बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

गाउँदेखि जिल्ला तहसम्मका नेता कार्यकर्तालाई खट्न देउवाको निर्देशन

शुक्रबार, ०३ साउन २०७६, २२ : ३४
शुक्रबार, ०३ साउन २०७६

सिरहा-नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले डुबानबाट प्रभावित सिरहाका विभिन्न बस्तीको आज स्थलगत निरीक्षण गरेका छन् । पूर्वप्रधानमन्त्री देउवाले कमला नदीको बाढीका कारण डुबानमा परेको सिरहा नगरपालिका–६ बसबिट्टा र  सारस्वर, सिरहाकै कल्याणपुर नगरपालिकास्थित इटारी प्रसाहीलगायत बस्तीको निरीक्षण गरे । 

पीडितको अवस्था बुझ्न यहाँ आएका सभापति देउवाले बाढीपीडितको दुखेसो सुनेपछि डुबान प्रभावितको अवस्थाले आफूलाई दुःखित तुल्याएको प्रतिक्रिया दिए । उनले तत्काल बाढी प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरे । आफू विपद् क्षेत्रको निरीक्षण र पीडितको अवस्था बुझ्न आएको बताउँदै उनले बाढी प्रभावितको उद्धार तथा राहत वितरण गर्न आफ्नो पार्टीले सक्दो सहयोग गर्ने आश्वासन दिए । 

पाँच दिनको तलब बाढीपीडितलाई  

सभापति देउवाले बाढीपीडितको राहतका लागि पार्टीका सांसदले पाँच दिनको तलब उपलब्ध गराउने बताए । सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीय संसद् र प्रदेशसभा सदस्यले आफ्नो तलब राहतस्वरुप बाढीपीडितलाई प्रदान गर्ने बताए। 

बाढीपीडितको सहयोगका लागि काङ्ग्रेसका गाउँदेखि जिल्ला तहसम्मका नेता कार्यकर्तालाई खट्न पनि उनले निर्देशन दिए । भारतसँग कूटनीतिक पहल गरी नदीमा तटबन्ध निर्माण गर्नुपर्ने सभापति देउवाको भनाइ थियो । कमला नदी नियन्त्रणका लागि बनाइएका बाँध कमजोर र पुराना भएकाले यसको निर्माणमा सरकार गम्भीर हुनुपर्ने उनले बताए । “बाँध निर्माणका क्रममा आर्थिक अनियमितता भएकाले यसको छानबिन गर्नुपर्छ, यसका लागि छुट्टै आयोग गठन गर्नुपर्छ”, देउवाले भने । उनले आजै कमला नदीको मूल बाँधका साथै सिरहा, कर्जन्हा,  कल्याणपुर र सुखीपुर नगरपालिकाका बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गरे । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप