केन्द्रीय संस्करण
भाषा

लेखक हुन इच्छा गर्नेले नेपाली शैली के हो, चिन्नुपर्छ : चूडामणि रेग्मी

‘नेपाली भाषा व्याकरण नजानी लेखक भएर डुक्रनेको सङ्ख्या पगितो छ’

person explore access_timeसाउन ४, २०७६ chat_bubble_outline2
मोहन दाहाल

रातोपाटी

चूडामणि रेग्मी १९९३ चैत २९ गते सङ्खुवासभाको वानामा जन्मिएका हुन् । उनी खिलेश्वरीदेवी र पीताम्बर रेग्मीका ११औँ सन्तानमध्ये कान्छा हुन् । रेग्मीको कर्मथलो भने झापा हो । उनकोे बसोबास झर्रो नेपाली घर चन्द्रगडीमा छ ।

चैनपुर कलेजबाट २०१७ सालबाट प्राध्यापन सुरु गरेका रेग्मीले २०२१ देखि २०५५ सम्म निरन्तर रूपमा मेची क्याम्पस भद्रपुरमा प्राध्यापन गरे । उनी सो क्याम्पसका संस्थापक प्राध्यापक पनि हुन् ।

२०१२ सालमा ‘पहिलो यात्रा’ कथा सङ्ग्रह प्रकाशित गरी नेपाली साहित्यको सार्वजनिक यात्रामा होमिएका रेग्मी २०१३ देखि वनारसबाट प्रकाशित हुने ‘छात्रदूत’ पत्रिकाको सम्पादन कार्यमा संलग्न रहेको पाइन्छ । जन सांस्कृतिक सभा, चैनपुरले पत्रिका प्रकाशनका लागि उलाई सम्पादक मण्डलको सदस्यका रुपमा छनोट गरेको भनाइ उनको छ । झर्रोवादको थालनी मानिने ‘नौलो पाइलो’ २०१३ चैनपुरको अवधारणा हो भनी दबी गर्ने उनी यो आन्दोलनमा निरन्तर आजपर्यन्त लागिरहेका छन् । यही आन्दोलनमा आधारित भएर विभिन्न विधाका गरी करिब २७ वटा पुस्तक प्रकाशित भएका छन् ।

उनका विभिन्न विधामा केन्द्रित रहेर प्रकाशित भएका कृतिहरुमा : पहिलो यात्रा, नेपाली कथासाहित्य, साधना, धुनमा धुन, भुमरी, चाबी, घुमेका कुरा, गफडीका गफ, आँखा र मनका पाइलाहरू, बितेकाहरूको सम्झना, एउटा छाता दिनुहोला है, मनभित्र र बाहिर, भावना, गजवाष्टक, यक्षको पोखरा प्रवास, पारिजात : परिचय र मूल्याङ्कन, कृति र कृति २ भाग, बाइस समालोचना, चिन्तन र समालोचना,  भाषा : नेपाली टुक्काहरूको अध्ययन, नेपाली भाषा र व्याकरणका केही विषय केही छलफल, तत्सम शब्दको वर्ण विन्यास, अरे ! उदेक लाग्दा कुराहरू, व्यक्तित्व र कृतित्व, दृष्टि र सृष्टि छ्यास्मिस आदि छन् ।

नेपाली भाषा साहित्यमा आफ्नो जीवन समर्पण गरेका रेग्मी विभिन्न पुरस्कार तथा सम्मानबाट सम्मानित हुनु भएको छ । भवानी साहित्यिक पत्रकारिता पुरस्कार (२०४७), महानन्द पुरस्कार (२०४८), राष्ट्रिय प्रतिभा पुरस्कार (२०५३), गणेश दुवाल खिलकुमारी प्रतिभा पुरस्कार, प्रेस काउन्सिल पुरस्कार, भैरव पुरस्कार, त्रिवि दीर्घ सेवा पदक, शिक्षा दिवस पुरस्कार, मदन पुरस्कार स्वर्ण वर्ष सम्मान (२०६२), प्रज्ञा प्रतिष्ठान, काठमाडौँद्वारा रथारोहण (२०७२), भानु साहित्यिक प्रतिष्ठान,  काँकरभिट्टाद्वारा अभिनन्दन (२०७६) लगायत करिब ४० पुरस्कारबाट पुरस्कृत भएका छन् ।

साहित्यप्रति रुचि राख्ने सबैलाई प्रेरणा दिएर साहित्यकार बनाउन खोज्ने, नेपाली भाषालाई माया गर्ने एक सक्रिय साहित्यकार हुन् रेग्मी । प्रगतिशील विचारमा आस्था राख्ने रेग्मी पछिल्लो समय नेपाली भाषामा भएको विवादप्रति असन्तुष्ट छन् । भाषाको स्वतन्त्र बहाव र विकासलाई पछिल्लो समयको भाषिक आन्दोलनले छेक्ने कार्य भयो भन्ने  चूडामणि रेग्मीसँग नेपाली भाषामा भएका उतारचढाव 
प्रति केन्द्रित भएर मोहन दाहालले गरेको अन्तरङ्ग कुराकानी :

हिजोआज के कार्यमा व्यस्त हुनुहुन्छ ?

–लागेको बानी को छोड्न सक्छ ? भन्ने उखान छ । साहित्यिक गतिविधिमा कुद्न नसके पनि, पत्रिका प्रकाशनका काम छाडे पनि र एकदम तेजिलो जस्तो गतिमा पुस्तक प्रकाशनबाट पन्छिए पनि र लगभग कोठे नै भए पनि व्यस्त हो कि अस्तव्यस्त भएकै देखिन्छु । मैले आफ्नो २५ औँ प्रकाशन दृष्टि पनि सृष्टि पनि (२०६९) पछि विश्रामको मनस्थिति बनाए पनि त्यसपछि पनि आफ्ना दुई पुस्तक प्रकाशन गरेँ । १. समालोचनाको बटुलो (२०७३) र २. अध्ययन र आँखा (२०७५) ।

लेख्ने दौडाइमा शिथिलता आए पनि बेलाबेला केही न केही त लेखिरहेको छु । केही गोष्ठीमा घिस्रिएर भाग पनि लिएको छु । वास्तविक व्यस्तता नजानेर पनि कम्प्युटर चलाएर केही न केही साहित्यिक गतिविधि गरेको देखिएको छ । नठग्ने भाषामा भन्दा म व्यस्त छुइनँ पो भन्नु पर्छ कि ?

२० वर्षको उमेरदेखि नै नेपाली भाषा साहित्यमा लाग्नुभएको, करिब आधा दशकभन्दा बढी यसमै समर्पित हुनुहुन्छ । आफैैलाई गर्व महसुस हुने कार्य के–के गर्नु भएछ ?

–२०१२ सालमा नजान्ने लठुवा कथाकार भई पाँच कथाको वटुलो ‘पहिलो यात्रा’ छापिएपछि म लेखकका रूपमा आजसम्म छु । यसलाई आधार मान्दा मेरो लेखन्ते जीवनले ६० वर्ष नाघे छ । २०१३ देखि नै सम्पादन थालेको हुँदा सम्पादक भएको पनि त्यति नै समय वित्यो भन्दा अत्युक्ति हुन्न । अस्तिको दिन लोकगायक जीवन शर्माले लेखनाथ पुस्तकालयमा भन्नु भयो ‘म गायक जीवनबाट खुसी छु ।’ यसैगरी मलाई पनि साहित्यकार भएकामा खुसी नै लागेको छ । म पूर्व ६ नम्बर चैनपुर, वानाको साहित्यकार नै भएकाले तपाईंले पनि चिनेको अनुभव गर्दा प्रसन्न छु । म केही अरू जस्तो बढी बढी अरू स्वार्थ पूर्ति नहुँदा कराउने स्वभावको नभएबाट मैले असन्तुष्टि पालेको पनि छैन ।

*****

भद्रपुरको मेची बहुमुखी क्याम्पसको बौद्धिकताका साथै काँकरभिट्टा, सुरुङ्गा, धरमपुर, गौरादह, दमक, शनिश्चरे, विर्तामोड आदि ठाउँमा बसेका निकै नै सामाजिक, शैक्षिक व्यक्तिहरूका कारण झर्राेको विकासमा योगदान रह्यो । 

*****

झर्राेवाद भनेको के चाहिँ हो ? सबैले बुझ्ने भाषामा भनिदिनुस् न ?

–तपाईंको यो प्रश्नमा गौड गर्दा मलाई कुशल शब्दको सम्झना भयो । उहिल्यै कुशले घारी भएर मान्छेलाई दुःख दिने, त्यो बेलामा छिटो छिटो कुश काट्नेलाई कुशल भनिन्थ्यो । अहिले जे गर्न पनि सिपालुलाई कुशल भन्ने भएको छ । झर्राे छेत्री भनिँदो रहेछ, पहिले झर्राे शिरोमणि बालकृष्ण पोखरेलले अरूले नाबिटुलेको भाषालाई झर्राे भन्नुभयो । हिन्दीले, संस्कृतले र अङ्ग्र्रेजीले नकिचेको नेपाली भाषालाई झर्राे भन्नुभयो । उहाँले भनेको सिद्धान्त झर्राेवाद भयो । त्यो सिद्धान्त मान्नेलाई झर्राेवादी भनिन्छ । २०१३ को ६, ७ वर्ष पछिदेखि नै अब झर्राे लेखन, झर्राे शैली भन्ने बुझिन्छ । नेपाली प्रकृतिको बोलाइ र लेखाइ नै झर्राे हो ।

यस आन्दोलनमा योगदान दिने प्रमुख सहयात्री कोको थिए, सम्झना छ ?

–झर्रोवादका मुख्य अनुयायी चार जना र एक म गरी ५ जना हौँ । ती ४ हुन्– १. बालकृष्ण पोखरेल २. कोषराज रेग्मी ३. बल्लभमणि दाहाल ४. तारानाथ शर्मा ।

झर्राेवादी आन्दोलनको सम्पादकबाट नाम झिकिएको तर पनि अहिले पाँचौँ स्थानमा तपाईंको नाम छ । खासमा तपाईंको नाम झिकेर ताना शर्मालाई हुल्नुपर्ने कारण के थियो ?

–जन सांस्कृतिक सभा, चैनपुरको पत्रिका हो– ‘नौलो पाइलो’ २०१३ । जन सांस्कृतिक सभाको बैठकले मलाई पनि सम्पादक बनाएको हो, तसर्थ म त्यसबाट झिकिएको होइन । सबैको सल्लाहले मैले तारानाथ शर्मालाई आफ्नो ठाउँमा सहर्ष राख्न स्वीकृति दिएको हुँ । उहाँ बाकृपो (बालकृष्ण पोखरेल) झैँ सुरुदेखि नै तिख्खर हुनुहुन्थ्यो । यो कुरा मिलाउने प्रखर प्रतिभा मेरो भानिज बल्लभमणि दाहाल र मलाई यसो गरौँ कान्छा ! भन्ने मेरो दाजु कोषराज रेग्मी– जन सांस्कृतिक सभाको महामन्त्री हुनुहुन्थ्यो ।

‘नौलो पाइलो’ २०१३ बनारसबाट नभई चैनपुरको अवधारणा हो भन्नुभएको छ तर धेरैले वनारस नै लेख्दै र पढ्दै आएका छन् नि, तपाईं त एक्लो वृहस्पति हुनुभयो नि ?

–प्रकाशक जन सांस्कृतिक सभा लेखिएकै छ । झुट्टा कुरा गर्ने एक लाख नै भए पनि झुट्टा नै हुन्छन् । अलमल्याउने, इतिहास खजमज्याउने त नेपालको एउटा प्रवृत्ति नै हो नि ! फेरि अर्काले भनेको आँखा चिम्लिएर सार्ने लेखकको सङ्ख्या निक्कै बढी छ । अरे बाबा ! हाम्रो चैनपुरको योगदान किन मास्न खोजेको हो ? म त छक्क पर्छु । २८ वर्षको उमेरमा वानाबाट म हिँडेको हुँ तर के म वानाको हुइनँ ?

झापाबाट नै झर्राेवाद हुर्काउन, बढाउन सकिन्छ भन्दै निरन्तर लागेको भन्नुभएको छ, झापामा त्यस्तो के छ, जो अरूतिर छैन ?

–सबैभन्दा पहिले झापाको कुरा गर्दा, म झापा आएका बेला यहाँ राम्रो काम गर्नेलाई प्रतिकूल वातावरण थिएन । मैले देख्दादेख्दै युद्ध स्तरमा यहाँका शिक्षा प्रेमीहरूले शिक्षाको नपत्याउँदो विकास गर्न योगदान दिनुभयो । यसैगरी, यहाँ पत्रकारितामा कम्मर कसाइ आयो भने पुस्तकालयको पनि अलि अलि विकास भयो । पहिले औल्याहा (औलो लाग्ने) यो ठाउँ विस्तारै औलो उखेलियो (उन्मूलन) पनि । स्वास्थ्य क्षेत्रमा पनि निक्कै वृद्धि भयो । राजनीतिका अनेक दल बढेझैँ साहित्यमा प्रगतिशील विचार, भोक आन्दोलन, लीला लेखन आदि विचार पलाए, हुर्किए । म आएपछि यो झर्राे आन्दोलनले उभ्याएका कुरा क्रमशः बढ्दै गए । विशेष गरी भद्रपुरको मेची बहुमुखी क्याम्पसको बौद्धिकताका साथै काँकरभिट्टा, सुरुङ्गा, धरमपुर, गौरादह, दमक, शनिश्चरे, विर्तामोड आदि ठाउँमा बसेका निकै नै सामाजिक, शैक्षिक व्यक्तिहरूका कारण झर्राेको विकासमा योगदान रह्यो । औपचारिक रूपमा आफ्नै प्रकारका झर्रा सम्पादक श्याम कृष्ण उपाध्यायको ‘युवक’ नाउँको साप्ताहिक निस्किन्थ्यो । सो साप्ताहिकको  २०२१ साल फागुनमा निस्केको विशेष अङ्कमा तारानाथ शर्मा (आफ्नो निजी कामले मेरो डेरामा केही दिन बस्नु हुँदा) को ‘छुट्टिन नसक्ने दुई मीत’ लेख र मेरो ‘धूला र शीत’का गीत निबन्धबाट नै झापामा औपचारिक झर्राे लेखनले प्रवेश पायो । त्यसपछि २०२३ र ०२४ मा नेपाली साहित्य परिषद्को वार्षिक मुखपत्रको सम्पादक मैले झर्राे विषयका धेरै लेख छापेर झर्राेवादी आन्दोलनको दोस्रो चरण नै प्रारम्भ भएको देखिन्छ । यसै समयमा झर्राे शैलीका गतिला लेखक मोराश (मोहनराज शर्मा) झापा ८ वर्ष जति प्राध्यापन गरी झापा बस्दा झर्राे जुरुक्क उठ्न सक्यो । यसमा पहिले मेरै सम्पादनमा निस्केको ‘युगज्ञान’ साप्ताहिक (२०२६–२०४८) को अभूतपूर्व जस्तो झर्राे उठाउने काम भएको धेरैले मानेको पाइन्छ । यसमा छापिएका र पछि मेरै सम्पादनमा छापिएका ‘जुही’ (२०३९) त्रैमासिक र ‘यथार्थ कुरा’ पाक्षिक २०६१ ले  झर्राेको धेरै ठूलो स्तर बढाएको छ । ‘जुही’ (२०३९–२०७०) ‘यथार्थ कुरा’ (२०५२–२०६२) प्रकाशन भएपछि यिनमा प्रकाशित वर्णविन्यासले झर्राेको अर्काे चरणमा पाइला हालेको चर्चा भएको छ ।

पछिल्लो समय नेपाली भाषा मानकीकरणका सम्बन्धमा धेरै विवादहरू आए, प्रज्ञा–प्रतिष्ठानले शब्दकोश नै खारेज गर्यो, यस्तो विवाद किन आयो ?

–‘जो हो नवर्षिने मेघ, उसैको हुन्छ घर्घर !’ भनेझैँ बन्दै गएको मानकीकरणका मुख्य आधार भत्काएर मुखले मात्र मानकीकरण गर्ने कुरा हल्ला मात्र हो । नेपालमा प्रज्ञा–प्रतिष्ठान, न्यायालयजस्ता अत्यन्त महत्त्वपूर्ण संस्था पूर्ण अधिकारयुक्त हुन समय लाग्छ । लोकतन्त्र आए पनि प्रजातन्त्र आउन समय लागेको देखिन्छ । छोटकरीमा भन्दा अहिले भाषिक क्षेत्र सङ्कटमा छ, ऊध्र्वाेन्मुखे होइन अधोमुखे छ ।

*****

काठमाडौँमा घर ठड्याउँदैमा र कुनै ठूलो पदमा दाइँ गर्दैमा कोही महान् हुँदैन । नेपालमा कति नेता थिए, ती, खोइ ? त्यस्तै कति कवि, कति प्रशासक थिए ? अब तिनको स्थिति के छ ? त्यो बुझ्ने कुरा छ । सङ्क्षेपमा, अबको जुगमा हरेक क्षेत्रमा विशेषज्ञ हुनु खाँचो छ । नेपाली लेखकले अङ्ग्रेजी, संस्कृत र हिन्दीको उल्था लेख्ने होइन । नेपाली शैलीमा मौलिक लेख्ने हो । मैले यसको नाउँ जुराएको छु –झर्राे शैली । 

*****

बालकृष्ण पोखरेललाई अलमल्याएर नयाँ शब्दकोश तयार पारे भन्ने आरोप लगाउनुभएको छ, अलमल्याएको पुष्टि गर्ने केही आधार छन्, कि यतिकै भन्नुभएको ?

–अलिकति त गुरु समान अग्रजको आदर गरेको हो । आफ्नो उल्टो बाटोतिर हिँडेका गुरु भीष्म पितामहको पाण्डवले गरेको आदर सम्झनु होस् ! यस्तै लामो जीवन संयमसित हिँडेका कमल दीक्षितले भाषामा उल्टो बाटो हिँडेको कुरा पनि छ भने झर्राेका स्तम्भ डा. तारानाथ शर्माको पनि छ । घरको मूली नै ‘घर भाँड’ हुँदाको वेदना यहाँ सम्झौँ । उल्टो बाटो हिँड्न थाल्दा कतिकति उल्टा काम भएको प्रमाण हामी राजनीतिमा देख्छौँ । सायद, भाषामा पनि त्यो रोग पस्यो कि ? लथालिङ्ग भयो । मानकीकरण त परै जाओस्, भएका उपलब्धि फेरि पाउन समय लाग्छ । विध्वंश भएको छ, पुनर्निर्माणको पो ठूलो खाँचो छ । तर यसो हेर्दा अब यो परिस्थिति निराशाजनक नै छ ।

नेपाली भाषामा एकरूपता ल्याउन कठिन हुनुको पछाडि केके कुराले अवरोध पुर्याएको छ भन्ने ठान्नुहुन्छ ?

– एकरूपता आकाशको फल आँखा तरी मर ! भएको छ । हामी नेपालीमा हाम्रो समुन्नतिका धेरै पक्ष उराल्नुपर्छ भन्ने सोच नै छैन अहिले पनि । पछि परेका तर यता अघि बढेका मुलुकले के गरी चारैतिर विकास गरे ! भनेर हेर्ने गतिलो चस्मा लगाएकाको राष्ट्रमा गतिलो बल पसिना लगाए पो गतिलो परिणाम पाइन्छ । हप्कीदप्की अथवा फुस्ल्याउने नीतिले वा ज्यादै करायो भने मुखमा बुजो कोच्ने प्रवृत्तिले देश पटक्कै देश बन्दैन । यस्तै लोसे हुतीहारा काइदाले देशका प्रमुख अङ्ग खुम्चिन्छन् । देश अघि बढ्छ भने पनि थोरैमा मात्र बढ्छ– उफ्रँदैन !

***

 

'झर्रोवाद भन्दैमा हामीले संस्कृतलाई छोड्ने भन्ने त होइन नि'

अहिलेसम्म नेपाली व्याकरण लेखनको परम्परा फोस्रो ढुटो मात्र हो : प्राडा माधवप्रसाद पोखरेल

नेपाली भाषाका भीष्मपितामह हुन् बालकृष्ण पोखरेल : चूडामणि रेग्मी

नेपाली भाषाको वर्णविन्यासमा शतप्रतिशत एकरूपता हुन सक्दैन : चूडामणि बन्धु

‘आस्थाको धरोहरमा कसैले बन्चरो हान्छ भने हरेक हृदयमा विस्फोट हुन्छ’

कुनै शासकले बन्दुक तेर्स्याएर ल्याउने कुरा होइन वर्णविन्यासमा एकरूपता : डा. बलदेव अधिकारी

***

वर्णविन्यासमा तपाईंका आफ्नै मान्यता छन् ? छन् भने कस्ता कस्ता छन् ? केही उदाहरण दिनुस् न ।

यहाँ म सप्पै सप्पै लेख्न असमर्थ छु । केही बुँदा मात्र लेख्छु–

– पहिले नयाँ वर्णविन्यासको नाउँ ‘प्रस्तावित नयाँ वर्ण विन्यास’ थियो ।

–जेजे कुरा छाड्नुपर्ने भयो, ती छाडेर पछि लेख्तै जाँदा २०६६ को चन्द्रगढी घोषणापत्र (२०६६) जस्ता केही भेलाको निर्णयपछि मात्र होइन नेपाल प्रज्ञा–प्रतिष्ठानको बृहत् नेपाली शाब्दकोशको सहयोग समेतका आधारमा लेखिने नयाँ वर्ण विन्यास तल लेखेका आधारमा लेखिन्छन् ।

– भरिसक्के शब्द छुट्याएर लेख्ने–

 जोड्ने

 विभक्ति जोड्ने– रामहरू, रामलाई रामले आदि ।

 दुई दुई शब्दका शब्द जोड्ने । साहुमारा, शिक्षानीति आदि यस्तै ।

–संस्कृतका लामा शब्द भरिसक्के अलग लेख्ने– परिवार नियोजन शाखा, त्रिभुवन विश्व विद्यालय, विज्ञान विभाग, कीर्तिपुर । मदन पुरस्कार गुठी, ललितपुर, परीक्षा नियन्त्रण कार्यालय । जनक शिक्षा सामग्री केन्द्र । पाठ्य पुस्तक बिक्रेता समूह आदि ।

–उकारान्त ह्रस्व र ईकारान्त दीर्घ प्रायः ।

साहु, सासु, आमाजु, फुपु, भिनाजु, सोलुखुम्बु, तिर्खालु, आदि ।

दिदी, बहिनी, साली, मादी, चौधरी, छेत्री जैसी आदि ।

– ङ् न.्, म.् को साटो शिरविन्दु नचलाउने–चङ्ख, सन्च, सम्म आदि ।

–तद्भव र आगन्तुक शब्दको हिज्जे नियम एउटा नै ढङ्गले लेख्ने

–मिठो, गरिब, तितो, इन्जिनियर, कानुन, सहर, दसैँ, स्कुल, अप्रेसन, कर्पाेरेसन, कम्युनिस्ट, अस्ट्रेलिया, रजिस्टार आदि ।

–शिरविन्दु र चन्द्रविन्दु– काठमाडौँ, अँगार, ल्वाँठ, लन्ठ, आँप आदि

–क्रियापदमा :

हुनु पर्ने, हुनु हुन्छ, हुनु होला, हुँदै छ, हुने छ, हुने छैन, भएको छ, खोक्तै हिँड्छ, खोक्तो छ, पर्दै छ, रहे छ, रहेन छ, जानु भएको, खानु भएको आदि ।

–फ्.याँक्, गर्,  काट्, क्.क, ख्.ख, ग्ग, घ्घ, ट्.टा, फ्.याँक, क्यावात, अड्.डा, धन्न, अड्यो, टुट्.टा, कुद्.यो गर्छ, गर्.यो ।

यस्ता शब्दहरूमा अखबारहरू नौलोतिर झुकेका छन् । विज्ञले मिलाउन सक्छन्, मिलाउँदा ।

–काम अनुसार माम देउ, तँ भन्दा म के कम, सखारै सखारै, जान्छु जान्छु इत्यादि छुट्याएर लेख्ने ।

–सङ्क्षेपमा परिवर्तनका रूपमा ओर्लिसकेको वर्णविन्यासलाई पुरानामा नै थुन्ने अभियान नै नयाँ वर्ण विन्यास मन नपराउनेको ढिप्पी हो । अरू उचालपछार म जान्दिनँ । त्यो मेरो विषय पनि होइन ।

नेपाली भाषासाहित्यमा कुन लेख, सिर्जनाबाट प्रवेश गर्नुभएको हो पछिल्लो कृति कुन हो ?

 –भाषिक लेखन वा भाषातिर झुकाउ भएको २०३० पछि नै बढी हो । २०१२ देखि नै साहित्यिक लेखन सुरु भएको हो । पहिले कथा लेख्थेँ । २०२१ पछि निबन्ध लेख्न थालेको हुँ । समालोचना २०१४ देखि लेख्न थालेको सम्झन्छुु । कविता पनि २०१३ देखि नै लेखेको हुँ; हास्यव्यङ्ग्य युगज्ञान साप्ताहिक (२०२६) निकाल्न थालेदेखि लेखेको हुँ । विभिन्न विधाका गरी मेरा जम्मा २७ वटा पुस्तक प्रकाशित छन् । २०५० देखि नयाँ वर्णविन्यासका आधारमा पुस्तक छापिएकाले मेरा पुस्तक व्यावसायिक नभएको पनि मलाई थाहा छ । यसो भएर पनि लाभभन्दा एक उपलब्धिको पक्षमा दृढ नै छु ।

झर्राेवाद सम्बन्धमा आउने पुस्ताका भाषासाहित्यमा समर्पितहरूलाई केही भन्न चाहनुहुन्छ ?

–म पहिले के भन्न रुचाउँछु भने लेखक हुन इच्छा गर्नेले नेपाली शैली के हो चिन्नुपर्छ । नेपाली भाषा नजानीकन गणेशका भरमा लेखक हुनु राम्रो होइन । यहाँ नेपाली भाषा व्याकरण नजानी लेखक भएर डुक्रनेको सङ्ख्या पगितो छ । यसो हुनुमा हाम्रो नेतृत्व पङ्क्ति नै फितलो हुनु हो । अघि माथि पनि भनेँ– योग्यलाई अघि नसारी राष्ट्र अघि बढ्दैन । कला, संस्कृति, साहित्य, भाषाका घाघडान विशेषज्ञकै बल पसिना खर्च नभई राष्ट्र सम्पन्न हुँदैन । काठमाडौँमा घर ठड्याउँदैमा र कुनै ठूलो पदमा दाइँ गर्दैमा कोही महान् हुँदैन । नेपालमा कति नेता थिए, ती, खोइ ? त्यस्तै कति कवि, कति प्रशासक थिए ? अब तिनको स्थिति के छ ? त्यो बुझ्ने कुरा छ । सङ्क्षेपमा, अबको जुगमा हरेक क्षेत्रमा विशेषज्ञ हुनु खाँचो छ । नेपाली लेखकले अङ्ग्रेजी, संस्कृत र हिन्दीको उल्था लेख्ने होइन । नेपाली शैलीमा मौलिक लेख्ने हो । मैले यसको नाउँ जुराएको छु –झर्राे शैली ।

(भद्रपुर नगरपालिका–१०, लेखनाथ चोक, चन्द्रगढी, झापा, २०७६ साउने सङ्क्रान्ति ।)

कमेन्ट

  1. July 20, 2019, 5:03 p.m. Ratan Chhetri
    राम्रो र ज्ञानवर्धक लेखको लागि धन्यवाद । तर धेरै कुरामा मेरो फरक विचार छ जस्तो कि यहाँले भन्नु भए जस्तो : साहु, सासु, आमाजु, फुपु, भिनाजु, सोलुखुम्बु, तिर्खालु, शब्दहरुलाई म हो भने यसरी लेख्छु - साहू, सासू, आमाजू , फुपू , भिनाजू । यसै गरी - मिठो, गरिब, तितो, इन्जिनियर, कानुन, सहर, दसैँ, स्कुल, अप्रेसन, कर्पाेरेसन, कम्युनिस्ट, अस्ट्रेलिया, रजिस्टार आदिलाइ म यसरी शुद्ध ठान्छु - मीठो, गरीब, तीतो, कानून, शहर, अष्ट्रेलिया, रजिष्ट्रार । यी शब्दहरु हिन्दीमा शुद्ध रुपमा उच्चारण हुन्छ्न, नेपालमा भने "तेस्तै सुनियो भने भैगो नि" भन्ने परिपाटी छ । भाषामा एकरुपता ल्याउन पारसमणि प्रधानले जत्ति अरु कुनै साहित्यकारले प्रयास गरेको मलाइ लागेन । शैलीले मात्र भएन, शब्दहरु पनि सक्कलीरुपमा लेखिनु पर्छ भन्ने मेरो भनाइ हो ।
  2.  0 Reply
  3. July 20, 2019, 12:07 p.m. मणि कमल छेत्री
    अति सुन्दर महान साहित्यकार चुडामणि जी को ठूलो योगदान रहेको छ नेपाली साहित्य, भाषा प्रति ।उनले हाम्रो समाजलाई धेरै कुराहरू विनु भरेका छन् ।उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दछु ।
  4.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...