शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बादल–विप्लवबीच आरोप–प्रत्यारोप, वार्ता थप संकटमा !

मङ्गलबार, ०७ साउन २०७६, १३ : ३८
मङ्गलबार, ०७ साउन २०७६

काठमाडौं–कुनैबेलाका सहकर्मी रामबहादुर थापा (बादल) र नेत्रविक्रम चन्द (विप्लव) अहिले एक नदीका दुई किनारा बनेका छन् । एकअर्काप्रति आक्रामक रुपमा प्रस्तुत हुँदै आएका बादल र विप्लवले एकअर्कालाई ‘वार्ताको वातावरण विगारेको’ आरोप समेत लगाएका छन् । 

मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री बादलले विप्लव समूहसँग वार्ता गरेर समस्या समाधान गर्न सरकार तयार रहेपनि विप्लव समूहले वार्ता नचाहेको आरोप लगाए । 

राजनीतिक स्थायित्व नभएसम्म मुलुकमा पूर्ण शान्ति सम्भव नभएको भन्दै गृहमन्त्री थापाले राष्ट्रिय शान्तिको बाधक नै अहिले विप्लव समूह भएको दावी गरे । 

थापाले विप्लव समूह चुनौतिका रुपमा रहेको भन्दै यो समस्यालाई राजनीतिक तवरबाट समाधान गर्नुपर्ने पक्षमा आफू रहेको बताए । 

‘वार्ताद्वारा समस्या समाधान गर्ने पक्षमा हामी छौँ, तर उनीहरु वार्ताबाट समस्या समाधान गर्ने पक्षमा छैनन्’ मन्त्री थापाको भनाइ छ । उनले विप्लव समूहका गतिविधि नियन्त्रण गर्ने सरकारको दायित्व नै भएको पनि बताए ।

 ‘यसक्रममा विप्लव समूहका ६ सय भन्दा बढी नेता कार्यकर्ता नियन्त्रणमा लिइएको पनि मन्त्री थापाले जानकारी दिए । उनले सरकारले वार्ताको लागि बोलाएपनि उनीहरुले वार्ताका लागि औपचारिक प्रस्ताव नपठाएको भन्दै पछिल्लो समय वार्ताको सम्भावना बढेको बताए ।  

बादलले यस्तो बताइरहँदा विप्लवले भने सरकार वार्ताको पक्षमा नदेखिएको आरोप लगाएका छन् । सरकारले देशलाई जबरजस्त युद्धमा धकेल्न खोजेको समेत उनको आरोप छ ।

वार्ताको प्रचार गरेर सरकार आफ्ना नेता कार्यकर्तालाई गिरफ्तार, हत्या र झूटा मुद्दा लगाएर धरपकडमा उत्रिएको भन्दै विप्लवले सरकार शान्ति, समृद्धि र विकासको पक्षमा नरहेको दाबी गरेका हुन् । 

‘एकातिर वार्ताको कुप्रचार गर्ने, अर्कातिर नेता, कार्यकर्तालाई गिरफ्तार, हत्या, गोली हान्नुका साथै झूठो मुद्दा लगाएर जेल चलान गर्नुले यो सरकार देशमा वास्तविक शान्ति, समृद्धि र विकासको पक्षमा नरहेर जबरजस्त युद्धमा धकेली जनतामाथि शोषण गर्नु, दमन थोपर्नुका साथै देशमा विदेशी शक्तिको चलखेललाई बढावा दिन लागेको स्पष्टै बुझ्न सकिन्छ’, विप्लवको विज्ञप्तिमा उल्लेख छ । 

उनले पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा नगरे पार्टीले योजनावद्ध प्रतिरोध गर्ने चेतावनी समेत दिएका छन् ।  

सरकार र विप्लव समूहबीच विभिन्न तहमा अनौपचारिक वार्ता भइरहेको बताइँदै आएको बेला प्रहरीले विप्लव समूहका उपत्यका ब्यूरो इन्चार्ज माइला लामालाई आइतबार राती पक्राउ गरेको थियो ।

 यही बीचमा कैलालीमा विप्लव समूहका कार्यकर्ताले बोकेको बम विस्फोट हुँदा एक जनाको मृत्यु भयो । 

वार्ताका लागि अनौपचारिक सूत्र प्रयोग भइरहँदा कैलालीमा विस्फोट र उपत्यका इन्चार्ज लामा पक्राउ प्रकरणले सरकार र विप्लव समूहबीच विश्वासको संकट पैदा हुनुका साथै वार्ता संकटमा परेको बुझिएको छ । 

सरकारले वार्ताका लागि विप्लव समूहले हिंसात्मक तयारी छोड्नुपर्ने बताउँदै आएको छ भने चन्द समूहले पक्राउ परेका कार्यकर्ता छोड्नुपर्ने सर्त अघि सार्दै आएको छ । 

 माइला लामा पक्राउ अघिसम्म विप्लव समूहले विप्लव समूह र सत्तारुढ नेकपा नेताबीच अनौपचारिक वार्तासमेत अघि बढिसकेको थियो । 

यता असन्तुष्ट रहेका समूहसँग वार्ता गर्न गठित उच्चस्तरीय राजनीतिक वार्ता टोलीका संयोजक समेत रहिसकेका नेकपा नेता सोमप्रसाद पाण्डले विप्लव समूहको समस्या समाधान गरिनुपर्नेमा जोड दिए । 

‘उहाँहरुका माग धेरै राजनीतिक नै छन् । त्यो राजनीतिक पार्टी नै हो । यसमा हामी धेरै टाढा पनि छैनौँ’ रातोपाटीसँगको अन्तर्वार्ताका क्रममा उनले भनेका छन्, ‘उहाँहरुका माग र सरकारले लिएको लक्ष्य धेरै टाढा छैन । हामी मुलुक समृद्धिको सङ्कल्पका साथ अघि बढेका छौँ । उहाँहरु पनि मुलुकको समृद्धिका निम्ति आफ्ना कार्यक्रम ल्याउनुभएको छ । हामीले संविधानमै समाजवाद उन्मुख लेखेर त्यो लक्ष्यका साथ हिँडेका छौँ । विप्लव समूहले पनि वैज्ञानिक समाजवाद भनेको छ । हामी पनि मुलुकमा दलाल नोकरशाहहरुको हिजोदेखिको वर्चस्व हटाउन लागि परेका छौँ । सर्वहारा श्रमजीवी वर्गको हातमा  शासनसत्ता पुर्याउने प्रयास गरेका छौँ । विकसित मुलुक बनाउनेजस्ता राजनीतिक मागहरुमा लगभग धेरै नै नजिक रहेको देखिन्छ । मुलुकको समृद्धि र रूपान्तरणका लागि लागेको पार्टी र वर्तमान सरकारको पनि त्यही उद्देश्य भएकाले अलिकति तालमेल मिल्नेवित्तिकै विप्लवसँग कुरा मिल्छ भन्ने मलाई लाग्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप