स्पेशलिष्ट संजय शर्मासँग कुरा गरे ।

उनका अनुसार अमेरिकामा बास्केटबलका खेलाडीलाई अचानक हृदयघात हुने धेरैजसो घटना अफ्रिकी मूलका खेलाडीलाई भयो ।

संजय शर्माका अनुसार श्वेत खेलाडीलाई अश्वेत खेलाडीको तुलनामा खेलको क्रममा हृदयघातको सम्भावना कम हुन्छ र बास्केटबलमा मात्र यस्तो हुँदैन ।

खेलाडीमाथि अनुसन्धानः

अमेरिकाको नेशनल कलेजिएट एथलेटिक एसोसिएशनको आँकडा अनुसार मैदानमा हृदयघात हुने खतरा ४८ हजारमध्ये एक खेलाडीलाई हुने गर्दछ ।

तर जब अफ्रिकी मूलका खेलाडीसँग भएको घटनालाई केलाउने हो भने १८ हजारमध्ये एक खेलाडीसँग यस्तो हुने खतरा छ ।

प्राध्यापक संजय शर्माका अनुसार ब्रिटेनमा फुटबल एसोसिएशनले युवा खेलाडीमाथि यसबारे अनुसन्धान गरेको छ ।

अनुसन्धानका अनुसार श्वेत खेलाडीमा २५ हजारमध्ये एकलाई मैदानमा हृदयघातको डर हुन्छ ।

यस्तै अश्वेत खेलाडीमा हरेक ४ हजार खेलाडीमध्ये कुनै एकलाई मैदानमा हृदयघातको डर हुन्छ ।

अर्थात् श्वेत खेलाडीको तुलनामा अश्वेत खेलाडीलाई मैदानमा हृदयघात हुने आशंका ६ गुणा बढि हुन्छ ।

रक्तचाप बढ्नुः

प्राफेसर संजय शर्माको भनाई अनुसार अफ्रिकी खेलाडीको मैदानमा किन धेरै मृत्यु हुन्छ भन्ने कारण स्पष्ट छैन ।

उनका अनुसार अफ्रिकी खेलाडीको हृदयको बायाँ तर्फको भाग अलि मोटो हुन्छ जसका कारण उनीहरुलाई धेरै हृदयघात हुन्छ ।

प्राध्यापक संजय शर्माका अनुसार अभ्यास वा खेलका क्रममा रक्तचाप बढ्ने गर्दछ जसका कारण हृदयघात पनि हुने डर हुन्छ ।

प्राध्यापक शर्माको धेरैजसो अनुसन्धान अमेरिका र बेलायतमा खेल्ने अश्वेत खेलाडीमाथि भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप