शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

धनगढी विस्फोट प्रकरणका प्रत्यक्षदर्शी भन्छन्, विस्फोटको आवाजसँगै ५ जना ढलिसकेछन् !

शुक्रबार, ०३ साउन २०७६, १७ : २५
शुक्रबार, ०३ साउन २०७६

-टंक कुँवर

धनगढी– बिहीबार बेलुका पौने ७ वजे ।  सुदूरपश्चिम प्रदेशको अस्थायी सदरमुकाम धनगढी उपमहानगरपालिका वडानम्बर ४ स्थित सहिदगेट नजिकैको निलम होटल । 

होटलमा दुइजना चिया खान बसिरहेका थिए । त्यतिकैमा मोटरसाइकलमा आएका अरुदुई जना अपरिचित व्यक्ति पनि होटलमा पस्छन् । उनीहरुले पछाडी झोला पनि बोकेका हुन्छन् । पसल बाहिरतर्फ सञ्चालक केशवराज पाण्डे चिया बनाउन थाल्छन् । 

तिनै अपरिचित व्यक्ति बाहिरतिर रहेको बेञ्चमा बस्छन् ।  उनीहरु बस्दा  झोेला भित्तामा ठोक्किन पुग्छ । त्यसपछि ठुलो बम बिष्फोटको आवाज आउँछ ।  ‘यो विस्फोटको आवाजसँगै ५ जना लडिसकेका हुन्छन्’ विस्फोट भएको होटल नजिकै किराना पसल चलाएर बसेका प्रेम बहादुर मौनीले घटनाबारे बताए । 

‘शुरुमा त हामीले ग्यास पड्कियो भनेर सोचेका थियौं । तर अपरिचित व्यक्तिले बोकेको झोलामा रहेको बम पड्किएको रहेछ’ उनले रातोपाटीसँग भने ।  ‘लगत्तै हामी जम्मा भयौ । घाइते ५ जनालाई बाहिर सडकमा तानेर नजिकैको माया मेट्रो अस्पतालमा पुर्यायौ । 

घाइतेमध्ये जयपृथ्वी नगरपालिका बझाङका राम सिंहको उपचारका क्रममा बिहीबारै मृत्यु भएको छ । सिंहसँगै आएका लक्ष्मण सेरेला माया मेट्रो अस्पतालमा उपचाररत छन् । ‘दुईमध्ये कसले झोला बोकेको थियो भन्ने कुरा पत्ता लगाउन सकेका छैनौ । सिंहसँगै आएका लक्ष्मण सेरेला उपचारमा छन्’ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्ष कुमार बस्नेतले भने ।  सेरेलाको प्रहरीले निगरानी गरिरहेका भन्दै उनको स्वास्थ्य स्थिति ठिक हुनासाथ सबै कुरा पत्ता लाग्ने बस्नेतले बताए ।

घटनास्थलबाट एक थान पेस्तोल, से ७ प ३१४४ नम्बरको चोरीको मोटरसाइकल, बम बनाउन काम लाग्ने टेस्टर र एक थान रिमोट हो या प्वाइन्टर (नाम थाहा नभएको) सामग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक बस्नेतले बताए । लक्ष्मण सेरेला पूर्व माओवादी लडाकु भएको र रामसिंह विप्लव माओवादीका सक्रिय कार्यकर्ता भएको पनि उनले बताए । 

‘आत्मरक्षाका लागि बम र पेस्तोल बाकेको भन्ने छ । तर आत्मरक्षाका लागि हो या अन्य कुनै प्रयोजनका लागि भन्ने अनुसन्धान गर्दैछौँ’ प्रहरी उपरीक्षक बस्नेतले बताए ।  घटनामा धनगढी उपमहानगरपालिका वडा नं. ३ निवासी निलम होटलका सञ्चालक केशवराज पाण्डेको टाउकोमा चोट लागेको छ । 

उनलाई शुक्रबार नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ । महेन्द्रनगर बेल्डाडीका सेरेलासहित धनगढी वडानम्बर ४ निवासी पशुपंक्षी व्यवसायी संघका अध्यक्ष समेत रहेका जितेन्द्र यादव तथा भारतीय नागरिक मोबिन खानको माया मेट्रो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनापछि जिल्ला प्रहरी कार्यालयले उच्च सुरक्षा सतर्कता अपनाएको छ । घटनापछि दुधको कन्टेनर, टिफिन बक्स लगायतका बस्तुहरु समेत चेकजाँच गर्न थलिएको प्रहरीको भनाई छ । 

‘हामी चिया खान बसिरहेका थियौ दुई जना अपरिचित व्यक्ति होटलमा आए र बेन्चमा बस्नासाथ विष्फोट भइहाल्यो । सवै बेहोस भयौ त्यसपछि के भएको हो भन्ने थाहा भएन’घाइते जितेन्द्र यादवले घटनाबारे स्मरण गरे । 
यादवले बिहीबारसम्म आफुलाई भेट्न सम्बन्धित निकायका कुनै पनि व्यक्ति नआएको गुनासो गरे । बिहीबार बेलुका भएको उक्त बम विस्फोट काण्डमा परेर मृत्यु भएका सिहलाई शुक्रबार विप्लव नेतृत्वको नेकपाले सहिद घोषणा गरेको छ । भने घाइतेलाई पार्टीले उपचार गर्ने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप