शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनतालाई पेलेर भएपनि सरकार आयु लम्ब्याउने खेलमा लाग्यो : सीपी मैनाली

शनिबार, ०४ साउन २०७६, १६ : ३४
शनिबार, ०४ साउन २०७६

काठमाडौं। संयुक्त राष्ट्रिय आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विभिन्न माग राखि शुक्रबार बुझाएको विरोधपत्र शनिबार सार्वजनिक गरेको छ । 
राजधानीमा पत्रकार सम्मेलन गर्दै विरोधपत्र सार्वजनिक गरिएको हो । विरोधपत्र बुझाउनेमा नेकपा (माले), नेपाली कांग्रेस (विपी), नेपाल समाजवादी कांग्रेस, जनसमाजवादी पार्टी नेपाल, राष्ट्रिय लोकतान्त्रिक मञ्च, तेत्तिस दलीय मोर्चा (पार्टी), जनताको प्रजातान्त्रिक पार्टी, नेपाल सर्वहारा कम्युनिष्ट पार्टी (माओवादी) र जनमोर्चा पार्टी रहेका छन् । 

सार्वजनिक गरिएको उक्त पत्रमा मुख्यतः सरकारले जनताको भावनाअनुसार काम गर्न नसकेको कुरालाई समावेश गरिएको छ । 
ठूला भ्रष्टाचारी, तस्करी, दुई नम्वरी कानुनको कठघरामा आउन नसकेकोमा पनि संयुक्त राष्ट्रिय आन्दोलनले विरोध गरेको छ । अराजकता, अव्यवस्था र अपराध घट्न नसकेको र महंगी नियन्त्रण हुन नसकेको उनीहरुको ठम्याई छ । रोजगारीका अवसरहरूको बृद्धि नभएको, निजी शिक्षण संस्था र स्वास्थसंस्थाले जनतामाथि गरेको चर्को शोषण नियन्त्रण नभएको पनि उनीहरुले आफ्नो विरोधपत्रमा समावेश गरेका छन् । 

जारी विरोधपत्रमा भनिएको छ,‘विकास निर्माण कार्यमा तीव्रता र गुणवत्ता आउन सकेन । पानी, दुध, तरकारी, फलफूल जस्ता अत्यन्तै महत्वपूर्ण खाद्य वस्तुहरूमा भइरहेको मिसावट र विषादिको मात्रा हटाउन सकिएन । उल्टो, सिमानाका प्रवेश विन्दुमा शुरु गरिएको तरकारी र फलफूलमा रहेको विषादि परिक्षण छिमेकी सरकारको दवावमा रोकिएको छ । यो भन्दा गैरजिम्मेवार र जनविरोधी कार्य के हुन सक्छ ? प्रधानमन्त्रीज्यू, भाषणमा जस्तो दावी गरिए पनि जनताको वास्तविक जीवन यस्ता तमाम समस्याबाट आक्रान्त बनेको छ । हामी यस्तो स्थितिको जोडदार विरोध गर्छौं र यसलाई तत्काल अन्त्य गरिनु पर्दछ भन्ने माग गर्दछौं । साथै कसैले पनि जनताको जीवनमाथि खेलवाड गर्न पाउदैन भन्ने कुरा दृढतापूर्वक स्पष्ट गर्न चाहन्छौं ।’

कार्यक्रममा संयुक्त राष्ट्रिय आन्दोलनको तर्फबाट सम्बोधन गर्दै नेकपा (माले) का महासचिव सिपी मैनालीले आफूहरुले धेरै चरणको वार्ता तथा छलफलपछि सहकार्य गरेको सुनाए । तत्काललाई आन्दोलन भनेर अभियान सुरु गरिएपनि निकट भविष्यमा गठबन्धन वा मोर्चा बनाएर अघि बढ्न सकिने उनको भनाई छ । 

महासचिव मैनालीले दुनियाँले नेपाललाई द्वन्द्वको एक्सपेरिमेन्टल प्लेस बनाउन खोजेको पनि खतरा औंल्याए । उनले भने,‘धर्मनिरपेक्षताको नाममा विदेशी शक्तिहरुले अहिले नेपालमा खेल्न काम गरिरहेका छन् । लाखौंको संख्यामा धर्मानान्तर भैरहेको छ । यो सबै गलत काम गर्न धर्मनिरपेक्षताले नै बल दिएको हो ।’ उनले राज्यका प्रमुख नै यसप्रति संवेदनशील बन्न नसकेको आरोप लगाए । 

मैनालीले नेपालमा बढ्दो धर्मानान्तरले नेपाल र नेपालीहरुको पहिचान डुब्ने खतरा रहेको पनि औंल्याए । त्यतिमात्रै नभएर संविधान संशोधनको नाममा नेपालमा द्वन्द्व चर्काउन खोजिएको उनको आरोप छ । नेपालमा हुन लागेका सबैखाले गलत विदेशी खेललाई रोक्नको लागि आफूहरुले ९ दलबीच सहकार्य गरेको उनले स्पष्ट पारे । 

आफूहरुले राष्ट्रिय हित र लोकतन्त्र विरोधी तथा असल परम्परा र सनातनी संस्कृति प्रतिकूल संसदमा प्रस्तुत भएका सवै विधेयकहरूको खारेजीको माग गरेको पनि मैनालीले स्पष्ट पारे । 

उनले वर्तमान दुई तिहाई बहुमतको सरकारले चुनावको बेला जनतासामू गरेका वाचा तथा प्रतिबद्धताहरु पूरा गर्न नसकेको दाबी गरे । 

उनले भने,‘जनताको बीचमा गरेका वाचाहरु पूरा गर्नु त परै जाओस्, सानातिना काम गरेर पनि देखाएन् । यो सरकार विदेशीसामू लम्पसार परेको छ । बरु, सत्ताको आयु लम्ब्याउने नाममा जनतालाई पेलेरै जान खोजेको छ । सर्वसत्तावादी चरित्र देखाएको छ ।’ उनले आफूहरुले बुझाएको विरोध–पत्रअनुसार सरकारले माग सम्बोधन नगरे सोहीअनुसार आन्दोलनका कार्यक्रमहरु तय गरिने पनि जनाए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप