केन्द्रीय संस्करण
मेराे जीवन

मदनकृष्ण श्रेष्ठको जीवन : उनको सम्झना कहिले आँखाबाट झार्छु, कहिले कलमबाट पोख्छु

person explore access_timeसाउन ४, २०७६ chat_bubble_outline0
कुवेर गिरी

रातोपाटी

नेपाली कलाक्षेत्रका एक नक्षेत्र हुन्, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ । उनलाई कलाका खानी भन्दा पनि फरक पर्दैन । अभिनय, लेखन, निर्देशन, गायन मात्र होइन उनीभित्र कलाका थुप्रै विधा अटाएका छन् ।

कलाकारितामार्फत देशविदेशको कुनाकन्दरामा रहेका नेपालीको मनमा बास बस्न सफल श्रेष्ठ सबैका प्रिय र विवादरहित कलाकार पनि हुन् । यिनै कलाकार मदनकृष्ण श्रेष्ठसँग रातोपाटीको मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मैले पकाएको मिठो मान्थिन्
मिठो खान मनपर्छ । सामान्य नेपाली खाना दाल, भात र तरकारी नै मिठो लाग्छ । मन नपर्ने केही छैन । रेस्टुरेन्ट आफूले पैसा तिरेर खान कम जान्छु । अरूले लग्यो भने धेरै जान्छु ।

रेस्टुरेन्टमा मनपर्ने मम नै हो । परिवारमा धेरैलाई थाहा भएको पनि मम नै हुन्छ । पकाउन रुचि छ, थियो, पकाउँथे पनि ।

श्रीमती हुँदा भान्सामा उनलाई पकाउन सघाउँथे । मैले पकाएको उनी मिठो मान्थिन् । आफैलाई पनि मिठो लाग्थ्यो । सबै परिकार पकाउन जान्दछु । अहिले मनले पकाउन चाहे पनि शरीरले टेर्दैन ।

पोसाकमा सौखिन छैन
राम्रो लगाउन मनपर्र्छ । जिन्दगीमा सधैँ सुखैसुख होस् भन्ने थियो, छ पनि तर आफूले भनेको जस्तो कहाँ हुँदो रहेछ र ? अधिकांश समय पाइन्ट सट नै लगाउँछु ।

महत्त्वपूर्ण कार्यक्रम तथा विशेष अवसरमा दौरा सुरुवाल र कोटपाइन्ट लगाउँछु । यो सजिलो पहिरन पनि हो । धेरै छिरबिरे, बुट्टा भएको रङ्गीचङ्गीभन्दा पनि साधारण पहिरन मनपर्छ । निलो, उज्यालो खालको पहिरन धेरै मनपर्छ ।

पहिरन ब्रान्डेड भए पनि साधारण भए पनि त्यसले शरीर नै ढाक्ने हो । ब्रान्डेडको नाममा बढी पैसा तिर्ने काम मात्र हो । सानोमा रेडिमेड पाइँदैन थियो । अधिकांश पहिरन सिलाउनुपथ्र्याे । मेरो विवाहको विषय ‘महको म’ किताबमा उल्लेख गर्दा पनि यस विषयमा लेखेको छु ।

केही अगाडि रेडिमेड पनि प्रयोग गरेँ । अहिले फिटिङ लगाउन मनपर्ने भएकाले सिलाएर लगाउने गरेको छु । मेरो पहिरनमा कुनै वर्ष २०, २५ हजार पनि खर्च हुन्छ । कुनै वर्ष त्यति पनि खर्च हुँदैन ।

व्यायाम नियमित छैन 
पहिले एक्सरसाइज (व्यायाम)का लागि दैनिक ४, ५ किलोमिटर नियमित मर्निङवाकमा दौडन्थेँ । मर्निङवाकबाट मेरो जीवन सुरु हुन्थ्यो । यो गर्न पाइन भने डर महसुस हुन्थ्यो । ४, ५ किलोमिटर दौडिँदा पसिनै पसिनाले शरीर भिज्थ्यो ।

पुसमाघको समयमा पनि मानिस सिरक ओडेर आगो तापेर बसेका हुन्थे । म भने टिसर्ट र कट्टु लगाएर दौडिन्थे । रमाइलो लाग्थ्यो । आफैलाई हास उठ्थ्यो ।

एक पटक रामशाहपथको ट्राफिक कार्यालयमा रक्तदान कार्यक्रम थियो । सो कार्यक्रममा रगत दिन लाग्दा ब्लड प्रेसर देखियो । त्यहीबोलादेखि प्रेसरको औषधि खान थालेँ । एकजनाले अब दौडनु हँुदैन भनेपछि छोडेँ । बिस्तारै हिँड्थे । दौडेको मानिसलाई हिँड्दा धित मर्दाेरहेनछ । त्यसपछि बिहान नियमित हिँड्न पनि छाडेँ ।

केही समयपछि एक कार्यक्रममा जाँदा आर्मी अस्पतालको डा. खगेन्द्र भेट भयो । उहाँले कति दौडिनु हुन्छ भनेर सोध्नुभयो । प्रेसरको औषधि खाएपछि मैले दौडन छोडेको वृत्तान्त बताएँ । उहाँले औषधि खाने दौडिने हो भन्नुभयो । दौडन हुन्न भन्नु लगत हो भनेर सम्झाए ।

तर दौडने बानी छुटिसकेकोले, शरीर अल्छी भइसकेकाले दौडन मन लागेन । त्यसपछि बिहान नियमित हिँड्न थाले । अहिले दिनको आधादेखि एक घन्टासम्म नियमित हिँड्छु । 

मेरो अध्ययन
नियमित पत्रपत्रिका पढ्छु । सरल लेखाइ भएका, पढ्न सजिलो खालका र इन्ट्रेस्ट लाग्ने विषयका पुस्तक मनपर्छ । साहित्यका विषय, कथा, जीवनीहरु पढ्न मनपर्छ । अहिले भरत महर्जन भन्ने एक औषधी पसलेको जीवनीमा आधारित एक पुस्तक पढिरहेकी छु ।

घुमाउने पेसा छ
इन्ट्रेस्ट होस् कि नहोस् पेसाले धेरै ठाउँ घुमाउने गरेको छ । काठमाडौँको डाँडाकाँडा टेकेको छु । देशको जिल्ला जिल्ला पुगेको छु । विदेश पनि धेरै घुमेको छु  । सबै भन्न मिल्दैन । मुख्य मुख्य ठाउँ पुगेको छु । किनभने काठमाडौँका अझे केही गल्ली पुग्न अझै बाँकी होलान् ।

घुम्न प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ मनपर्छ । हाम्रो देशमा जहाँ गए पनि फरक फरक किसिमको विशेषता र  सौन्दर्यता भेटिन्छ । 

फुर्सदै छैन
फुर्सद हुँदैन । धेरै पहिले रेडियोमा कार्यक्रम गरियो, त्यसै बिजी भइयो । त्यसपछि स्टेज कार्यक्रममा बिजी भइयो । स्टेज कार्यक्रममा पनि धेरै समय नेवारी कार्यक्रममा बिताए । मेरो प्राइम समय नै नेवारी कार्यक्रममा बित्यो । नेवारी कार्यक्रमबाट नै मेरो पहिचान पनि बनेको हो । 

त्यसपछि ड्रामा, प्रहसनमा समय बित्यो । टेलिभिजनको आगमनसँगै हरिवंशसँग मित्रता भयो । उसँग मित्रता भएपछि स्टेज कार्यक्रमहरु धेरै गर्यौँ । राजनीतिक सचेतना, जनचेतनाका कामहरुमा पनि गरियो । 

पछिल्लो समय सामाजिक संस्थाका मानिहरुसँग मित्रता बढेर चेतना जगाउने खालका सामाजिक विषयमा पनि काममा गरियो । एक समय विदेशमा कार्यक्रम गर्ने लहरै चल्यो । विदेशका थुप्रै कार्यक्रमा गइयो । सो समय नेपालको एयर्पाेटमा जिस्क्याएर केहीले दाइहरु कहिले काहीँ नेपाल आउनुहुन्छ है पनि भन्थे । 

त्यसपछि फेरि टेलिभिजनमा समय दिइयो । सामाजिक सन्देशको विज्ञापन पनि बिजी भइयो । जति नै पौसा दिए पनि व्यावसायिक विज्ञापन गर्दैनौँ भनेर बसेका थियौँ ।

देशमा आएको राजनीतिक परिवर्तनले आर्थिक उन्नतिको नारा उठायो । यो देशका लागि आवश्यक हो भन्ने लागेर अहिले कर्मसियल विज्ञानमा लागेका छौँ । अहिले यसमै बिजी छु । कहिले काही सामाजकि संस्थाले बोलाइरहेका हुन्छन्, त्यसमा पनि समय दिनुपर्छ । फुर्सद भयो भने परिवारसँग बिताउँछु ।

फुटबल खेल्थेँ
खेलकुदतिर रुचि छ । मेरो जीवन पूरै कलाक्षेत्रमा बित्यो । सो कारणले पनि खेलकुदलाई समय दिन सकिनँ । सानोमा रमाइलोका लागि फुटबल खेल्थेँ । अहिले टिभीमा हेर्छु । क्रिकेट पनि मनपर्छ । फुटबल पनि हेर्छु ।

क्वालिटी राम्रो छ
म एउटा मात्र मोबाइल बोक्छु । फोन गर्न, फेसबुक हेर्न, युट्युब हेर्न, अनलाइन समाचार पढ्न, इमेल हेर्न, म्यासेन्जरमा आएको राम्रो म्यासेज अरूलाई पनि फरवाड गर्न मोबाइल प्रयोग हुने गरेको छ । फेसबुक भने धेरै चलाउँदिनँ ।

अहिले मसँग ‘वान प्लस’ नामको चाइनिज मोबाइल छ । यो बोक्न थालेको धेरै भएको छैन । पहिले आइफोन बोक्थेँ । त्यो पुरानो भएपछि नयाँ किन्न जाँदा १ लाख १० हजार भन्यो ।

अहिले बोकेको मोबाइल सोधेको ६० हजार भन्यो । आधा रकम फरक परेकाले काम, सुविधा एउटै हो भनेर यो मोबाइल किनँे । यसबाट फोटो पनि क्वालिटीको आउँछ ।

युट्युब हेर्छु
पछिल्लो समय टिभी हेर्न कम भएको छ । टिभी नहेरेको धेरै समय भयो होला । टिभीमा आउने सबै कुरो युट्युबमा पाइन्छ । चाहेको बेला हेर्न पनि मिल्छ । टिभीमा कहिलेकाहीँ समाचार हेर्छु ।

कथा खस्किए
 

फिल्म कमै हेर्छु । सानोमा धेरै फिल्म हेर्थंे । एक फिल्म छुट्यो भने धेरै नोक्सान भए जस्तो लाग्थ्यो ।

अहिले कामको कारण हेर्न भ्याइँदैन । पछिल्लो समय हरेको मध्ये ‘बुलबुल’ फिल्म राम्रो लाग्यो । यसमा कलाकारको गरेको अभिनयमा जीवन्त छ । त्यसपछि ‘छक्का पन्जा ३’ र ‘दालभात तरकारी’ पनि हेरेको छु ।

अहिले पहिलाको जस्तो एक पटक हेरेपछि वर्षाैंसम्म सम्झिन लायक फिल्म बनेको नै छैन । पहिलाको फिल्ममा वास्तविकता हुन्थ्यो । अहिलेको फिल्म हावा खालको छ । अहिले फिल्म बनाउनुको मुख्य उद्देश्य भनेको मनोरन्जन, मनोरन्जन, मनोरन्जन मात्रै हो भन्ने गरिन्छ । अहिलेका फिल्ममा प्राविधिक गुणस्तर बढेको छ । तर कथा खस्किएका छन् । 


तीन भाषा चाहिन्छ
केही अर्थपूर्ण होस्, केही व्यावहारिक होस्, बौद्धिक पनि होस् । यस्तो भाषाशैली मनपर्छ । फाल्तु र सस्ता कुरा सुन्न मन लाग्दैन । मेरो विचारमा तीन भाषामा सबैले ध्यान दिनुपर्छ ।

एक मातृभाषा, जुन बच्चादेखि नै बोलेको भएकाले सजिलो लाग्छ । यो बिर्सनु हँुदैन । अर्काे सबैले बोल्ने बुझ्ने राष्ट्रिय भाषा पनि बोल्नुपर्छ । 

अहिलेको २१औँ शताब्दीमा यी दुई भाषाले मात्र पुग्दैन । अन्तर्राष्ट्रिय क्षेत्रका व्यक्तिहरुसँग पनि भेटघाट, घुलमिल गर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय भाषा भनेको अङ्ग्रेजी हो । यो भाषा पनि सिक्नुपर्छ । यी भाषाको ज्ञान भयो भने बाँच्न सजिलो हुन्छ । 


रक्सीले बगाएर लग्यो
मापसे नगरेको धेरै भयो । पहिले पहिले एक दुई प्याक खान्थेँ । त्यो समय मेरो साथीहरु सबै मापसे गर्थें । त्यतिबेला मेरा साथी द्वारिकालाल जोशी, सत्यमान राजभण्डारी, मदन परियार नारायण गोपाल लगायत थिए ।
ती सबैलाई रक्सीले बगाएर लग्यो । यसकारण पनि म सतर्क भएँ । रक्सी खाने साथीहरु रमाइला थिए । सधैँ हसाउँथे । व्यावहारिक, सहयोगी र आत्मीयसमेत थिए । मेरो राम्रा साथीहरु धेरैलाई रक्सीले बगाएको छ । त्यसकारण रक्सीबाट सतर्क छु म । 

देउराली डाँडा नकाटेसम्म
गीत सङ्गीतले नै मैले पहिचान भएको हो । २०२२ सालमा रेडियो नेपालमा पहिलो चोटि गीत गाएको थिएँ । ०२३ मा स्वर परीक्षा पास गरेँ । २०२६ मा गायन प्रतिस्पर्धामा प्रथम भएँ । २०२८ सालमा आफैले एक संस्था खोलेर नेपाल भाषामा हाँस्यबेव्यङ्ग्यको आयोजना गरे । त्यसमा एक गीत नेवारी राखिएको थियो । जुन मैले गाएको थिएँ । यो गीतबाट नै मेरो नाम मदनकृष्ण भनेर नामकरण भयो ।
सो समय गाएको गीत नगेन्द्र हाडा दाइको सङ्गीतमा ‘देउराली डाँडा नकाटेसम्म’ बोलको  थियो ।

त्यसैले गीतसङ्गीत मन नपर्ने भन्ने छैन । साहित्यिक, गहिरो, व्यावहारिक र वास्तिविक शब्दले भरिएको गीतसङ्गीत मनपर्छ । हामी गीत सङ्गीतको स्वर्णिम युगमा जन्मिएका पनि हौँ ।   यस हिसाबले हामी भाग्यमानी पनि भनौँ । अहिले पनि पुराना गायक गायिकाको गीत सबै मनपर्छ, सुन्छु । पहिलेका गायक गायिकाले सङ्गीत र गीतमा धेरै दिएका छन् । उनीहरुले यसमा धेरै समय दिन्थे । कुरा थोरै गर्थे । अहिले कुरा धेरै गर्छन् । गीत सङ्गीतमा समय थोरै दिन्छन् । अहिले गीतसङ्गीतमा जो पनि भित्रिएका छन् । त्यसैले पनि न त गीत वजनदार छ न सङ्गीतमा मज्जा नै ।

मनमा दुःख लाग्छ
केही पाउन केही गुमाउनुपर्छ । कलाकारितामा लागेर केही गुमाइयो होला तर यति धेरै पाइयो कि गुमाएको महसुस नै हुँदैन । कलाकारितामा लागेर परिवारलाई समय दिन पाइएन ।

आफन्तबाट टाढा भएर बस्नुपर्यो । आफन्त, नातेदारलाई गाह्रो साह्रो पर्दा मानसिकलगायत कुनै रूपमा सहयोग, सपोर्ट गर्न सकिएन ।  यसकारण कतिले बढेको भने होलान् । कतिले नराम्रो लिए पनि होलान् । त्यो सम्झँदा मनमा दुःख लाग्छ ।

उनको यादमा आँसु बरर
मैले प्रेमविवाह गरेको हो । यशोदा सुवेदीसँग २०३० सालमा प्रेम विवाह भएको थियो । उनीसँग पहिलो पटक ०२६ मा भेट भयो । ०२७ बाट हामीसँगै हिँड्न थालेका थियौँ । करिब ४ वर्षको सामीप्यताले हामीमा प्रेम बस्यो । हामीले विवाह पनि गर्यौँ । हामीसँगै जागिर गथ्र्यौं । उनलाई पहिलो प्रेम प्रस्ताव मैले राखेको थिएँ । 

विवाहपछि हामी ४८ वर्षसँगै बस्यौँ । अहिले भने उनले एक्लै बनाएर सदासदाका लागि गइन् । यो मेरो जीवन अहिले एक्लो छ । उनको सम्झनाको के कुरो गर्नु कति कति, आँसु त्यसै बरर ।

विवाहको समय म कुनै सम्पन्न थिइनँ । उनले मलाई पैसा हेरेर मन पराएकी पनि होइनन् । हामीले अन्तरजातीय विवाह गरेका थियौँ । उनी सुवेदीको छोरी, म श्रेष्ठको छोरो । हाम्रो कल्चर पनि मिल्दैन थियो । यो कारणले घरपरिवारसँग पनि धेरै सङ्घर्ष नै गर्नुपर्यो । मिलेर सङ्घर्ष गर्दै सबै सहज बनायौ । श्रीमतीको मलाई ठूलो साथ र सपोर्ट थियो । अहिले उनी नहुँदा गीत लेख्छु ।

रातैभरि तिमीसँग मैले कुरा गरेको गरेकै थिएँ 
सँगसँगै हिँडौँ भन्दै थियौ किनकि म अलि पर थिएँ 
बिउँझेर हेर्दा पो चालभयो सपना रहेछ पो त्यो 
मिठो सपना रहेछ त्यो
भित्तामा हेर्दा मज्जाले तिमी हाँसिरहेकी देखेँ
जता म जान्थेँ उतैउतै मलाई हेरिरहेको देखेँ दोर्याई हेर्दा पो चालपाएँ तस्बिर रहेछ त्यो । 
उनको सम्झना कहिले आँखाबाट झार्छु, कहिले कलमबाट पोख्छु ।

रोगलाई इग्नोर
प्रेसर, पार्किन्सन्, पायल्स र प्रोस्टेड अर्थात ४पी र कन्स्टिपेसनको समस्या छ । नियमित औषधि सेवन, एक्सरसाइज र खानेकुरा याद गरेर यी रोगलाई इग्नोर गर्दै हिँडिरहेको छु ।

भूल थुप्रै भए
भूल थुप्रै भए होलान् । भूल गरेको पनि छु । यो कुरो मैले किताबमा पनि उल्लेख गरेको छु । गर्न नहुने काम पनि गरेको छु । सुनेको र पढेको आधारमा भन्ने हो भने भूलबाट डराउनुपर्दैन रे । भूलबाट सहीबाटो कुन हो भनेर पहिल्याउन सजिलो हुन्छ रे । पापबाट पनि नडरानु भन्छन् । यसबाट पुण्य के हो थाहा हुन्छ रे । 

तर अहङ्कार हँुनुहँुदैन । अहङ्कार भए केही देखिँदैन । योबाट बच्न र यसलाई जित्न सक्नुपर्छ । ‘महको म’ किताब लेख्दा पनि मैले अहङ्कार पोखियोकी, अहङ्कार पर्छ कि भनेर धेरै ख्याल गरेको थिएँ । 

मेरो राशि ‘बृष’
मेरो राशि ‘बृष’ हो । ग्रहदशा हेराउने गरेको छैन । कहिलेकाहीँ राशिफल हेर्छु । मिलिरहेको पनि हुन्छ । कहिलेकाहीँ मिल्दैन पनि । मन्दिर कहिलेकाही जान्छु । पूजापाठ पनि गर्छु । सधैँ गर्दिन र भ्याउदिनँ पनि । जरुरी लाग्दैन ।

ईश्वरप्रति आस्था छ । यो भन्दैमा दिनको दिन पूजा गरेर देउता खुसी हुने पनि होइन । 

पूजा नगर्दा देउता रिसाउँछन्, उनले गाली गछनर््, पिट्छन् भन्ने पनि लाग्दैन । यस विषयमा मैले एक गीत लखेको छु ।

मनमा पापको प पनि भगवान मलाई नै देऊ 
अपार मनको हे सृष्टिकर्ता कुमती मलाई नै देऊ
यो आयु तिमीले दिएको जीवन तिमी नै फिर्ता लेऊ 
तिमीले दिएको आँखाबाट तिम्रो सृष्टि चाखिरहेको छु 
तिमीले नै दिएको दिमाग हो यो, तर तिमीलाई बिर्सिरहेछु
स्वर्थको आधा स पनि भगवान मलाई नै देऊ 
मानव दिमागको हे सृष्टिकर्ता कुबुद्धि मलाई नै देऊ 
यो आयु तिमीले दिएको जीवन तिमी नै फिर्ता लेऊ । 

सपना करिब पूरा भयो
लामो समयदेखि कला क्षेत्रमा छु । अझै यो क्षेत्रमा राम्रो गर्न सकियोस् भन्ने लागेको छ । धेरै मानिसलाई मनोरन्जन दिन सकियोस् भन्ने पहिले मनमा थियो । त्यो केही हदसम्म प्राप्त भएको छ भन्ने लाग्छ ।
अहिले अन्तर्राष्ट्रिय रूपमा अझ व्यापक हुन पाए पनि हुन्थ्यो भन्ने सपना आउँछ । केही हदसम्म त्यो सपना पनि पूरा भएको छ । धेरै देशमा  गइयो । आफ्नो भाषाले गरेर केही सीमित हुनु पनि पर्यो । जति पाएँ त्यसमा सन्तुष्टि नै छ । 

मृत्यु नजिकबाट हेरियो
मृत्यु प्राकृतिको एउटा नियम हो । मृत्यु नजिकबाट पनि हेरियो । आफ्नै शरीरबाट नभए पनि श्रीमतीको शरीरबाट देखियो । एकदमै मायाको पहाड, मायाको खानी, मायाको सागर श्रीमती भन्ने लाग्छ । उनले पाएको पीडाको आधी पीडा आफूले पनि महसुस गरेँ । ६ वर्ष त उनलाई बचाएकै हो मैले । आखिरमा क्यान्सरको अगाडि केही लागेन । उनको मृत्यु एसेप्ट गर्नु पर्यो । क्यान्सर रोगको पीडाको अगाडि मृत्यु पनि एउटा भगवानले बनाएको ठूलो औषधि रहेछ । 

मृत्यु पीडाबाट सदासदाका लागि मुक्त हुने एउटा ठूलो औषधि हो । यसलाई स्वीकार गर्न गाह्रो छ । तर स्वीकार गर्नै पर्छ । मृत्यु एउटा स्वाभाविक प्राकृतिको नियम हो ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...