मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

मोदी नेपाल नआउने,  भिडियो कन्फरेन्सबाटै पाइपलाइनको उद्घाटन गर्ने

आइतबार, ०५ साउन २०७६, १५ : ३२
आइतबार, ०५ साउन २०७६

काठमाडौँ । मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजना परीक्षण सम्पन्न भएसँगै नेपाल–भारत सरकार त्यसको उद्घाटनको तयारीमा लागेका छन् । 

दुवै देशका प्रधानमन्त्रीले सो परियोजना उद्घाटन गर्ने तयारी भइरहे पनि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नआउने भएका छन् । 

मोदी नआउने भएपछि पाइपलाइन परियोजनालाई कसरी उद्घाटन गराउने भन्ने विषयमा छलफल भइरहेको छ । 

अब प्रधानमन्त्री मोदीले भिडियो कम्फरेन्समार्फत उद्घाटन गर्ने लगभग तय भएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । 

पाइपलाइन परियोजनाको उद्घाटन कसरी गर्ने भन्नेबारेमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयका सहप्रवक्ता सुरेश अधिकारीले बताए । यद्यपि टुंगोमा पुगि नसकिएको उनले बताए । 

परराष्ट्र मन्त्रालय भारतीय महाशाखाका प्रमुख यज्ञबहादुर हमालले पनि उद्घाटन बारेमा छलफल नै चलिरहेको तर अहिले टुङ्गो नलागेको बताए । 

‘भर्खर परीक्षण सकिएको छ, त्यसका बारेमा सरकारले केही न केही निर्णय लेला तर अहिले केही भन्ने अवस्था छैन’, उनले भने । 

किन नआउने भए मोदी ?
मोदीले फेरि प्रधानमन्त्री बनेपछि एक पटक पशुपतिको दर्शन गर्ने योजना बनाएका थिए । सोही क्रममा पाइपलाइन र रेलको उद्घाटन गर्ने सोच बनाएका थिए । त्यसका लागि दुवै देशबाट तयारी पनि भइरहेको थियो । तर अचानक नेपालमा भारत विरोधी गतिविधि सुरु भएपछि मोदीको नेपाल आउने कार्यक्रम तत्कालका लागि स्थगित भएको छ । 

क्लिन फिड, आइफा अवार्ड, तरकारीमा विषादी परीक्षण लगायतका विषय लिएर नेपालमा भारतको आलोचना भइरहेको छ । यस्तो अवस्थामा आउँदा विरोध हुने डरले तत्कालका लागि भ्रमण स्थगित गरिएको बताइएको छ । 

यो परियोजनाका लागि नेपाल–भारतबीच २०७२ भदौ ७ गते सम्झौता भएको थियो । सम्झौता भएको तीन वर्षपछि २०७४ चैत २४ गते दिल्लीबाटै मोदी र ओलीले संयुक्त रूपमा स्विच थिचेर परियोजनाको शिलान्याश गरेका थिए ।

नेपालस्थित भारतीय दूतावासका प्रवक्ता अभिषेक दुवेदीले परियोजनाको उद्घाटन कसरी गराउने त्यसको बारेमा दूतावासलाई कुनै जानकारी नआएको बताए । उनले प्रधानमन्त्री मोदी आउने कुराको आधिकारिक जानकारी पनि दूतावासमा नआएको बताए ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप