शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सरकार–विप्लव वार्ताबारे विमर्श: दमन र शक्ति सञ्चयको आशंका !

शुक्रबार, ०३ साउन २०७६, १९ : ०९
शुक्रबार, ०३ साउन २०७६

काठमाडौं – यतिबेला सरकार र प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच वार्ताको चार्चा चलिरहेको छ । दुवै पक्षका केही नेताहरुबीच  अनौपचारिक वार्ता भएको पनि भनियो । तर बिहीबार वार्ताबारे सरकार र विप्लव समूहको आधिकारिक धारणा आएको छ । 

सरकारले विनासर्त विप्लव नेकपालाई वार्तामा बस्न तयार हुनुपर्ने भनेको छ । पछिल्लो समय चलेको वार्ता प्रंसगलाई विप्लव समूहले ‘बकवास’ भनेको छ  । र, कार्यकर्ता रिहा नगरिए वार्तामा नबस्ने बताइसकेको छ ।
यहि बीचमा केही वामपन्थी नेताहरुले सरकार र विप्लव नेतृत्वको नेकपाबीच कसरी सहमति हुनसक्छ र त्यसको मार्गचित्र कस्तो हुनुपर्छ भन्ने बारेमा बहस गरेका छन् । नेताहरुको अगुवाइमा शुक्रबार ‘सरकार र ‘विद्रोही’ नेकपा द्धन्द्ध, वार्ता र शान्तिपूर्ण समाधान बाटो’ विषयक अन्तरक्रिया कार्यक्रममा उनीहरुले दुईपक्षबीच साझा रोडम्याप के हुनसक्छ भन्ने बारेमा बहस गरे ।

पुष्पलाल अध्ययन समाज, जनवादी पार्टी नेपाल र राष्ट्रिय जागरण परिषद् नेपालले सयुक्त रुपमा राजाधानीमा कार्यक्रमको आयोजना गरेको कार्यक्रममा सत्तासीन नेकपाका स्थायी समिति सदस्य युवराज ज्ञवाली, नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल, परिपषद्का संयोजक साध्यबहादुर भण्डारी, समाजका अध्यक्ष लोककृष्ण भट्टराईलगायतले आफ्नो धारणा राखेका छन् ।

कसले के भने ?

परिषद्का संयोजक साध्यबहादुर भण्डारीले सरकार र विप्लव नेकपाबीच वार्ताको एजेण्डा के भन्ने कुरामा अलमल देखिएको बताएका छन् । दुबै पक्षले एक अर्काको विश्वास गर्ने वातावरण निर्माण भए मात्र वार्ताले औपचारिकता लिन सजिलो हुने उनको तर्क छ ।

 भण्डारीले भने, ‘केही दिन यता सरकार र विप्लव नेकपाबीच अनौपचारिक वार्ता भइरहेको समाचार आयो । यो सकारात्मक हो । तर यो सँगै केही आशंका पनि देखा परे । वाताका नाममा सरकार दमनको रणनीतिमा र विप्लव नेकपा शक्ति संञ्चयको रणनीतिमा त लागेको होइन भनेर प्रश्न उब्जेको छ ।’  

सरकारले विना सर्त बोलाउनुले वार्तको वातावरण विथोलिने उनले आशंका गरे । ‘तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीसँग वार्ता गर्दा तत्कालीन सरकारले निशर्त वार्तामा बोलाएको थिएन । तर वर्तमान सरकारले निसर्त बोलाएको छ । वार्ताको वातावरण विथोल्ने खतरा बढ्ने देखिन्छ ,’ भण्डारीले भने ।  

सरकारले हिटलर प्रवृति र विप्वव नेकपाले विध्वास गतिविध बन्द गरेर वार्तामा आउनुको विकल्प नरहेको उनको भनाइ छ । उनले यसमा सरकार जिम्मेवार नबने नेपालमा फेरि गृहयुद्ध हुने खतरा औंल्याए । यस्तै पुष्पलाल अध्ययन समाजका अध्यक्ष लोककृष्ण भट्राईले विप्लवसँग वार्ताका लागि प्रधानमन्त्री ओलीले स्वगीय गिरिजाप्रसाद कोइरालाको जस्तो छात्ति चौडा गर्नुपर्ने बताए । 

उनले भने, ‘हिजो तत्कालीन विद्रोही माओवादीसँग वार्ता गर्दा गिरिजाप्रसाद कोइरालाले कुन रणनीति अप्नाएका थिए । कति उदारता देखाएका थिए । कुनै पनि विद्रोही पार्टीसँग वार्ता गर्दा सरकार लचिलो हुनुपर्छ । ओलीको यस्तो पाराले वार्ता होइन थप युद्ध हुने संकेत देखापर्न थालेको छ ।’

पहिले विप्लव प्रचण्डकै कार्यकर्ता रहेको भन्दै भट्टराईले वार्ताका लागि प्रचण्ड नै अगाडि सर्नुपर्ने पनि बताए । नेकपा (क्रान्तिकारी माओवादी)का वरिष्ठ नेता सीपी गजुरेल प्रधानमन्त्री केपी ओलीको गरैजिम्मेवारीका कारण देशमा युद्धको भूमरीमा पर्ने खतरा बढ्दै गएको बताए । उनले भने, ‘दुई पक्षीबीच वार्ताको कुरा सुरु भएको भनिएको छ । वार्ता भएन भने देश युद्धमा जाने खतरा बढेको छ । अहिलेको अवस्था ओलीको गैर जिम्मेवारीपनका कारण भएको हो । देश युद्धमा फसे त्यसको जिम्मेवारी ओलीले लिनुपर्छ ।’

विप्लवमाथि प्रतिबन्ध लागाउने कुरा नै गलत भएको भन्दै प्रधानमन्त्री ओलीले  नागरिकको संवैधानिक अधिकारमा हस्तक्षप गरेको बताए । ‘काठमाडौंको नख्खुस्थिति एउटा एनसेल कम्पनीमा भएको बम विस्फोटका अधारमा विप्लव नेकपामाथि प्रतिबन्ध लगाइयो । एउटा घटना हुँदैमा राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन मिल्छ । प्रतिबन्ध लगाउन नमिल्ने कुरा संविधानमै उल्लेख छ ,’ उनले भने । सरकारले विप्लवलाई भूमिगत हुन बाध्य पारेको गजुरेलको तर्क छ । 

उनले भने,‘ सरकारले विप्लवलाई भूमिगत हुन बाध्य पारेको छ । विप्लव पनि के गरुन ? कि बादलको जस्तो कुनै पदको बागेर्निङ गरेर आत्मासर्मपण गर्नुपर्यो । होइन भने राजनीति गर्नन केही गर्ने पर्छनै ।’ सञ्चारमन्त्रीको अभिव्यक्तिले वार्ताको वातावरण भंग गराएको दाबी सरकार फाँसीवादको बाटोमा लागेको आरोप लगाए ।

‘ओली सरकारले युद्ध चाहेको छ । किन भने उसँग काम गर्ने ढंग छैन । त्यो हामी सबैले देखी सक्यौँ । आफ्नो कामको आलोचना गर्ने वा विरोध गर्नेलाई ठेगान लगाउन उसले युद्ध चाहेको छ । त्यसैले ओली सरकार विप्लवसँग वार्ता गर्न चाहेको छैन,’ गजुरेलको दाबी छ । ओली सरकारलाई हटाउन सडक आन्दोलन गर्न आवश्यक भएको उनको भनाई थियो । 

यता सत्तासीन नेकपाका स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले अहिले हिंसाको बाटो समात्नुको आवश्यकता र औचित्य नभएको तर्क गरे । उनले मुलक लोकतान्त्रिक प्रक्रियाबाट समाजवादी बाटोमा हिडेको भन्दै विप्लवलाई शान्तिपूर्ण राजनीतिमा आउनु आग्रह गरे । उनले भने, ‘मुलकले विश्वकै उत्कृष्ट संविधान पाएको छ । त्यहीअनुसार सरकार समाजवादी बाटोमा हिँडिरहेको छ । विप्लवजीलाई शान्तिपूर्ण राजनीतिमा आउनु आग्रह गर्छु । विप्लवजीले समातेको बाटो गलत छ । अहिले एजेण्डाहरु पनि केही छैन ।’

सरकारले विप्लव नेकपासँग अनौपचारिक वार्ता गरिरहेको जानकारी दिँदै ज्ञवालीले भने,‘ अब छिट्ट औपचारी वार्ता हुन्छ । सरकार प्रयासरत छ । सरकार सचेत पनि छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप