बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कर्णाली प्रदेश सरकार डोल्पा घटनामा केन्द्रित

मङ्गलबार, ३१ असार २०७६, १६ : ११
मङ्गलबार, ३१ असार २०७६

सुर्खेत– यही २९ गते मुड्केचुला गाउँपालिका–१ डोल्पामा आएको बाढीबाट मृत्यु भएका परिवारका लागि राहत र बेपत्ता भएकाहरुको उद्धारमा कर्णाली सरकार केन्द्रित भएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको अध्यक्षतामा आज बसेको प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको बैठकले मुड्केचुला गाउँपालिकाको कालिकास्थित औल गाउँका उच्च जोखिममा रहेका २९ घरका परिवारलाई तत्काल स्थानान्तरण गर्ने निर्णय गरेको छ ।

सोही दिन बाढीले बगाएका चार घरका परिवार, मृतक तथा बेपत्ता भएकाको परिवार र स्थानान्तरण गरिने परिवारका लागि आजै हेलिकोप्टरबाट खाद्यान्न, कपडालगायत राहत एवं उद्धारका सामग्री लिएर डोल्पा जाने कानूनमन्त्री भण्डारीले जानकारी दिए ।

‘हामीले यो प्रदेशका १० वटै जिल्लामा आइपर्ने सभावित विपद्को प्रतिकार्यका लागि सबै तयारी गरेका छौँ,’ उनले भने, ‘सडक अवरुद्ध हुन नदिन राष्ट्रिय राजमार्गका लागि डोजर, विपद्पछि उद्धारका लागि सबै क्षेत्रमा सुरक्षाकर्मी, डुबान क्षेत्रका लागि डुङ्गा, पीडितहरुको उपचारका लागि चिकित्सक र औषधि तथा खाद्यान्न तयारी अवस्थामा छन् ।’ यस कार्यमा सबै जिल्लाका प्रशासन तथा जिल्ला प्रहरी कार्यालय र सङ्घीय सरकार गृह मन्त्रालयसँग समन्वय गरेर अघि बढ्ने उनको भनाइ थियो । 

समितिको बैठकले नेपाल पत्रकार महासङ्घ, राष्ट्रिय समाचार समिति र अकोरावको सहयोगमा यो प्रदेशका १० जिल्ला र ७९ स्थानीय तहसम्म पुग्ने गरी नागरिकलाई सन्देश, सूचना र समाचार सम्प्रेषण गर्ने र प्रदेश विपद् व्यवस्थापन परिषद्ले सोमबार गरेका ११ वटा निर्णय कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

कानून मन्त्रालयका निमित्त सचिव विनोदकुमार गौतमले विपद्का लागि आवश्यक सामग्रीे तयारी भइरहेको बताए । उनले उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी, च्याम्बर अफ कमर्स, उद्योग वाणिज्य सङ्घलगायत निकायसँग पनि समन्वय गरी अघि काम गरिरहेकोे जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप