शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भोटे कुकुर: जसको मूल्य विश्वबजारमा १५ लाख अमेरिकी डलरसम्म्म पर्छ

मङ्गलबार, ३१ असार २०७६, १५ : ४९
मङ्गलबार, ३१ असार २०७६

-वासुदेव पौडेल

कास्की– सामान्यतः कुकुर घरको सुरक्षाका लागि पालिने जनावर हो । कतिपय मानिसमा घरको सुरक्षाबाहेक कुकुर पाल्ने अनौठो सौख पनि हुन्छ ।

कुकुरका विभिन्न प्रजातिमध्ये विशेषतः हिमाली भेगमा पाइने भोटे कुकुरले घरको सुरक्षामात्र नभई सयौँको बथान भेडाबाख्रालाई नियन्त्रण गर्छभन्दा जो कोहीलाई अनौठो लाग्न सक्छ । सयौँको सङ्ख्याका भेडाबाख्रालाई चराउन लैजानका लागि हिमाली क्षेत्रमा यो कुकुर वरदान नै सावित भएको छ । 

विश्वमा नै अन्य कुकुरभन्दा विशिष्ट स्वरको धनी मानिने भोटे कुकुर साहसीमात्र नभई इमान्दार मानिन्छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाले त्यही भोटे कुकुर संरक्षणका लागि समुदायलाई अभिप्रेरित गर्ने गरी प्रयास थालेको छ ।

लोप हुँदै गएको भोटे कुकुर संरक्षण गर्ने योजनालाई वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेको गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ मा सो कार्यका लागि रु दुई लाख विनियोजन गरेको छ । अन्तर्राष्ट्रिय रुपमा नै रुचाइएको भोटे कुकुर लोप हुन थालेपछि संरक्षण योजना अघि सारिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए ।

‘भोटे कुकुर विश्वमा नै लोकप्रीय कुकुर हो, यो विशेष गरी अन्नपूर्ण गाउँपालिकाको दाङ्सिङ र घान्द्रुकमा पाइन्छ,’ उनले भने, ‘शक्तिशाली, निडर एवं आज्ञाकारी गुणयुक्त यस कुकुरको बजारमा माग समेत अत्यधिक बढ्दै गएको छ ।’
    
नेपालको उत्तरी भूभाग, भारतको उत्तरी भूभाग, तिब्बत र मङ्गोलियामा पाइने यो जातको कुकुर ठूलो टाउको र अजङ्को जीउ हुने गरेको छ । यो रिसाहा र आक्रामक स्वभावको कुकुर पनि हो । अति इमान्दार र बफादार स्वभावको हुने भएकाले भोटेकुकुर विश्वमै विशिष्ट ठहरिएको कुकुर विशेषज्ञ बताउँछन् । युरोप र अमेरिकामा यो कुकुरको माग अत्यधिक हुन्छ तर, मागअनुसार पूर्ति भने हुन सकिरहेको छैन । 

नेपालबाहिर एउटै छाउरा÷छाउरीको कम्तीमा पनि एक हजार २०० अमेरिकी डलरमा किनबेच हुने यो कुकुरको विश्व बजारमा उच्चतम मूल्य १५ लाख अमेरिकी डलर रहेको बताइएको छ ।

अन्नपूर्ण गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रमका साथै बजेटमा संरक्षणको विषय उल्लेख गरेसँगै भोटेकुकुरले सञ्चारमाध्यममा चर्चा पाएपछि यसको माग अझै बढेको स्थानीयवासी बताउँछन् । सामान्यतः अन्य कुकुरले मासु खाने भए पनि यो कुकुरले भने मासु नभई कोदाको खोले खाने गरेको स्थानीयवासी बताउँछन् । 

बजार माग बढेसँगै सामुदायिक रुपमा नै भोटे कुकुरको उत्पादन बढाउने सोचका साथ समूहगत उत्पादनलाई प्रोत्साहित गरिने अधिकृत पौडेलले जानकारी दिए । यही साउन महिनादेखि नै उत्पादन केन्द्रित भई अनुदान सहयोग एवं प्रोत्साहनमूलक कार्यक्रम अघि बढाइने उनको भनाइ छ ।

पछिल्ला दिनमा अन्नपूर्ण क्षेत्रमा भोटे कुकुरका छाउरा रु ५० हजारदेखि एक लाखसम्ममा किन्ने गरी माग आउने गरेको पौडेलले जानकारी दिए । उत्पादन बढाएसँगै यसले स्थानीवासीको आयआर्जनमा समेत महत्वपूर्ण टेवा पु¥याउने विश्वास लिइएको छ ।

अन्नपूर्ण क्षेत्रमा पहिले पहिले ठूलो सङ्ख्यामा भोटे कुकुर पाइने गरे पनि पछिल्ला वर्षमा हराउँदै गएको गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले बताए । विशेष गरी लेकाली क्षेत्रमा भेडी गोठ एवं पशु चौपायाको संरक्षणका लागि पुस्तौँ अघिदेखि भोटे कुकुर पाल्ने गरिएको उनले जानकारी दिए ।

‘भोटे कुकुर सामान्यतः बाघ, चितुवालगायतका जङ्गली जनावरसँग पनि डराउँदैन’, उनले भने, ‘यिनै कुकुरले भेडी गोठमा पालिएका भेडा दिनभर खर्कमा र रातमा गोठमा हेरचाह गर्ने गर्दछन् ।’ शरीर पनि ठूलो हुने लडाकू स्वभावको भोटे कुकुरको जस्तो आवाज विश्वका अन्य कुनै पनि जातका कुकुरमा नपाइने बताइन्छ ।

अन्नपूर्ण गाउँपालिकामा पुख्र्यौली भेडापालन गर्दै आएका गुरुङले यी कुकुरले भेडी गोठमा जङ्गली जनावरका साथै अन्य बाहिरी व्यक्ति जो कोही आए पनि छिर्न नदिने गरेको अनुभव सुनाए । सामान्य तालीमका भरमा पनि ठूला जिम्मेवारी बहन गर्ने भएकाले भोटे कुकुरलाई बौद्धिक रुपमा पनि राम्रो मानिन्छ । हिमाली क्षेत्रमा अत्यधिक हिउँ परेका ठाउँमा समेत जान सक्ने यस कुकुरको संरक्षणलाई गाउँपालिकाले चासो दिनु आफैँमा महत्वपूर्ण कदम भएको उनले बताए ।

‘भोटे कुकुर अन्नपूर्ण क्षेत्रको विशिष्ट पहिचानका रुपमा रहेको छ’, अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले भने, ‘यसको संरक्षणमा स्थानीयवासीको जागरुकता अपरिहार्य छ ।’ 

भोटे कुकुर संरक्षण गर्न क्याम्पनै सञ्चालन गर्ने गाउँपालिकाको योजना छ । गाउँपालिका अध्यक्ष कुँवरले अन्तर्राष्ट्रियरुपमै लोकप्रिय भोटे कुकुर गाउँपालिकामा पनि घटिरहेको अवस्थामा आफूहरुले संरक्षण गर्ने नीति लिएको बताए ।  ‘गाउँपालिकाभरि अनुमानित १५० भोटे जातका कुकुर रहेको छ’, उनले भने, ‘नीति तथा कार्यक्रम नै समावेश गरेर अहिले ती कुकुरका अद्यावधिक लागतसमेत तयार पार्दैछौँ ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप