केन्द्रीय संस्करण
विश्व

अबको चीन

person explore access_timeसाउन ५, २०७६ chat_bubble_outline0

चीनको नयाँँ विश्व दृष्टिकोणले बदलिँदो परिवेशमा उसलाई विश्व शक्तिको अखडामा थप कृयाशील एवं प्रभावशाली भूमिकाको खाँचो परेको कुरा प्रष्ट्याउँछ । यसका लागि चीन आर्थिक रूपले थप शक्तिशाली हुन आवश्यक छ । साथै, मानव समाजका सबै आयाममा विश्वव्यापी रूपमा नयाँँपन दिएर आम मानव जातिलाई विश्वशान्ति प्रदान गर्दै समृद्धिमा साथ दिनुपर्ने जिम्मेदारी पनि उसमाथि थपिएको छ । 

त्यसका साथै चीनले अल्पविकसित एवं विकासशील मुलुकहरुलाई आन्तरिक सामाजिक स्थिरता तथा बाह्य सुरक्षामा भरपर्दो साझेदारी कायम गर्नैपर्ने बाध्यकारी जिम्मेवारी पनि उठाउनु पर्ने छ । त्यसका लागि उसले दिगो आर्थिक व्यवस्था तथा विश्वसनीय अन्तर्राष्ट्रिय सम्बन्धका भरपर्दा कडीहरुको सिर्जना र कार्यान्वयन पनि साथसाथै गर्नुपर्ने हुन्छ । उसले प्रतीरक्षा प्रणालीलाई आन्तरिक र बाह्य दुवै खतरासँग भिड्न सक्ने विश्व स्तरको अब्बल सैन्य बलको समीकरण गर्नुपर्ने कुरा सबैभन्दा महत्त्वपूर्ण मुद्दा हुनेछ ।  

चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ महासभाले वर्तमान चिनियाँ सरकारलाई नयाँ जिम्मेवारी सुम्पेको छ । ‘क्षमता लुकाएर सही समय पर्ख’ भन्ने रणनीतिको अन्त्य गर्दै विश्व शक्तिराष्ट्रहरुका माझ बराबरिको हैसियतमा अग्रपङ्क्तिमा उभिनु पर्ने नवीनतम रणनीति प्रदान गरेको हो ।

चीनका आलोचक एवं समर्थक दुवै पक्ष एउटा साझा कुरामा भने सहमत देखिन्छन् ‘चीन विश्व शासन प्रणालिको प्रक्रियामा एक गतिशील, सक्रिय एवं सिर्जनशील शक्ति हो, जसले नवीनतम परिवेशमा नयाँँ अन्तर्राष्ट्रिय अजेन्डा लिएर विश्व समुदाय सामु प्रस्तुत भइरहेको छ ।’

चिनियाँ रणनीतिकारहरु भन्छन्, चीनले अख्तियार गरेको नयाँँ कूटनीति विश्वका सम्पूर्ण मुलुकहरुलाई नयाँँ शिराबाट आधुनिकीकरण गर्न मद्दत गर्छ । यो नै चीनको नयाँँ परराष्ट्र नीतिको परिणाम हुनेछ । यो कुनै अहंकार या अभिमानबाट अभिव्यक्त भएको उद्गार होइन ।   

हुन पनि चीनले समकालीन विश्वका प्रमुख राजनीतिक एवं सामाजिक घटनाहरुलाई प्रत्यक्ष रूपमा प्रभावित पार्न थालेको छ ।    

चीनले हासिल गरेको अथाह समृद्धि र सामाजिक वैभव अतुलनीय नै छ । विश्वमा पश्चिमा शक्तिहरुले स्थापना गरेका आर्थिक विकास, शैक्षिक उन्नयन  एवं राजनीतिक उत्कृष्टतालाई चिनियाँ मोडलद्वारा विस्थापित गर्ने काम अत्यन्तै जोखिमपूर्ण पनि छ । तैपनी उसले आफ्नो लक्ष हासिल गर्न कतिपय आफ्ना मुद्दालाई थाँती राखी विश्व समुदाय माझ मैत्रीपूर्ण व्यवहार तथा आपसी इज्जतको हतियार प्रयोग गरी अघिबढ्नुको विकल्प पनि छैन । 

जसरी विगतका महाशक्तिहरुले आफ्नो रणनीतिक स्वार्थका लागि कुनै पनि कमजोर मुलुकलाई सैन्य कारबाही गरी त्यहाँ सामाजिक शून्यता एवं राजनीतिक अकर्मण्यता सिर्जना गरे जस्तो अब चीनले गर्न सक्ने स्थिति नरहन सक्छ ।     

चीनले लिएको बाटो पहिल्याउँदै अघि बढ्दा कहाँँ पुगिने हो, कस्तो समाज र राजनीतिक परिवेशको सामना गर्नु पर्ने हो, कुन रणनीतिक जोखिममा परिने हो भन्ने त्रास सबैमा हुनु कुनै अनौठो कुरा भएन । एकताका अमेरिकाले पनि अमेरिकी विशिष्टताको कुरा नउठाएको होइन । तर के अमेरिकाको उक्त रणनीतिक आदर्शले विश्वमा शान्ति कायम भयो त, संसारका सबै मुलुकका बीच आमरूपमा सहकार्य र आपसी फाइदा हुने वातावरण या विश्व व्यवस्था बन्यो त ? प्रश्नहरु अनुत्तरित छन् ।  

वर्तमान विश्वले अपनाएको उदारवादी लोकतन्त्र, खुला प्रतिस्पर्धात्मक सामाजिक थिति एवं बजार व्यवस्थालाई लत्याएर चीनकै लयमा अघि बढ्न को कति तयार छन्, पर्खनै पर्छ । तैपनि एउटा के कुरा चाहिँ साँचो हो भने हालको अमेरिका केन्द्रित या पश्चिमेली समाज केन्द्रित सामाजिक, राजनीतिक एवं आर्थिक पद्धातिलाई सुधार होइन विस्तापित गरी नयाँँ आदर्शको स्थापना गर्न चीन तत्पर छ । 

तर चीनले यसकालाई अत्यन्तै संयमता र सामरिक धीरता प्रचुर मात्रामा कायम गर्नुपर्नेछ । एउटा दुःखदायी व्यवस्थाको अन्त्य गरी अर्को त्यस्तै अप्ठ्यारो प्रणालीलाई विश्व समुदायले स्वीकार्दैन । यस कुरामा चीन सचेत हुनै पर्छ ।   

वर्तमान विश्वमा खड्किएको शान्ति, स्थिरता, सुशासन र विकासको अभावलाई चीनले अन्त्य गर्ने सुस्पष्ट र विश्वसनीय खाका विश्वसामु पेश गर्न सक्नुपर्छ । शीतयुद्धको अन्त्यसँगै आफूलाई एक मात्र विश्व महाशक्ति ठान्ने अमेरिकाको नेतृत्वको वर्तमान विश्व अस्थिरता, अव्यवस्था, सम्भावित जोखिमको अनुमानै लगाउन नसकिने र विकराल सामाजिक सांस्कृतिक अराजकताले थालिएको छ । 

यसको विकल्पमा दुनियाँँ नै एउटा भरोसा गर्न लायक वैकल्पिक विश्व महाशक्तिको व्यग्र प्रतीक्षामा रहेको छ ।  मौजुदा हालतमा परिवर्तनको कुनै रूपरेखा देख्न पाइएन भने चीनप्रतिको विश्वास पनि विश्व जनमानसबाट  गुम्दै जाने छ ।  मिठा रसिला विकासका पदावली र लोभलाग्दा लयबद्ध भाषण अनि आकाशै गडगडाउने उद्घोषले मात्रै यथार्थमा केही परिवर्तन नहुने उत्पीडित मुलुकहरु र आम जनताले बुझिसकेका छन् ।      
माओको नेतृत्वमा शताब्दी लामो अपहेलनाको भोगाइको अन्त्य, तेङ सियाओ पिङको पहलमा खुलापन र सी जिनपिङ्गको राष्ट्रिय पुनर्जागरणका कार्यक्रमहरुले चीनलाई भौतिक रूपमै अलग स्थानमा ल्याइ पुर्याएको छ ।   

चिनियाँ राष्ट्रपति सी जिनपिङले उठान गरेका दुई शताब्दी लक्ष्य हाल एकदमै पेचिलो बन्दै गएको छ । जसअन्तर्गत सन् २०२० सम्ममा चिनियाँ समाजलाई मध्य आयको समाज निर्माण गर्ने र सन २०४९ सम्ममा पूर्ण रूपले विकासित बनाउने लक्ष रहेका छन् । सन २०२० चिनियाँ कम्युनिस्ट पार्टीको स्थापनाको सय वर्ष हो भने सन २०४९ जनवादी गणतन्त्र चीनको स्थापनाको सय वर्ष हो ।    

गत आर्थिक वर्षको सेप्टेम्बरसम्म चीन र अमेरिका बीचको ब्यापारमा चीनले झन्डै चार सय अर्ब अमेरिकी डलर बराबरको वस्तु एवं सेवा अमेरिकाबाट निर्यात गरेको छ ।    
शक्तिका लागि केही मापकहरु पनि छन । तीमध्ये अर्थतन्त्र, प्रतिरक्षा, सामाजिक विकास एवं संस्थाहरु पर्छन् । 

चीनको वार्षिक प्रतिरक्षा खर्च नै २२८ अर्ब अमेरिकी डलर बराबर पुगेको छ जुन उसको कूल वार्षिक बजेटको १÷९५ हुन आउँछ ।   

संसारकै सैन्य क्षमताको १३÷५५ भाग ओगट्ने चीनसँग वार्षिक १२,०१५ अर्ब अमेरिकी डलरको धनराशि रहेको छ ।  मानव विकास सूचकाङ्क ः सन् २०१८ को सेप्टेम्बरसम्मको अवस्थाअनुसार ०।७५२ अङ्कले ८६औं स्थानमा छ ।  

यो क्रम गत वर्षको भन्दा १ तह माथि उक्लिएको र ०.००४ अङ्कले बढोत्तरी भएको हो ।

राष्ट्रपति सीका  अवधारणामा प्रमुख चार कुरा पाइन्छन्,  बलियो चीन, सभ्य चीन, अमन चयनले पूर्णता पाएको चीन एवं सुन्दर चीन । 

बलियो चीनअन्तर्गत चीन आर्थिक, राजनीतिक, कूटनीतिक, वैज्ञानिक तथा सैन्यरूपले सबल बनाउने लक्ष्य रहेको छ । सभ्य चीन भन्नाले असल समाज, सांस्कृतिकरूपले सम्पन्न र उच्च नैतिकवान समाज बनाउने लक्ष रहेको बुझिन्छ । 

त्यसैगरी, अमन चयन कायम रहेको समाज अन्तर्गत वर्गीय समानता रहेको समाज बनाउने आकाङ्क्षा रहेको देखिन्छ । सुन्दर चीनभित्र स्वस्थ पर्यावरण र न्यूनतम प्रदूषण कायम गर्ने अभिलाषा रहेको बुझिन्छ । ग्रामीण एवं सहरी जनजीवनमा उच्च स्तरीय जीवनशैली निर्माण गर्ने सरकारी लक्ष रहेको छ । सन् २०५० सम्ममा समग्र चिनियाँ जनजीवन विश्वकै सम्पन्न बनाउनेतर्फ सम्पूर्ण चिनियाँ संयन्त्र केन्द्रित भइरहेका छन् ।        

चीनको उदय
चीनका विश्वव्यापी प्रतिस्पर्धीहरु विस्तारै धराशयी हुँदै गएको देखिन्छ । अमेरिकालाई विश्व रङ्गमञ्चमा प्रभुत्वशाली सावित गर्ने अमेरिकी संस्थाहरुको औचित्य नै खतम पार्ने काममा वर्तमान अमेरिकी राष्ट्रपती आफै लागिपरेका देखिन्छन् । तिनले अमेरिकाले विज्ञान र प्रविधिको क्षेत्रमा लिएको अतुलनीय उडानलाई नजरअन्दाज गरिरहेछन् । खुलापन, सामाजिक सहिष्णुता र समावेशिताका विरुद्ध अमेरिका आत्मकेन्द्रित, श्वेतराष्ट्रवादी, झनै पुरुष—केन्द्रित एक इसाई राष्ट्रका रूपमा विकसित हुँदैछ । युरोपमा झनै विखण्डन आइरहेको छ । 

बेलायत युरोपेली सङ्घबाट टाढिनु र युरोपभित्रैका मुलुकहरुमा अन्य जातजातिका मानव समुदायप्रति असहिष्णु भाव बढ्दै जानुले अमेरिकाका स्थायी मित्र राष्ट्रहरु पनि अमेरिका जस्तै आत्मा केन्द्रित बन्दै गएको पाइन्छ । यसबीच पपुलिस्ट पार्टीहरु सरकारमा हाबी हुँदै गएका घटनाहरु बढीरहेका छन् । अस्ट्रियामा त सरकारका मन्त्रीहरु नै नाजी पार्टी समर्थक भेटिएका छन् । 

जर्मनीमा उदारवादी नेता एङ्गेला मर्केलको प्रभाव खस्किँदै गएको छ भने सहमती र सहकार्यलाई भन्दा व्यक्तिगत तागतलाई प्रमुख मान्दै बहुसङ्ख्यक युरोपेली मुलुकहरु अघि बढ्न थालएको देखिन्छ । यस्तो प्रवृत्तिले युरोपेली सङ्घ र नेटो गठबन्धनलाई नै कमजोर पारिरहेको छ । अर्कोतर्फ अमेरिकाको आफ्नै प्रयत्नबाट निर्मित ट्रान्स प्यासिफिक पार्टनर्सिप (टीपीपी), केओआरएस, नाफ्टा आदी क्षेत्रीय स्तरमा बहुराष्ट्रिय आर्थिक, सामाजिक एवं सैन्य गठबन्धनहरु विघटित हुँदै गएका छन् । यसमा ट्रम्प आफैले सुरु गरेका रक्षात्मक  द्विपक्षीय सन्धिहरुलाई प्रश्रय दिइरहेका छन् । 

आफ्ना पुराना मित्रहरुलाई भन्दा ट्रम्प प्रशासनले उत्तर कोरियालाई बढी प्राथमिकतामा राख्नुले एसिया प्रशान्त क्षेत्रका अमेरिकी मित्रराष्ट्रहरु दक्षिण कोरिया र जापानलाई अवमूल्यन गर्न थालेको देखिन्छ । अमेरिकाकै नेतृत्वमा निर्मित हालको विश्व व्यवस्थालाई युरोप एक्लैले धान्न खोजिरहेको छ, कुनै दिन अमेरिकाको धारणा बदलिने आशामा । 

यति भन्दैमा विश्व व्यवस्था नै चीनले हाँक्न थालिसक्यो भन्ने होइन । अझै पनि साविककै व्यवस्था र प्रणाली कायम छ तर सुधार्नै नसकिने गरी मक्किँदै गएको सर्वत्र जाहेर छ ।  

हाल अर्जेन्टिनाको बुएनस आयर्समा जी सेभेनको शिखर सम्मेलन जारी छ । यस सम्मेलनमा वर्तमान विश्वको अस्थिरता र विकासोन्मुख नयाँँ विश्व व्यवस्थाबारे तात्तातो बहस जारी छ । अमेरिका लगायत पश्चिमा देशहरुको अगुवाइ रहेको वर्तमान विश्व व्यवस्थाले अधोगती लिन थालेपछि आफ्नो प्रभाव क्षेत्र गुम्ने भयले ती सबै आत्तिएका पनि देखिन्छन् । 

वर्तमान विश्व विस्तारै पश्चिमतिरबाट पूर्वतर्फ केन्द्रित हुन थालेको छ । हामी अहिले अवश्यम्भावी विश्व व्यवस्था परिवर्तनको सँघारमा उभिएका छौँ । यस परिवर्तनले चीनलाई विश्वमहाशक्ति बन्ने बाटो प्रशस्त पनि गरिदिने छ ।  चीन आर्थिक हिसाबले विश्वकै एक मात्र सबल र सक्रिय शक्तिका रूपमा स्थापित भइसकेको सर्वविदित छ । विश्व बैङ्कको अनुमानअनुसार सन् २०५० भित्रमा चिनियाँँ अर्थतन्त्र अमेरिकाको भन्दा ७२ प्रतिशतले ठूलो हुने बताएको छ । 

चीन विश्वका ठूला औद्योगिक प्रतिष्ठानहरुको केन्द्र बन्दै गएको परिदृश्य हामी देख्दै छौँ । चीनले वैज्ञानिक अनुसन्धान र खोजमा निकै खर्च गर्दै आएको पनि छ । जसले गर्दा चिनियाँ मुद्रा युआनको तागत पनि यसैसाथ बढ्दै जाने पक्का छ । अमेरिकी राष्ट्रपति ट्रम्पको विश्व समुदायबाट अलग थलग रहने नीतिका कारण यो क्रम झनै बढ्दै जाने छ ।                              

यस पटकको जी सेभेन शिखर सम्मेलनमा अमेरिकाको केही व्यवधान रहे पनि विश्व अर्थतन्त्रमा बढ्दो चिनियाँँ प्रभावलाई सबैले स्विकारेका छन् । यसका पछाडि चीनको वर्तमान नेतृत्वले लिएको दीर्घकालीन रणनीतिक कदम नै प्रमुख हो ।  

वित्तीय खुलापनका नवीनतम उपायहरु
सन १९७८ देखि आजको मितिसम्म चालीस वर्षको दौरानमा चिनियाँँ समाजमा खुलापन र नयाँँपन प्रदान गर्दै चिनियाँँ प्रशासनले विकास, समृद्धि र सुशासनको चिनियाँ मौलिक  मार्गचित्र दुनियाँँ समक्ष पेश गर्दै आएको छ । हालसालै मात्र वर्तमान चिनियाँँ प्रशासनले आफ्नो राज्य परिषद्को मातहत रहने गरी वित्तीय स्थिरता एवं विकास समितिको गठन गरेको छ । उक्त समितिको निर्देशन बमोजिम वित्तीय बजारलाई समकालीन विश्वको वित्तीय अवस्था अनुकुल बनाउँदै लैजान त्यसमा आवश्य थप खुलापन प्रदान गरिँदै लैजाने निर्णय पनि लिइएको छ  । 

चिनियाँ केन्द्रीय बैंकका अनुसार यसअन्तर्गत वैदेशिक वित्तबाट सञ्चालित वित्तिय संस्थाहरुलाई चीनको अन्तरबैंकिङ तथा विनिमय बोन्ड बजारका सम्पूर्ण ऋण कारोबार सञ्चालन गर्ने अनुमती प्राप्त गरिनेछ । 
 वैदेशिक वित्तीय संस्थाहरुलाई चिनियाँँ  वाणिज्य बैंकहरुका सम्पत्ति व्यवस्थापनमा  सहायक हुने गरी लगानी गर्न तथा आवश्यक रूपरेखा निर्धारण गर्न इजाजत प्रदान गरिने छ । यसका साथै, वैदेशिक सम्पत्ती व्यवस्थापक निकायहरुलाई चिनियाँ वाणिज्य बैंकहरुसँग मिलेर मुलुक बाहिरबाट नियन्त्रित सम्पत्ति व्यवस्थापन कम्पनीहरु सञ्चालन गर्न सहयोग पुग्नेछ । 

यो नयाँ व्यवस्थापनले वैदेशिक वित्त कम्पनीहरुलाई निवृत्तिभरण व्यवस्थापन गर्ने कम्पनीहरुसंग मिली वित्तीय कारोबार गर्न सहयोग पुग्ने बताइएको छ । त्यसको अलावा, वैदेशिक वित्त कम्पनीहरुलाई २५ प्रतिशतभन्दा बढी पनि सेयर स्वामित्व हासिल गर्न सक्ने चाँजो मिलाइएको छ । 

चीनले वैदेशिक संस्थागत लगानीकर्ताहरुलाई क वर्गको वित्तीय संस्थाको दर्जा एवं इजाजत पत्र प्रदान गर्न सहुलियत दिएर चीनको अन्तरबैंकिङ बोन्ड बजारमा प्रवेश गर्ने वातावरण मिलाएको छ ।

भरखरै जापानको ओशाका सहरमा  सम्पन्न जी२० को शिखर बैठकमा चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्नो मुलुक आउँदो नयाँँ युगमा नविनतम आर्थिक परिवेश सुहाउँदो आर्थिक सुधार एवं खुलापनका केही महत्त्वपूर्ण कदम चाल्ने तयारीमा रहेको जनाएका थिए । सीको यस्तो अभिव्यक्तिले खुलापन प्रतिको बढ्दो  चिनियाँ अभिरुचि मात्र होइन समग्र विश्व अर्थतन्त्रमा नयाँँ तरङ्ग ल्याउने निश्चित छ ।  

त्यस अन्तर्गत, सीका अनुसार चिनियाँ बजारलाई थप उदार बनाउँदै, निर्यातमुखी कारोवारको अभिवृद्धि गरिने छ । साथै वैदेशिक लगानीकर्ताहरुलाई चीनमा लगानी गर्न प्रोत्साहन गर्दै लैजाने बताइएको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...