केन्द्रीय संस्करण

सर्वसाधारणका लागि गुमनाम ‘रत्न मन्दिर’

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0

पोखरा– सर्वसाधारण जनताका लागि मात्र होइन । ठुलाबडाका लागि पनि मनपर्ने थलो हो पोखरा । यहाँको सुन्दरताले जो कोही पनि लोभिन्छन् । माछापुछ्रेको प्रतिविम्व फेवातालको आँगनमा नाँचेको दृश्यले कस्को मन नखिच्ला ? र ! अझ, उत्तरपट्टि हिमालका पानारोमा भ्यु र बाह्रै महिना हरियाली डाँडापाखा त पोखराको सुन्दरताका पर्याय नै बनेका छन् । 

अहिले नेपालमा राजसंस्था छैन । जति पनि नेपाल सरकारका राजा बने । उनीहरुले पोखरामा सायदै पाइला टेकेका छन् । अनि यहाँको सुन्दरतालाई आँखाभरि नियालेका छन् । तत्कालीन राजा महेन्द्र शाहलाई पनि खुबै मन पथ्र्याे पोखरा । उनको मनपर्ने थलो मध्येको ठाउँ थियो पोखरा । 

बेलाबखतमा उनी पोखरा आइ नै रहन्थे । पोखरा आउँदा महेन्द्रलाई फेवा किनारमा टहलिने र बास बस्ने ठाउँको खाँचो देखे । परिकल्पना गरे । रातमा फेवा किनारमा टहलिँदै जुनलाई नियाल्ने । त्यही परिकल्पनालाई उनले ०१५ सालमा साकार पारे । राजा महेन्द्रले फेवाताल किनारैमा ‘रत्न मन्दिर’ को निर्माण गरे । जुन सर्वसाधारण जनताको लागि गुमनाम जस्तै छ । थाहै पाए पनि यसलाई नियाल्ने अवसरबाट भने बञ्चित नै छन् । राजकीय शासन सकिएको यतिका वर्षसम्म पनि ‘रत्न मन्दिर’ सर्वसाधारणको लागि खुल्ला गरिएको छैन ।

कटेज शैलीमा बनाइएको यो बंगलालाई महेन्द्रले आफ्नी कान्छी रानी ‘रत्न’को नाम दिएका छन् । महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो ‘रत्न मन्दिर’ । त्यसपछि त पोखरा आउँदा राजपरिवारको बासै रत्नमन्दिरमा हुन थाल्यो । दरबार हत्याकाण्ड हुँदा (वीरेन्द्रको वंशनाश हुँदा) ज्ञानेन्द्र शाह रत्न मन्दिरमै थिए । ज्ञानेन्द्रले ०५८ जेठ १९ को रात रत्नमन्दिरमा बिताएका थिए ।

फेवा किनारको रत्नमन्दिरमा राजाको आउ–जाउ त्यतिबेला टुट्यो, जतिबेला राज संस्थाको जनतासँग सम्बन्ध टुट्यो । ज्ञानेन्द्र नै ‘रत्न मन्दिर’मा रमाउने अन्तिम राजा बने । २०६२/०६३ को जनआन्दोलनपछि त वीरेन्द्रको नाममा रहेको रत्न मन्दिर पनि सरकारले आफ्नो नाममा लियो । ०६४ साल असोज २१ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय लियो । 

राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएका जनताले रत्नमन्दिर कस्तो छ ? अझै हेर्न पाएका छैनन् । ‘रत्न मन्दिर’ को पूर्वमा महेन्द्रका माइला भाई हिमालय वीरविक्रमका नाममा बनेको हिमा गृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ । राजसंस्थापछिका प्रत्येक सरकारको पालामा ‘रत्न मन्दिर’ र ‘हिमागृह’ जनताका लागि खोल्ने चर्चा चल्छ । तर खुल्दैन । 

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवी पोख्रेल ‘रत्न मन्दिर’ र ‘हिमागृह’लाई सर्वसाधारण जनताको पहुँचमा ल्याउनुपर्ने मत राख्छन् । ‘पोखरा आउने जो कोहीलाई पनि रत्न मन्दिर कस्तो होला भनेर खुल्दुली छ,’ उनले भने, ‘राजासंस्थाको अन्त्य भइसके पनि राजाले बनाएको रत्न मन्दिर कस्तो होला भनेर सर्वसाधारणमा चासो छ । यो पोखराको पर्यटनसँग पनि जोडिएको हुनाले रत्न मन्दिर र हिमा गृहजस्ता ऐतिहासिक सम्पदा सबैको पहुँचमा ल्याउनुपर्छ ।’ देशमा जनताको सरकार आएको हुनाले पनि रत्न मन्दिरलाई सर्वसाधारणको पहुँचमा ल्याउनुपर्ने उनी तर्क गर्छन् । 

‘रत्न मन्दिर’ कहिले संग्रहालय बनाएर जनताका लािग खुलाउने ? ५ तारे होटल या सरकारी आवास बनाउने बहस र चर्चा पनि नभएका होइनन् । विभिन्न समयमा नेतादेखि मन्त्रीसम्मले रत्न मन्दिर खुलाउने विषयमा चर्को भाषण दिए तर पूरा भएन । गण्डकी प्रदेश सरकारले पनि रत्न मन्दिरतर्फ आँखा नलगाएको होइन् । केही समयअघि गण्डकी प्रदेश सरकारका पर्यटनमन्त्री विकास लम्सालले रत्न मन्दिरलाई संग्रहालय बनाएर र खुलाउने तयारी थालेको पनि बताएका थिए । संघीय सरकारसँग छलफल गरि पर्यटकको लागि खुलाउने तयारी थाल्ने उनले बताएका थिए । तर, अहिलेसम्म खुल्न सकेको छैन । रत्न मन्दिर अझै पनि संघीय सरकारकै स्वामित्वमा छ । 

रत्न मन्दिर र हिमागृह मात्रै खुला गर्न सकियो भने पोखरामा पर्यटक आउने र कम्तिमा एक दिन बसाइ थपिने देखिन्छ । यसले पोखराको पर्यटन क्षेत्रमा ठुलै परिर्वतन ल्याउने देखिन्छ । राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनासँगै नारायणहिटी राजदरबार जनताका लागि खुला भयो, हिमागृह र रत्न मन्दिरलाई पनि खुल्ला गरिनुपर्ने आवाज पोखरेलीको छ । 

ऐतिहासिक महत्वलाई बुझाएर थुप्रै पर्यटक तान्न सक्ने सम्भावना छ । राजसंस्था अन्त्य भइरहेको अवस्थामा उनीहरुले खेल्ने मैदान, सुत्ने कोठा, प्रयोग गर्ने सामाग्री हरेक कुरा ऐतिहासिक महत्व राख्छन् ।  नेपाल ट्रष्ट इकाइ कार्यालय, रत्न मन्दिरका निमित्त प्रमुख भीमप्रसाद गौडेलले १ सय १४ रोपनी क्षेत्रफलमा रत्न मन्दिर फैलिएको जानकारी दिए । रत्न मन्दिरमा प्रशासनिक भवन र फेवातालसँगै जोडिएको ताल घर, सैनिक बस्ने ३८ कोठे लामो भवन रहेको उनले जानकारी दिए ।

मुख्य भवनमा ११ कोठा छन् । तत्कालीन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् । रत्नमन्दिरलाई अहिले नेपाली सेनाले पहरा दिँदै आएको छ । राजसंस्था अन्त्य सगै बन्द रहेका हिमा गृह र रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न किन ढिलाई भइरहेको छ ? यो विषयमा पोखरेलीको प्रश्न पनि छ । पोखराको मात्र नभई राष्ट्रकै ऐतिहासिक सम्पदा बनिसकेको रत्न मन्दिरलाई नयाँ पुस्ताको लागि अध्ययन गर्ने र पर्यटकले अवलोकन गर्ने संग्रालयको रुपमा विकास गर्नेतर्फ सरकारको ध्यान जानु आवश्यक देखिन्छ । 
 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...