मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

जग्गा विवादमा सुरु भयो हिंसाः ३ महिलासमेत ९ को हत्या, दर्जनौं घाइते

बिहीबार, ०२ साउन २०७६, ०८ : ०८
बिहीबार, ०२ साउन २०७६

समीरात्मज मिश्र, बीबीसी

भारतको उत्तर प्रदेशको सोनभद्र जिल्लास्थित जग्गाको विवादमा तीन महिलासमेत ९ जनाको हत्या गरिएको छ भने करिब दुई दर्जन घाइते भएका छन् ।

मुख्यमन्त्री योगी आदित्यनागले वाराणसीको मण्डलायुक्त र एडीजीलाई घटनाको छानबिन गरेर २४ घण्टाभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको छ ।

सोनभद्रका पुलिस अधिक्षक सलमान ताज पाटिलले बीबीसीलाई भने, ‘घोरावल इलाकाका उम्भा गाउँमा प्रधान यज्ञदत भुर्कियांले दुई वर्ष अघि गाउँमा नै ९० बिघा जमिन खरिद गरेका थिए । बुधबार बिहान जमिन कब्जा गर्नका लागि प्रधान थुप्रै मानिस लिएर पुगे र ट्र्याक्टरबाट खेत जोत्न थाले जसको स्थानीयले विरोध गरे । यति नै बेला प्रधान पक्षधरले धारिलो हतियारले स्थानीयमाथि हमला गरे । केहीले गोलीसमेत हाने ।’

सलमानका अनुसार कूल ९ जनाको मृत्यु भएको छ जसमा तीन महिला पनि छन् । घाइतेलाई रोबर्ट्सगञ्जको जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।

पुलिसले पाँचजनालाई पक्राउ गरेको छ र अन्य थुप्रैको खोजी जारी छ । गाउँमा तनावको स्थितीपछि भारी संख्यामा पुलिस बल तैनाथ गरिएको छ । गाउँका प्रधान फरार छन् ।

हतियारसहित पुगेका थिए प्रधानः

स्थानीयका अनुसार प्रधान पक्षका मानिसहरु दर्जनौं ट्र्याक्टर र सयौं मानिसहरु लिएर बिहान नै विवादित जमिनमा पुगेका थिए । स्थानीयका अनुसार त्यहाँ पुगेका सबैले हतियार लिएका थिए ।

घटनाका प्रत्यक्षदर्शी सुरेश कुमारले फोनमा भने, ‘गाउँलेले जब कब्जाको विरोध गरे तब हतियारधारीहरु केही सेकेन्डभित्रै उनीहरुमाथि बर्सिए । हेर्दाहेर्दै थुप्रै मानिसहरु घाइते भएर लड्न थाले थुप्रै मारिए ।’

केही घाइतेको स्थिती गम्भीर छ । यसबारे जानकारी पाएपछि पुलिस र प्रशासनिक स्तरमा निकै खैलाबैला सुरु भयो ।

मुख्यमन्त्री योगी आदित्यनाथले सोनभद्रका जिल्लाधिकारीलाई घाइतेको तत्काल र समुचित चिकित्सकीय सुविधा उपलब्ध गराउन निर्देशन दिए ।

मुख्यमन्त्रीले डिजीपीलाई व्यक्तिगत रुपमा घटनाको निगरानी गर्न र दोषीलाई पक्राउ गर्नका लागि निकै प्रभावकारी कारवाही सुनिश्चित गर्ने निर्देशन पनि दिएका छन् ।

के हो विवाद ?

उभ्भा गाउँको बाहिरी इलाकामा सयौं बिघा खेत भएको बताइन्छ जसमा गाउँका केही मानिसहरुले पुस्तौंदेखि खेती गर्दै आइरहेका छन् ।

गाउँलेका अनुसार यो जमिनको एउटा ठूलो हिस्सा प्रधानको नाममा छ । स्थानीयबाट कब्जा हटाउने उद्देश्यले प्रधान सयौं मानिसहरु लिएर खेत जोत्न गएका थिए । जब स्थानीयले यसको विरोध गरे तब उनका पक्षधरले स्थानीयमाथि हमला गरे ।

जंगलले घेरिएको यो इलाकामा गोन्ड र गुर्जर आदिवासी बस्छन् र यहाँको धेरैजसो जमिन वनभूमि हो । वनभूमिमाथि कब्जाको विषयमा यो इलाकामा विवाद भइरहन्छ ।

यो घटनापछि राज्यको योगी सरकारमाथि विपक्षले हमला एवं विरोध गरेको छ । पूर्व मुख्यमन्त्री अखिलेश यादवले कानून व्यवस्थामाथि प्रश्न उठाउँदा मृतक परिवारलाई २०–२० लाख भारु दिन माग गरेका छन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप