केन्द्रीय संस्करण

१ सय ५६ जना हजयात्रीलाई गृहमन्त्रीले गरे बिदाइ

person explore access_timeसाउन २, २०७६ chat_bubble_outline0

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापाले साउदी अरवको मक्कामदिनामा जाने हजयात्रीहरुलाई बिदाई गरेका छन् । बिहीबार बिहान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा हजयात्रा गर्न जाने १ सय ५६ जना हजयात्रीहरुलाई गृहमन्त्री थापाले बिदाई गरेका हुन् ।

पहिलो चरणमा जाने हजयात्रीहरुलाई विदाई गर्दै गृहमन्त्री थापाले मक्का मदिनामा गएर नेपालको समृद्धिको कामना गर्न पनि अपिल गरेका छन् । उनले धर्म निरपेक्ष राष्ट्र नेपालले सबै धर्मको सम्मान र संरक्षण गर्ने भएकाले हजयात्राका लागि पठाइएको स्पष्ट पारे । गृहमन्त्री थापाले हजयात्राको माध्यामबाट पनि नेपालको पहिचान  विश्वमा बढाउन सघाउ पुग्ने विश्वास पनि व्यक्त गरेका थिए । 

हजयात्रीहरुलाई विदाई गर्न परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईसहितको पनि उपस्थिति रहेको थियो ।

विगत ८ वर्षयता सरकारको व्यवस्थापनमा नेपालबाट पनि हज गर्न मक्कामदिना पठाउने गरिएको छ । यस वर्ष सरकारले साउदी अरेविया सरकारको आग्रहमा ३ सय जना थप गरी १ हजार ५ सय जनालाई हजयात्राका लागि पठाउने भएको छ । 

गृहमन्त्री थापाले यस वर्ष थप ३ सय गरी १ हजार ५ सय हजयात्राका लागि पठाउने र आगामी वर्षहरुमा हजयात्रीहरुको संख्या बढाउँदै लैजाने प्रतिवद्धता पनि व्यक्त गरे । गत वर्ष सरकारले १ हजार २ सय जनालाई हजयात्राका लागि मक्कामदिना पठाएको थियो । मुस्लिम समुदायको पवित्र तीर्थस्थलको रुपमा रहेको मक्कामदिनामा विश्वभरका मुस्लिम समुदाय हज गर्न जाने गर्दछन् । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...