यस्तो छ सौगातको ‘माछा माछा’ फष्टलुक
काठमाडौं– अभिनेत्री सौगात मल्ल अभिनित फिल्म ‘माछा–माछा’ कार्तिक २९ बाट प्रदर्शनमा आउने भएको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागि परेको संघर्षको कथामा निर्मित फिल्ममा सौगातसँगै विजय बराल र अनोज पाण्डेको समेत मुख्य भूमिका रहेको छ ।
सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको फिल्मको सार्वजनिक पोस्टरमा सौगात, विजय र अनोजको समूह र माओत्से गुरुङको समूह छुट्टाछुट्टै देखिएको छ । पोस्टरमा अभिनेत्री नम्रता श्रेष्ठलाई पनि स्थान दिइएको छ । मणिराम पोखरेल कार्यकारी निर्माता रहेको फिल्म प्रवीण खतिवडा, पुस्कर गुरुङ, कमलमणि नेपाल, भोलाराज सापकोटा, सरिता गिरी, धूर्व कोइराला, वसन्त भट्ट लगायतका कलाकारको पनि अभिनय छ ।
सिनेमा आर्ट र नौमती इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्ममा रामबाबु गुरुङ र दयाहाङ राईको लगानी छ । फिल्मको सहनिर्मातामा ओमचन्द्र रौनियार र अर्जुन कार्की छन् । फिल्ममा अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन, शिवराम श्रेष्ठको छायाँकन र निर्देशक गुरुङको लेखन छ ।