शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

देवेन्द्र पौडेललाई बाबुरामको प्रश्न : छापामार शैली किन अपनाइएको होला ?’

शुक्रबार, २७ साउन २०७४, १० : ४८
शुक्रबार, २७ साउन २०७४

काठमाडौँ – पार्टीका दोस्रो र तेस्रो तहका नेताहरुले सम्बन्ध विच्छेद गर्न थालेपछि नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले अन्य नेता कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका छन् ।

विहिवार साँझ आन्तरिक सर्कुलर मार्फत भट्टराईले हतासको मानसिकता बोकेर नयाँ वैकल्पिक शक्ति बन्न नसक्ने भन्दै कसैले पनि जालझेल नगर्न आग्रह गरेका हुन् । यद्यपी यो सर्कुलर केही नेताले सामाजिक संजाल फेसवुकमा राखेर सार्वजनिक गरेका छन् । त्यसबाहेक पनि बाबुरामले अन्य दुई अपिल केन्द्रीय तहका नेताकाबीच जारी गरेका छन् ।

रातोपाटीलाई प्राप्त डा.भट्टराईको पहिलो अपिलमा भनिएको छ, ‘साथीहरू, धैर्य गर्नुहोला । हतासको मानसिकता बोकेर नयाँ वैकल्पिक शक्ति बन्दैन । यो रातारात बन्ने कुरा पनि हैन । कमीकमजोरीको समीक्षा गर्दै आफैलाई निरन्तर नयाँ बनाएर मात्र नयाँ शक्ति बन्छ ।’

त्यसैगरी भट्टराईले आफ्नो अपिलमा नयाँ विचार, सोच, संगठन र शैलीसहितको वैकल्पिक शक्तिको विकल्प नरहेको बताएका छन् । उनले नयाँ शक्तिप्रतिको निष्ठामा आफुमा एक रौं जत्ति पनि कमी नआएको बताएका छन् ।

यो पनि पढ्नुहोस्

देवेन्द्रको १० बुँदे आरोप : बाबुराम एकाडेमिकको घेराबन्दी परे, पार्टी एनजिओजस्तो भयो

‘पुराना कुरा भट्याएर र कुण्ठा बोकेर उही पुरानै गोलचक्करमा फस्ने मात्र हुन्छ । विभिन्न भित्री र बाहिरी शक्तिकेन्द्रहरू नयाँ शक्ति नबनोस्, पुरानै पत्रु, भ्रष्ट र दलाल पात्रहरूलाई खेलाएर देशलाई यो अल्पविकास, गरीबी र बेरोजÞगारीको  दुष्चक्रमा फसाउँदै आफ्नो प्रभुत्व कायम राख्न सकियोस् भन्ने ध्याउन्नमा थिए र छन् ।’ भट्टराईले भनेका छन्, ‘त्यसैले नयाँ विचार, सोच, संगठन र शैलीसहितको वैकल्पिक शक्तिको विकल्प छँदैछैन । त्यसैले अहिलेको अस्वस्थताको वेलामा पनि मेरो नयाँ शक्तिप्रतिको निष्ठामा एक रौं जत्ति पनि कमी आएको छैन । चुनाव हार्दा र सत्ता अलि पर देख्दा हतासा जाग्नु मानवीय स्वभाव नै हो । कठीन उकालो देख्दा हतासिएर पुरानै थोत्रो घरमै भए पनि फर्केर आराम गर्न पाए हुन्थ्यो भन्ने लाग्नु पनि स्वाभाविकै हो ।’

यसबाहेक डा.भट्टराईले आफ्नो अपिलमा पुराना शक्तिहरूकै थोत्रो विरासत बोकेर षड्यन्त्र र जालझेल नगर्न तथा जे लागेको हो र जे गर्न खोजेको हो खुलस्त भन्न पनि आग्रह गरेका छन् ।

‘त्यसैले साथीहरू, नआत्तिऊँ । नयाँ शक्ति स्वेच्छिक अभियान हो । यसमा कसैलाई कुनै करबल हुँदैन । तर संगठन भनेपछि न्यूनतम अनुशासन र आचारसंहिता चाहिं हुनैपर्छ । पुराना शक्तिहरूकै थोत्रो विरासत बोकेर षड्यन्त्र, जालझेल नगरौं! जे लागेको हो र जे गर्न खोजेको हो खुलस्त भनौं र गरौं ।’ भट्टराईले आफ्नो अपिलमा भनेका छन् ।

देवेन्द्र पौडेलसहितका नेताले बृहत धुव्रीकरणका लागि भन्दै अगाडि सारेको १० बुँदे पत्रमाथि पनि बाबुरामले आन्तरिक रुपमा आफ्नो धारणा राखेका छन् । यो उनको पछिल्लो २४ घण्टामा आएको दोस्रो अपिल हो । तीन बुँदा मार्फत डा.भट्टराईले यसको जवाफ दिएका छन् ।

बिहिबार नयाँ शक्तिमा दुई वटा घटनाक्रम विकसित भएका थिए । त्यसपछि डा.भट्टराईको यस्तो अपिल आएको हो । नयाँ शक्तिका दुई नेता रामचन्द्र झा र रामकुमार शर्माले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग एकताका लागि संवाद गरेका थिए ।

झा र शर्मा करिव–करिव माओवादीमा फर्कने निश्चित जस्तै भएको छ । दुई नम्वर प्रदेशको चुनाव अगाडि नै माओवादीसँग एकता गरेर नयाँ तरिकाले चुनावमा जान तयारी छ । शर्माले साउनभित्रमै पार्टी एकताको काम हुने बताएका छन् ।

त्यसै गरी विहिवार नै देवेन्द्र पौडेलसहितका एक दर्जन नेताले पत्रकार सम्मेलन गरेर बृहत धुव्रीकरणका लागि अपिल गरेका छन् । पौडेलसहितका नेताहरुले नयाँबहस शुरु गराएको र आफुहरुले पार्टी नछाडेको बताएका छन् । यस्तो बहस महाधिवेशनसम्म चल्ने बताएका छन् ।

यी दुई घटनाक्रम विकसित भएपछि डा.भट्टराईले आन्तरिक अपिल गरेर कार्यकर्तालाई धैर्य गर्न आग्रह गरेका हुन् ।

नेता पौडेलले राष्ट्रिय राजनीतिमा भूमिका हुने शक्तिसहितको पार्टीको आवश्यकता भएको भन्दै मधेशी दलदेखि माओवादीसम्म गठबन्धनको प्रस्ताव अगाडि सारेका थिए । पौडेलले यसैका आधारमा मुद्दा मिल्ने शक्तिसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने विकल्प ल्याएका हुन् । उनको यो प्रस्ताव आएलगत्तै पौडेल माओवादीमा फर्कन थालेको भनेर नयाँ शक्तिभित्रै प्रचार भएको थियो ।

देवेन्द्र पौडेलसहितका नेताले बृहत धुव्रीकरणका लागि भन्दै अगाडि सारेको १० बुँदे पत्रमाथि पनि बाबुरामले आन्तरिक रुपमा आफ्नो धारणा राखेका छन् । यो उनको पछिल्लो २४ घण्टामा आएको दोस्रो अपिल हो । तीन बुँदा मार्फत डा.भट्टराईले यसको जवाफ दिएका छन् ।

रातोपाटीलाई प्राप्त उक्त तीन बुँदामा बाबुरामले उठाएको पहिलो प्रश्न छ, ‘साँच्चै सैद्धान्तिक बहस नै थियो भने केही दिन अघि मात्र भएको संघीय परिषद् र केकास बैठकमा किन त्यो १० बुँदे दस्तावेज (वा आरोपपत्र?) पेश नगरिएको होला ?’

र, अन्तिममा राखेका छन्, ‘त्यसैले दालमा कालो भएको स्वतः बुझिन्न र ?’

त्यसबाहेक डा.भट्टराईले दोस्रो बुँदामा भनेका छन्, ‘नयाँ शक्तिले स्टालिनवादी विचार, संगठनात्मक पद्धति अंगीकार गरेन भन्ने यो दस्तावेजको मुख्य आरोप छ । त्यो वमोजिमको जनवादी केन्द्रीयतामा यस्तो वहस पार्टी वैठकरफोरममा चलाइन्छ कि पत्रकार सम्मेलन मार्फत ? आफ्नै भनाइ र गराइमा संगति नहुनुको अर्थ के होला ?’

त्यसबाहेक डा.भट्टराईले आफ्नो तीन बुँदेमा अन्तिम प्रश्न उठाएका छन्, ‘आजै विहान १०–१२ वजेसम्म २ घण्टा संयोजकसंग भेटेरै कुरा हुँदा त्यति महत्वपूर्ण दस्तावेज छलफलको निम्ति पार्टी केन्द्रमा किन नवुझाइएको होला ? ३ घण्टापछि गर्न लागिएको पत्रकार सम्मेलनबारे संयोजकलाई सामान्य छनकसम्म नदिएर छापामार शैली किन अपनाइएको होला ?’
 
र, अन्तिममा राखेका छन्, ‘त्यसैले दालमा कालो भएको स्वतः बुझिन्न र ?’
 
यसबाहेक बाबुरामको अर्को चार बुँदे अपिल पनि जारी भएको छ, जुन पार्टीका केन्द्रीय तहका नेताहरुका मात्र पुगेको छ ।
 
आफ्नो चार बुँदेमा उनले नयाँ शक्ति कसैको लहडमा स्थापना गरिएको अर्को एउटा सनातनी पाटी नभएको र आफ धर्ती भासिए पनि वा आकाश खसे पनि यो अभियानमा लागिरहने बताएका छन् । यसमा कसैमा रौं जति पनि शंका रहे आजदेखि पूर्ण रूपमा डिलेट गरिदिन बाबुरामको आग्रह छ ।
 
दोस्रो बुँदामा उनले माओवादीमाथि हमला गरेका छन्, र यसमा जोडिएका छन् देपेन्द्र पौडेलसहितका नेता । ‘१०–बुँदे आरोपपत्र वहानावाजी मात्र हो । त्यसका अगुवाहरूले माकेमा विलीन हुन सबै तयारी गरिसकेका छन् भन्ने मसंग भरपर्दो जानकारी छ’ बाबुरामले भनेका छन् ।
 
यहीँ बुँदामा उनले प्रचण्डमाथि हमला गरेका छन् । ‘प्रचण्ड त खालि दिल्लीका शासकहरूको डिजाइन अनुसार नेपालका देशभक्त, वामपन्थी, प्रगतिशील धारलाई कमजोर पारेर कांग्रेस र भारतपरस्त राजनीतिक शक्तिलाई बलियो पार्न प्रयोग गरिएका क्षणिक मोहोरा मात्र हुन् । यो म कुनै आवेगमा वा दुराशयवश भनिरहेको छैनस तथ्यका आधारमा भन्दैछु, जुन समयक्रममा पुष्टि हुनेछ ।’
 
डा.भट्टराईले तेस्रो बुँदामा माओवादी पृष्ठभूमिका साथीहरूलाई कुनै पनि प्रकारले आतंकित नहुन आग्रह गरेका छन् युद्धकालीन मुद्दा ब्युँताएर सबैलाई फसाइँदैछ त्यसैले सबै पूर्व माओवादीहरू एक ठाउँमा आउनुपर्छ भन्ने भ्रम प्रचण्ड गुटले जवर्जस्त रूपमा छरिरहेको बाबुरामको भनाई छ ।
 
पछिल्लो पटक केन्द्रीय कार्यकारी समितिको १३औं पूर्ण बैठक (साउन ९–१०) र संघीय परिषदको तेस्रो पूर्ण वैठक (साउन ११–१३) सम्पन्न भएको केही दिनभित्रै नयाँ शक्ति पार्टी नेपालमा संगठनात्मक अन्तरविरोध पैदा भएको छ । यसको असर पार्टीको महाधिवेशन आयोजक समितिको वैठकमा देखिएको थियो ।
 
महाधिवेशन आयोजक समिति सदस्य छनौटमा कामको मूल्याङ्कनलाई ध्यान नदिइएको तथा केन्द्रीय कार्यकारी समिति र संघीय परिषदको तेस्रो पूर्ण वैठकको म्यान्डेड विपरित सहसंयोजक तोकिएको भन्दै नयाँ शक्तिभित्र संगठनात्मक अन्तरविरोध सतहमा आएको थियो । बुधवारको बैठकमा पाँच जना सह–संयोजक चयन भएका थिए । तर, पौडेलले चाहीँ आफु पदको भोको नभएको भन्दै सहसंयोजक पद अस्वीकार गरेका थिए ।
 
डा.बाबुराम भट्टराईले बुधवार मात्र अर्थात साउन २५ गते संगठन विभागको जिम्मा नेता गंगा श्रेष्ठलाई दिएका थिए । महाधिवेशन आयोजक समितिको निर्णय विपरित श्रेष्ठलाई जिम्मा दिइएको भन्दै केही नेताले असन्तुष्टि जनाएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नेत्र पन्थी
नेत्र पन्थी
लेखकबाट थप