शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मुख्यमन्त्री राउत राहत वितरणमा सक्रिय

बिहीबार, ०२ साउन २०७६, १४ : ४४
बिहीबार, ०२ साउन २०७६

जनकपुरधाम– प्रदेश नम्बर २ मा असार मसान्तको काम समापन भएलगत्तै मुख्यमन्त्री लालबाबु राउत बाढीपीडित क्षेत्रमा गएर राहत वितरण कार्यक्रममा  जुटेका छन् । प्रदेशको सबैभन्दा बढी प्रभावित रौतहट जिल्लाका बाढी पीडितलाई उनले आज राहत समाग्री वितरण गरेका हुन् । 

गौरस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा मुख्यमन्त्री राउतले बाढी पीडितलाई खाद्यान्न, त्रिपाल, झुल लगायतको समाग्री वितरण गरे ।  प्रदेश सरकारले बाढी पीडितलाई राहत समाग्री वितरण गर्नमा सहयोग र त्यसको व्यवस्थापन गर्नको लागि  आफनो मन्त्री, सांसदहरुलाई समेत आ–आफनो क्षेत्रमा केन्द्रित हुन भनेका छन् । 

मुख्यमन्त्री राउतले बाढी पीडितलाई राहत वितरण गर्ने कार्यलाई तदारुकताका साथ अघि बढाउन सम्बन्धित सबैलाई यसअघि नै निर्देशन दिइसकेका छन् । मुख्यमन्त्री राउत आफैं राहत वितरणको अगुवाई गर्दै आज बिहानैदेखि रौतहटको विभिन्न स्थानमा बाढी प्रभावितलाई राहत वितरण गर्न सक्रिय भएका छन् ।  

राहत वितरण कार्यलाई तदारुकताका साथ अगाडी बढाउँदै प्रदेश सरकारले तत्कालै उपलब्ध गराएको दश–दश लाख रुपैयाँको राहत समाग्री वितरण गरिसकेको छ । बाढी पीडितलाई राहत वितरणको लागि प्रदेश सरकारले छुट्टाछुट्टै टोली बनाएर जिल्लाहरुमा परिचालन गरेको छ । 

प्रदेश सरकारले एक करोड ३५ लाख बराबरको राहत समाग्री रौतहट जिल्लाको बाढी पीडितलाई वितरण गर्न लागेको हो । २५ किलोग्राम चामल, चार किलोग्राम दाल, झुल, त्रिपालसहित दुई हजार पाँच सय ७५ रुपैयाँको समाग्री वितरण गर्न लागेको हो ।

तत्काल पाँच हजार बाढी पीडितलाई उक्त राहत समाग्री वितरण गर्न लागिएको हो ।  राहत वितरण कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव, भूमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झा लगायतकाहरुको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप