नारायणी पुल ठेक्का सम्बन्धमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षण
काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले नारायणी नदीमा पुल निर्माण कार्यको ठेक्का सम्वन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
रमण–पप्पु जे.भी.ले नारायणी नदीमा पुल निर्माण कार्यको ठेक्का एकतर्फी रुपमा कानून विपरित हुलाकी राजमार्ग निर्देशनालयले तोडेकोमा महासंघले ध्यानाकर्षण जनाएको हो ।
नेपाल सरकार, भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, हुलाकी राजमार्ग निर्देशनालय, टेकु , काठमाडौं र रमण–पप्पु जे.भीबीच नारायणी नदीमा पुल निर्माण गर्ने सम्बन्धमा मिति २०६९÷०३÷२५ मा ठेक्का सम्झौता भएको थियो ।
तर चितवन राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र निर्माण गर्नु पर्ने उक्त पुल सम्बन्धमा वातावरणीय प्रभाव मूल्याङ्कन समेत नभई सम्पूर्ण कार्य रोकिएको अवस्थामा छ । उक्त ठेक्का सम्झौताको प्रावधान बमोजिम दुवै पक्षको सहमतिमा मध्यस्थको प्रक्रियामा गई मध्यस्थले समेत निज जे. भी. को हकमा उपयुक्त निर्णय दिइसकेको अवस्थामा हाल निज जे.भी.का विरुद्घमा अन्यथा हुने गरी निर्णय गर्न मिल्ने अवस्था नदेखिएको जनाइएको छ ।
साईट क्लियर नै नभई ठेक्का सम्झौता गर्न गराउन नहुने कानूनी व्यवस्था विपरित ठेक्का सम्झौता गरी गराई हाल जबरजस्ती निर्माण व्यवसायीलाई काम गरेन भनी अन्यथा हुने गरी कारबाही गर्नु वा गर्न खोज्नु प्रचलित कानून विपरित भएको महासंघले विज्ञप्तीमार्फत जनाएको छ ।