केन्द्रीय संस्करण

नेपाली घाउमा भारतीय नुनचुक

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline1
कमल रिजाल

रातोपाटी

भारतीय पक्षले नेपाललाई ‘वाटरबम’ को संज्ञा दिएको प्रसङ्ग भाइरल बनेको छ यतिबेला । उनीहरूले हालै कोसीमा आएको बाढीबारे यसो भनेका हुन् । यो सरासरी झुट मात्र होइन भारतीय पक्षको दादागिरी पनि हो । बाढीका कारण ८० भन्दा बढी नेपालीको ज्यान गएको छ, ४० भन्दा बढी बेपत्ता छन् । सयौँ घर डुबानमा परे, हजारौँले विस्थापित हुनुपर्यो । यी सबै भारतले अन्तर्राष्ट्रिय मान्यताविपरीत सिमानामा आफूखुशी  बनाएको बाँध तथा अन्य संरचनाका कारण भएका हुन् । 

भारतको पनि विहार राज्यका केही क्षेत्रमा बाढीका कारण क्षति भएको छ । बाढीले विहार राज्यको नौ जिल्लाका करिब २६ लाख जनतालाई विस्थापित गरेको दाबी भारतीय पक्षको छ तर यथार्थ के हो भने भारतीय भूभागको समस्या नदीको स्वाभाविक बहावका कारण उत्पन्न भएको हो । यसमा नेपालको कुनै दोष छैन तर नेपालको समस्या भारतीय पक्षले बनाएको बाँधका कारण सिर्जना भएका हुन् । 

वर्षायामा पानी पर्छ । नदीमा बढी आउँछ यो प्राकृतिक नियम हो तर हिउँदमा नदी नै सुकाएर पानी लाने भारतले बाढी आएको बेला व्यारेजका सबै ढोका बन्द गरी साँचो लिएर बस्ने गर्छ । जसले गर्दा नदीको पानी बस्तीमा  पसेर डुबानको समस्या सिर्जना हुने गरेको छ । विगतमा पनि त्यस्तै भएको थियो यस पटक पनि त्यस्तै भएको हो तर भारतीय सञ्चारमाध्यम खासगरी जी न्युज, आजतक, एबीसी न्युज नेपाललाई दोषी देखाउन हात धोएर लागेको पाइयो । 

भारतीय पक्षको दादागिरी यतिमा मात्र सीमित छैन । दक्षिण एसियाकै धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक र राजनीतिक हरेक क्षेत्रमा उसको बढप्पन देखिँदै आएको छ । अल्प सङ्ख्यकमाथि बहुसङ्ख्यकको आडमा दमन गर्ने उसको पुरानै रोग हो । नेपाल र भारत दुवै धर्मनिरपेक्ष राष्ट्र हुन् । नेपाल भरखरै धर्मनिरपेक्ष भएको हो, भारत अङ्ग्रेजको पालादेखि नै यसको अभ्यास गर्दै आएको छ तर व्यवहार भने यी दुई मुलुकबीच आकाश जमिनको फरक छ । 

नेपालले अल्पसङ्ख्या मुस्लिमहरूलाई सरकारी खर्चमा तीर्थाटन गराउँछ । हालै १५६ जना हजयात्रीलाई बिदा गर्न गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र सहरी विकासमन्त्री इस्तियाक राई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका थिए तर भारत भने आफ्ना अल्पसङ्ख्यक मुस्लिम जनतामाथि विभिन्न बाहनामा दमन र उत्पीडन गर्दै आएको छ । यसैको कारण त्यहाँ समय समयमा हिन्दू–मुस्लिम दङ्गा भड्किने गरेको छ । केही वर्षपूर्व वनारसमा त्यस्तै भएको थियो । गुजरातमा पनि त्यस्तै भएको थियो । गुजरातको दङ्गामा हालका प्रधानमन्त्री नरेन्द्र मोदी स्वयं मुछिएका थिए, जतिबेला उनी गुजरातका मुख्यमन्त्री थिए । 

केही दिनअघि भारतको झारखण्ड राज्यमा अन्सारी थरका एक मुस्लिम युवकलाई क्रुुद्ध भीडले कुटपीट गरी जबरजस्ती हिन्दू देवीदेवताको जयजयाकार गर्न लगाए । उनीहरूले भनेअनुसार गरेपछि मात्र अन्सारीले मुक्ति पाएका थिए । यससम्बन्धी अर्को घटना पनि त्यत्तिकै मार्मिक छ । घटना करिब दुई वर्षअघिको हो । केरला राज्यमा एक कट्टर कम्युनिस्ट पिताकी छोरी अखिलाले मुस्लिम युवकसित प्रेमविवाह गरेकी थिइन् तर बाबुले त्यसलाई पचाउन सकेनन् र यथासम्भव छोरी फकाउने प्रायस गरे तर अखिलाले मानिन् । उनका कम्युनिस्ट बाबु उपचार खोज्न अदालत पुगे । आश्चर्य त के भने अदालतले समेत उनकै पक्षमा फैसेला गरी अखिलालाई जबरजस्ती पतिसँग छुटाएर बाबुको जिम्मा लगायो । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कट्टर हिन्दू हुन् । उनको पाटी भारतीय जनता पाटी आफै हिन्दूवादी पार्टी हो । उनले हिन्दुत्वकै नारामा भारतीय लोकसभामा दुई पटकसम्म चुनाव जितेका हुन् । यसमा भारतीय विश्वहिन्दू परिषद् र त्यसमा आबद्ध राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) को विशेष भूमिका छ । मोदी हिन्दुत्वको वकालत गर्छन् । विश्व राजनेताहरूलाई रुद्राक्षका माला र गीता उपहार दिँदै हिँड्छन् । तत्कालीन अमेरिकी राष्ट्रपति ओमालाई त्यस्तै गरेका थिए, जापानी प्रधानमन्त्रीलाई त्यसै गरेका थिए तर उनकै दल तथा प्रशासनिक संयन्त्र हिन्दुमर्यादा विपरीत कार्य गर्दै हिँडिरहेका छन् । 

हिन्दुमर्यादा भनेको कट्टरता होइन, लचिलोपन हो । अन्यथा हिन्दुत्वको दावा फोस्रो आडम्बर हुन्छ । असहयोगी र असहिष्णु हिन्दू हुनै सक्दैन । वसुधैव कुुटुम्बकम् यसको नारा हो । यहाँ कुनै पनि जात, धर्म, वर्ण सम्प्रदाय हेरिन्न । मानिस हेरिन्छ, मानवता खोजिन्छ तर भारतीय प्रशासन तथा स्वयं प्रधानमन्त्री नै यसको विपरीत देखिएका छन् । यसबारे सबै जानकार हुनु आवश्यक छ ताकि उसको असली नियत प्रष्ट होस् । 

मुस्लिम राष्ट्र पाकिस्तान धमाधम हिन्दूमन्दिर खोल्दैछ । धर्तीदेखि आकाशसम्म सबैलाई खुला गरी उदारता प्रस्तुत गर्दैछ । उसले मानवताको आवाज सुनेको मात्र छैन, विश्वजनमतको सम्मानमा समेत ध्यान दिएको छ । उसले हालै अन्तर्राष्ट्रिय अदालत (आईसीजे) को आग्रहमा मृत्युदण्डको सजाय सुनाइएका भारतीय पूर्व नौनिक अधिकारी कुलभूषण जाधवलाई कन्सुलर पहुचको सुविधा दिने निर्णय गरेको समाचार छ । गत शुक्रबार आईसीजेले जाधवविरुद्धको मुद्दामा पुनरावलोकनको आग्रह गरेको थियो । 

आईसीजेको आदेश बाध्यकारी भए पनि निर्णय कार्यान्वयन गराउने अधिकार उसलाई छैन । यसमा पाकिस्तानले चाहेको भए बेवस्ता गर्न सक्थ्यो तर प्रधानमन्त्री इमरान खानले तत्कालै आईसीजे आग्रहलाई स्वागत मात्र गरेनन् पाकिस्तानी विदेशमन्त्रालयले सोसम्बन्धी निर्णय नै सुनायो । 

जासुसीको आरोपमा सन् २०१६ मा पाकिस्तानको बलुचिस्तान प्रान्तबाट समातिएका जाधवलाई सन् २०१७ मा पाकिस्तानी सैनिक अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो । 

जहाँ मुस्लिम राष्ट्र पाकिस्तान मानवताको पक्षमा उभिँदै गएको छ । त्यही धर्मनिरपेक्ष राष्ट्र भारत जाति, वर्ण, धर्म र सम्प्रदाय, अल्पसङ्ख्यक बहुसङ्ख्यक आदिका नाममा मानवताविरोधी कार्य गर्दैै आएको छ भने उसलाई दम्भ र अहङ्कारको उपज नभनेर के भन्ने । यसबारे पनि विश्व समाजलाई जानकारी दिनु आवश्यक छ ताकि उसको नियतबारे थप प्रष्ट हुने हुने अवसर मिलोस् ।   
 

कमेन्ट

  1. July 23, 2019, 11:31 p.m. Bhuban P Devkota
    नेपालले पनि भर्खरै अल्पसंख्यकहरूमाथि गरेकाे अन्याय कसले देख्ने ? बाइबल बाेकेकै कारण पक्राउ परिनु केकाे धर्मनिरपेक्षता हाे ? भारतले त हामीलाइ लुट्न हिन्दू धर्मकाे सहारा लिएकाे कुरा कसैबाट छिपेकाे छैन । नेपालकाे तराइलाइ मरुभूमि बनाउन पानीजहाज दिने नाउँमा सबै पानी लान लागेकाे कुरा कसैले हेक्का गरेकाे छै । देश बनाउने हाे भने अब भारतकाे अधीनबाट अलग हुनैपर्छ, दासत्वकाे जुनसुकै रूप पनि अस्वीकार छ, धर्म र जातकाे नाममा गरे पनि ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...