शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रहरी हिरासतबाटै फरार दुई थुनुवा पक्राउ, एक अझै फरार

मङ्गलबार, ०७ साउन २०७६, ११ : ४९
मङ्गलबार, ०७ साउन २०७६

बाँकेको खजुरा गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय धनौलीको हिरासतबाट फरार दुई थुनुवा पक्राउ परेका छन् । 

एक अझै फरार छन् । खजुरा गाउँपालिका–३ का १९ वर्षीय निर्मल थापा र उज्ज्वल कार्कीलाई सोमबार पक्राउ गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए  ।  

उनका अनुसार, भारत जान बाटो खर्च जुटाइसकेको सूचना पाएलगत्तै उनीहरुको सम्भावित बासस्थानको आसपासमा निगरानी गरिरहेको अवस्थामा घर परिवर्तन गर्दै बसेका उनीहरु भारत भाग्ने तरखर गर्दा प्रहरीले पक्राउ गर्न सफल भएको हो । 

खजुरा गाउँपालिका–४ का १८ वर्षीय सिमन विक अझै फरार छन् । उनी पनि छिट्टै पक्राउ पर्ने प्रहरी उपरीक्षक वलीले बताए । गत असार २८ गते राति करीब १२ बजे उनीहरुले शौचालयको भेन्टिलेटरको ग्रिल तोडेर भागेका थिए । 

उनीहरुमध्ये विक लागुऔषध मुद्दामा असार २७ गते पक्राउ परेका थिए भने थापा र कार्की असार २३ गते सार्वजनिक मुद्दामा पक्राउ परी म्याद थप भएर अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ । 

‘चारमध्ये कर्तव्य ज्यान मुद्दाका आरोपी त्यहीँ छन्”, प्रहरी उपरीक्षक वलीले भन्नुभयो, “घटनालगत्तै म आफैँ त्यहाँ पुगेर हेर्दा भेन्टिलेटरको ग्रिल भित्रपट्टि कपडाले छोपेर राखेको अवस्थामा भेटियो । राम्रोसँग ‘फिक्स’ नभएको शौचालयको ग्रिल तानेर उनीहरु भागेको पाइएको छ ।”

तेइस जनाको दरबन्दी रहेको इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक मख्खनप्रसाद यादव फोक्सोको क्यान्सर भएका कारण थेरापी गराउन छ दिनको बिदा लिएर उपचारका लागि काठमाडौँ गएकै दिन राति उनीहरु फरार भएका हुन् । प्रहरी निरीक्षक यादव बिदामा रहेपछि कार्यालयको जिम्मेवारी प्रहरी नायब निरीक्षक चक्रबहादुर खत्रीले सम्हालेका थिए । 

उनीहरु भागेको जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालयले विभिन्न माध्यमबाट खोजीकार्य तीव्र पारेको प्रहरी उपरीक्षक वलीले जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप