शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाढीले बगाएका पतिको खोजी गरिदिन पत्नीको आग्रह

बिहीबार, ०२ साउन २०७६, १२ : १२
बिहीबार, ०२ साउन २०७६

खोलाले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) को खोजी गरिदिन परिवारले आग्रह गरेको छ ।

ज्यालादारीमा काम गरेर घर फर्किने क्रममा भद्रपुर र मेचीनगरको सीमामा पर्ने फुलबासाखोला पार गर्न खोज्दा गत असार २७ गते अति गरीब परिवारका सुफललाई बाढीले बगाएको थियो । झापामा असार अन्तिम साताको बाढीमा तीन बालबालिकाको मृत्यु भएको छ भने बेपत्ता हुने सुफल मात्र हुन् ।

बेपत्ता सुफलकी पत्नी तलामी हस्दाले प्रहरी चौकी चारआली र मेचीनगर नगरपालिका–१४ को कार्यालयमा खोजीकार्य गरिदिन निवेदन दिएकी छिन् । फुलबासाखोलाको डिलमा छाप्रे घर भएका सुफलको पत्नी, एक छोरी र दुई छोरा छन् ।

मेचीनगर–१४ का अध्यक्ष शङ्कर पोखरेलले गाउँले, आफन्त र प्रहरी मिलेर खोज्दा सुफलको सास वा लाश केही फेला नपरेको बताए । खोलाले बगाउँदै गरेको देख्नेहरु भएको हुँदा सुफल जीवित भेटिने आशा नभएको वडाध्यक्ष पोखरेल बताउँछन् ।

डेढ दशकअघि सवारी दुर्घटनामा परेर दाहिने खुट्टा गुमाएका सुफलले वैशाखी टेकेर हिँड्ने भएता पनि एक खुट्टाको भरमा दिनभर खेतमा आली लगाउने, बीउ काढ्ने, घर निर्माणमा इँटा सिमेन्ट जोड्नेलगायतका कृषि तथा निर्माण क्षेत्रमा मजदुरी गर्दै आएको छिमेकी ढेना बेस्रा बताउँछन् ।

 खोलाले बगाएको भोलिपल्ट घरैमा आएर नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले खोजविन गर्न रु दुई हजार नगद सहयोग दिएको बेपत्ता सुफलका वयोवद्ध बुबा चरण हस्दाले बताए ।

नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकालले प्रहरीले बेपत्ताको मुचुल्का प्रमाणित गरेर नगरपालिकाको प्रक्रिया पूरा भएपछि बेपत्ता परिवारले सरकारी राहत पाउने बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप