बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हिमालय एयरलाइन्सले सोमबारदेखि ढाका उडान गर्ने

आइतबार, ०५ साउन २०७६, १५ : २४
आइतबार, ०५ साउन २०७६

काठमाडौं– निजी क्षेत्रको अन्तरराष्ट्रिय वायु सेवा प्रदायक कम्पनी हिमालय एयरलाइन्सले सोमबारदेखि बङ्गलादेशको राजधानी ढाका उडान गर्ने भएको छ । बङ्गलादेशी पर्यटकको नेपाल आगमन सहजतालाई लक्ष गर्दै कम्पनीले काठमाडौँ–ढाका सिधा उडान थाल्ने जनाएको हो । काठमाडौँ–ढाका साताको तीन दिन उडान गर्ने गरी तालिका बनाइएको हिमालय एयरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।
    
उनले पर्यटकीय सम्भावना बोकेको गन्तव्य बङ्गलादेशमा आफ्नो सञ्जाल विस्तार गर्न पाएकामा निकै उत्साहित भएको उल्लेख गरे । हिमालयको तालिकाअनुसार एचनाइन ६७८ काठमाडौँबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ । सोही दिनको ढाकाबाट एचनाइन ६७९ जहाजले स्थानीय समय २ः१० मा उडान गरी काठमाडौँमा दिउँसो ३ः२० मा अवतरण हुनेछ ।
    
उक्त एयरलाइन्सले १५० इकोनोमी क्लास र आठ वटा प्रिमियम इकोनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ विमानबाट ढाका उडान गर्नेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीन वटा जहाज छन् । व्यावसायिक, अध्ययन तथा घुमघाम प्रयोजनका लागि बङ्गालादेश जाने दुवै प्रकृतिका यात्रुलाई लक्षित गरेर उडान तालिका सार्वजनिक गरिएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।
    
दुईतर्फी उडानमै प्रिमियम इकोनोमी क्लासमा २५ किलोसम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजीसम्मका लागि छुट हुने विज्ञप्तिमा भनिएको छ । हिमालयले हाल कतारको दोहा, दुबई÷आबुधावी र दमामको नियमित उडान गर्दै आएको छ । सन् २०१९ भित्रै चीनका विभिन्न गन्तव्यमा समेत उडान गर्ने कम्पनीको योजना छ ।
    
नेपाली पर्यटनका लागि बङ्गलादेश ठूलो स्रोत बजार हो । नेपाल पर्यटन बोर्डको विवरणअनुसार बङ्गलादेशबाट सन् २०१८ मा २६ हजार २५५ पर्यटक नेपाल भ्रमणमा आएका छन् । अघिल्लो वर्ष २९ हजार ६० पर्यटक नेपाल आएका थिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप