शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

काठमाडौँ महानगरको काइदा : विज्ञापन गर्ने, शुल्क उठाउने, परीक्षा लिने तर जागिर नदिने !

स्थगित भयो नतिजा प्रकाशन र नियुक्ति प्रक्रिया
शुक्रबार, ०३ साउन २०७६, ११ : १७
शुक्रबार, ०३ साउन २०७६

काठमाडौँ । महानगरपालिकाले गएको जेठ ८ गते गोरखापत्र दैनिक र आफ्नै वेभसाइटमा सूचना प्रकाशन गर्दै ४४ जना कर्मचारी आवश्यक रहेको भन्दै विज्ञापन गर्यो ।

महानगरको सूचना नम्बर १÷०७५–०७६ बाट स्वास्थ्य सेवाका ४० जना र ४ जना श्रेणीविहीन कार्यालय सहयोगी गरी ४४ जना कर्मचारी माग गरेको थियो । स्वास्थ्य समूहमध्ये मेडिकल अधिकृत १० जना, हेल्थ असिस्टेन्ट १० जना, स्टाफ नर्स १० जना, ल्याब टेक्निसियन १० जना गरी ४० जना कर्मचारीको माग गरेको थियो ।

२१ दिनको समय दिएर जेठ ८ गते गरिएको विज्ञापनमा सबै समूहमा गरी कुल १ हजार ५ सय ३९ जनाले आवेदन दिएका थिए ।

करार सेवाबाट पदपूर्ति गर्ने भए पनि नेपाल सरकारले तोकेको पूरै तलब पाउने भएपछि धेरै आवेदकले आवेदन दिएका थिए ।

आवेदन दिनका लागि मेडिकल अधिकृत अर्थात् एमबीबीएस डाक्टरले १ हजार रुपैयाँ तथा सहायक स्तर पाँचौँले ४ सय रुपैयाँ र कार्यालय सहयोगीले १ सय रुपैयाँ तिर्नुपर्ने थियो ।

सोही शुल्क र शर्तअनुसार मेडिकल अधिकृतमा १९ जना, हेल्थ असिस्टेन्टमा ३ सय ८९ जना, स्टाफ नर्समा ५ सय ७८ जना, ल्याब टेक्निसियनमा ३ सय ९ जना र कार्यालय सहयोगीमा २ सय ४४ जनाले आवेदन दिए ।

आवेदनबाट प्राप्त राजस्व हेर्ने हो भने मेडिकल अधिकृतका लागि १९ हजार, हेल्थ असिस्टेन्टका १ लाख ५५ हजार ६ सय, २ लाख ३१ हजार २ सय, ल्याब टेक्निसियनका लागि १ लाख २३ हजार ६ सय र कार्यालय सहयोगीका लागि २४ हजार ४ सय रुपैयाँ गरी कुल ५ लाख ५३ हजार ८ सय रुपैयाँ शुल्क काठमाडौँ महानगरपालिकाले परीक्षा तथा नतिजा प्रकाशनका लागि भन्दै उठायो ।

आवेदन आएपछि महानगरले असारको ६ गते आफ्नो वेभसाइट र सूचना पाटीमा सूचना प्रकाशन गरी असारको १३, १४, १५ र १६ गते विभिन्न विषयको लिखित परीक्षा सञ्चालन गर्ने बतायो । निर्धारित मितिमै लिखित परीक्षा दिनका लागि देशका सबै भूभागबाट आवेदकहरु काठमाडौँ आए ।

असारको १६ गते सबै सेवा समूहको परीक्षा सकियो । करिब एक सातामा नतिजा प्रकाशन गर्ने भने पनि परीक्षा सम्पन्न भएको १८ दिनसम्म पनि नतिजा प्रकाशन गरिएन ।

आवेदकले नतिजा कहिले प्रकाशन हुन्छ भनेर सोध्दा लोक सेवा आयोगले नै परीक्षा लिएको हुनाले उनीहरुले नतिजा दिएपछि प्रकाशन गरिन्छ भनियो । तर लामो समय बित्दा पनि नतिजा प्रकाशन भएन र आवेदकले सोध्दा पटक पटक लोक सेवाले नतिजा नदिएकाले प्रकाशन गर्न नसकिएको बताइयो ।

बिहीबार महानगरका प्रवक्ता ईश्वरमान डङ्गोललाई यसबारे के भएको हो भनेर सोध्दा सुरुमा उनले नगरसभाको बैठक बस्न नसकेकाले नतिजा प्रकाशन गर्न नसकिएको बताए ।

रातोपाटीले नगरसभाको वैठक बस्नै नसकेको कारणले मात्रै हो कि अन्य कारण पनि छन् भनेर सोध्दा उनले बजेट नभएकाले तत्कालै निर्णय नलिएको बताए ।

अघिल्ला वर्षहरुमा स्वास्थ्य मन्त्रालयले सहरी स्वास्थ्य क्लिनिक सञ्चालनका लागि भन्दै कर्मचारीका लागि बजेट छुट्याएको थियो । तर यस वर्षको बजेटमा मन्त्रालयले महानगरका लागि उक्त बजेट नदिएका कारण निर्णय गर्न नसकिएको कुरा स्वीकार गरे ।

‘हो, यस वर्ष स्वास्थ्य मन्त्रालयले हामीलाई बजेट दिएन । मन्त्रालयले बजेट नदिएपछि त्यसको भार कार्यपालिकालाई पर्ने भयो । त्यसकारण यस विषयमा निर्णय लिन नसकिएको हो’ प्रवक्ता डङ्गोलले रातोपाटीलाई बताए ।

मन्त्रालयले बजेट दिने नदिने थाहा नहुँदै किन विज्ञापन गरेर यति धेरै आवेदकको समय र पैसा खर्च गराएको त भन्ने रातोपाटीको प्रश्नमा यी विषयमा नगरसभामा छलफल हुने बताए ।

तर महानगरपालिका स्रोतले रातोपाटीलाई बताएअनुसार अब यो विज्ञापनको नतिजा प्रकाशन हुने सम्भावना करिबकरिब सकिएको छ । स्वास्थ्य मन्त्रालयले बजेट नपठाएको खण्डमा महानगरले त्यसको व्ययभार थेग्न नसक्ने भन्दै नतिजा प्रकाशन र नियुक्ति स्थगित गर्न खोजिएको छ ।

यद्यपि काठमाडौँ महानगरपालिकाले बजेट छुट्याइदिन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयलाई पत्र भने पठाएको छ ।

नतिजा प्रकाशन नभए क्षतिपूर्ति कसले दिन्छ ?

अहिले काठमाडौँ महानगरपालिकाले नतिजा प्रकाशन गर्न नसके वा स्थगित भए के गर्ने भन्ने कुनै पूर्वतयारीसमेत गरेको छैन ।

करार सेवामै भए पनि जागिर खानका लागि १ हजार ५ सय ३९ जनाले आवेदन दिए । काठमाडौँमा पूरा तलबमा जागिर खान पाइने आसमा झापादेखि सुदूरसम्मका आवेदकले आवेदन दिए ।

उदाहरणका लागि, कुनै व्यक्ति धरानबाट काठमाडौँ आएर आवेदन तथा परीक्षा दिएको छ भने उसको करिब ८ हजार रुपैयाँ खर्च भएको हुन्छ ।

धरानबाट काठमाडौैँ आउने बसको भाडा १ हजार ५ सय रुपैयाँ । बाटोमा खाजा तथा खाना खर्च एक हजार रुपैयाँ । काठमाडौँमा २ दिन बस्न कोठा र खाना करिब ४ हजार रुपैयाँ । अनि फेरि धरान फर्कन १ हजार ५ सय रुपैयाँ । त्यसबाहेक सहायक पाँचौँ तहको परीक्षा शुल्क ४ सय रुपैयाँ गरी एक आवेदकको करिब ७ हजार ५ सय रुपैयाँ खर्च भएको हुन्छ । अझ आवेदन दिनका लागि पनि आफै उपस्थित हुनुपरेको खण्डमा अर्को ५ हजार रुपैयाँ खर्च हुन्छ ।

तर महानगरपालिकाले मनोमानी विज्ञापन गरेर परीक्षा लिँदा १ हजार ५ सय जनाको समय र पैसा यसरी नै खर्च भएको छ । त्यसको क्षतिपूर्ति महानगरले तिर्न सक्छ ?

महानगरका प्रवक्ता ईश्वरमान डङ्गोल भने विज्ञापन स्थगित भएको खण्डमा पनि महानगरले आवेदकको समय र पैसाको सम्बोधन गर्ने बताएका छन् । रातोपाटीसँग कुरा गर्दै प्रवक्ता डङ्गोलले उनीहरुको सम्बोधन हुने बताए पनि परीक्षा शुल्कबापत लिएको रकम मात्रै फिर्ता गर्ने हो कि क्षतिपूर्ति पनि दिने हो भन्ने विषयमा भने केही बताएनन् ।

उनले भने ‘नतिजा स्थगित भइसकेको होइन । अहिले नै निरास हुने अवस्था छैन । हामी यसलाई सम्बोधन गर्ने प्रयत्न गरिरहेका छौँ । तर नतिजा प्रकाशन नभई विज्ञापन नै स्थगित गरिएको खण्डमा पनि हामी आवेदकलाई उचित सम्बोधन गर्नेछौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप