केन्द्रीय संस्करण

एक वर्षमा दुर्घटनामा परी ६१ जनाको मृत्यु

person explore access_timeसाउन ६, २०७६ chat_bubble_outline0

आर्थिक वर्ष ०७५/७६ तनहुँ जिल्लामा ६१ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । जिल्लाको विभिन्न भागमा  भएका १०६ दुर्घटनामा परी उनीहरुको ज्यान गएको हो । 

अघिल्लो आर्थिक वर्ष ११२ दुर्घटनामा ६५ जनाको मृत्यु भएको थियो । तनहुँ जिल्ला ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सवारी दुर्घटनाको सङ्ख्यामा यसवर्ष केही कमी आए पनि सन्तोषजनक भने छैन । 

अघिल्लो वर्षभन्दा गतवर्ष दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चारले कमी छ ।
    
दुर्घटना न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम गरिए पनि दुर्घटनाको क्रम नरोकिएको ट्राफिक प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

 उनका अनुसार विभिन्न दुर्घटनामा ११८को स्थिति जटील र ७१ सामान्य  घाइते भएका थिए । 
दुर्घटनामा परेका मोटरसाइकलको सङ्ख्या सबैभन्दा बढी छ । यस अवधिमा ६६ मोटरसाइकल, ३७ बस, १९ जीप तथा कार, ११ ट्रक। टिपर र नौ  माइक्रोबस दुर्घटना भएको कार्यालयले जनाएको छ ।
    
शुक्लागण्डकी नगरपालिकास्थित कोत्रे, गाछेपानी, म्याग्दे गाउँपालिकास्थित अकला, गुणादी, व्यास नगरपालिकास्थित कमलाबारी, घाँसीकुवा, बन्दीपुर गाउँपालिकास्थित नाहाला, विमलनगर, आँबुखैरेनी गाउँपालिकास्थित पावरहाउस, एक्लेफाँट बढी दुर्घटना हुने ठाउँ हुन् । 

दुर्घटना न्यूनीकरणका लागि कार्यालयले त्यस्ता ठाउँमा सचेतना बोर्ड, कन्भेक्स ऐना राखेको छ भने सवारीको गतिमापनका लागि ‘रडार गन’ प्रयोग गर्ने गरिएको उनले बताए ।  दुर्घटना न्यूनीकरणका लागि उक्त कार्यालयले सचेतनामूलक प्रशिक्षण दिँदै आएको छ ।  सवारी दुर्घटना न्यूनीकरण गर्न पैदलयात्री, सवारी चालक, यातायात व्यवसायी र विद्यालयका विद्यार्थीलाई प्रशिक्षण दिइएकोे हो ।
    
तीव्र गति, खाल्डाखुल्डी सडक, पैदलयात्रीको लापरवाहीजस्ता कारणले सवारी दुर्घटना वृद्धि भएको ट्राफिक प्रमुख अधिकारीको भनाइ थियो । “तीव्रगतिमा सवारी  साधान चलाउने, एकअर्काबीच प्रतिस्पर्धा, सडकमा खाल्डाखुल्डीजस्ता कारणले सवारी दुर्घटना बढेको हो,” उनले भने, “सडक ठाउँ–ठाउँमा भत्किएको छ, समयमै मर्मत नगरिएकाले मोटरसाइकल र स्कुटर बढी मात्रामा दुर्घटनामा पर्ने गरेको हो ।” पृथ्वीराजमार्गको ७२ किलोमिटर भाग तनहुँ जिल्लामा पर्दछ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...