बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बालुवाटारको सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न ट्रान्सपरेन्सी इन्टरनेशनलको माग

सोमबार, ०६ साउन २०७६, १२ : ०९
सोमबार, ०६ साउन २०७६

काठमाडौँ– भ्रष्टाचारका विरुद्ध निरन्तर आवाज उठाइरहने नागरिक संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले प्रधानमन्त्री निवास बालुवाटारको सरकारी जग्गा हिनामिनाको निस्पक्ष छानविन गरी दोषीलाइृ कारवाही गर्न माग गरेको छ ।
 ट्रान्सपरेन्सीका अध्यक्ष खेमराज रेग्मीले सोमबार विज्ञप्ति जारी गर्दै पूर्व सचिव शारदा प्रसाद त्रिताल प्रतिवेदनले औंल्याएका व्यक्तिहरु उपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो समेतले गहन अनुसन्धान गरिरहेको बिषयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् । 

‘सो सरकारी जग्गा व्यक्तिका नाममा हक हस्तान्तरण हुने गरि अनियमित तथा गैर कानुनी निर्णय गर्न गराउन कतिपय जिम्मेवार कर्मचारीहरु सहित पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरु समेतको प्रत्यक्ष संलग्नता रहेको बिषय विभिन्न सञ्चार माध्यमहरुमा आईरहेको हुँदा यस बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगवाट स्वतन्त्र, निष्पक्ष र निर्भिकता पूर्वक अनुसन्धान कार्य सम्पन्न गरि दोषीहरुलाई कानूनी कारबाहीको कठघरामा उभ्याइनु पर्दछ भन्ने हाम्रो प्रबल धारणा छ’ अध्यक्ष रेग्मीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

ट्रान्सपरेन्सीले प्राय सबै ठुला अनियमितता एवं भ्रष्टाचारका काण्डहरु राजनैतिक नेतृत्वको संलग्नता विना कर्मचारीहरुको चाहनाले मात्र हुन प्राय असम्भव रहेको ठहर गर्दै भ्रष्टाचारका घटनाहरुमा प्राय कर्मचारीहरुमाथी दोष थोपरेर राजनैतिक नेतृत्व सधै उम्कने बिडम्बनापूर्ण स्थिति मुलूकमा रहेको जनाएको छ । ‘बिभिन्न अध्ययन तथा अनुसन्धानबाट राजनैतिक पक्षनै भ्रष्टाचारको मूल कारक हो भन्ने प्राप्त निष्कर्षलाई हामीले आत्मसात गर्दै राजनैतिक नेतृत्वबाट हुने भ्रष्टाचार नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष थप कठोर हुनु अनिवार्य छ’ ट्रान्सपरेन्सीले भनेको छ ।  

उसले बालुवाटारको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्न राजनैतिक पदाधिकारी लगायत सबै व्यक्तिहरु जो जतिसुकै शक्तिशाली भएपनि कानूनी कारवाहीबाट उन्मुक्ति नपाउने व्यवस्था गर्न माग गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप