बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

घाँस र बिरुवा विक्री गरेर लाखौं आम्दानी

बिहीबार, २६ साउन २०७४, १८ : ३७
बिहीबार, २६ साउन २०७४

किरण श्रेष्ठ 
तनहुँ  – घाँस र घाँसका बिरुवा विक्री गरेर तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ माथिल्लो गुणदीका ७० वर्षीय बामदेब खनालले लाखौं आम्दानी गर्न सफल भएका छन् ।

 विसं २०५४ साल देखि घाँस खेती गर्दै खनालले उन्नत र स्थानीय जातका घाँस र घाँसका बिरुवा बिक्री गरेर वार्षिक राम्रै आम्दानी गर्न सफल भएका हुन् । उनले डाले घाँस प्रतिकिलो रु ५ मा र बिरुवा रु १ देखि रु २५ सम्म बिक्री गर्ने किसिमका रहेका कृषक खनाल बताउँछन् । 

कृषक खनालले ८० रोपनी आफ्नै जग्गा र ४० रोपनी भाडामा लिएर ३२ जातका घाँस खेती गर्दै आएको बताए । डाले घाँस भुई घाँस दुई थरीका घाँस र विरुवा बिक्री गर्ने गरेका छन् । 
  राइखनियो, बडहर, निवारो, टाँकी, कोइरालो, भटमासे, किम्वु, बकाइनो लगायतका डाले घाँस र अष्टेलियन, बदाम, मलाटो, नेपियर, जयनभेज, उइनक्यासिमा, पासफलम, सुम्बासेटरी, गिन्नी, गहटेमाला लगायतका भूई घाँसखेतीबाट गत वर्ष २२ लाख रुपैयाँ सम्मको बिक्री गरेको कृषक खनाल बताउँछन् । 


 यस वर्ष घाँस र घाँसको विरुवा गरी करिब १३ लाख बरावरको बिक्री गरेको छु कृषक खनालले भने अझै मानिसहरु आउने क्रम जारी छ पछि सम्म कतिको कारोबार हुन्छ हेर्दै जाउँ । गतबर्ष कमाएको २२ लाख रुपैयाँले शुरुमा मुर्रा भैसी पाल्दा ऋण लागेर बेच्नु परेको ५ रोपनी जग्गा फिर्ता गरेर पनि नयाँ ३ रोपनी जग्गा थप्न सफल भएको उनी बताउछन् । आफुले १ लाखमा बेचे तर पछि त्यही आफ्नो जग्गा १५ लाख रुपैयाँमा किन्नु परेको तीतो अनुभव पनि कृषक खनाल संग छ । 
‘शुरुमा धेरै दुख गरे यत्तिको हुन सक्छु जस्तो लागेको थिएन तर परिश्रम गर्न सके सफल हुन सकिदो रहेछ , पैसा कमाउन थालेका ६÷७ बर्ष जति भयो ।’

 

‘एउटा गाईबाट शुरु गरेको हुँ हाल साना ठुला गरी २० वटा गाई छन् । कृषक खनालका तीन भाइ छोरा पनि यसै पेशामा आबद्ध हुदै आएको बताइएको छ । 
कृषक खनालले दाम मात्रै कमाएका छैनन् दामका साथ साथै नाम पनि उत्तिकै कमाउन सफल भएका छन् । जिल्ला स्थित राष्ट्रपति कृषक पुरस्कार देखि मन्त्री नरहरि आचार्य, महेश आचार्य समेतले सफल कृषकका रुपमा पुरस्कृत गरेको उनी बताउँछन् । 

 पृथ्वीराजमार्ग देखि करिव ५ सय मिटर लामो बाटो स्वयम कृषक खनालले ४ लाख रुपैयाँ खर्चेर खनेका छन् ।  कृषक खनालको घाँस खेती हेर्नका लागि पूर्व मेची देखि पश्चिम महाकालीसम्मका मानिसहरु आउने गरेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप