शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अब अष्ट्रेलियामा पनि गोल्डस्टार जुत्ताको स्टोर

मङ्गलबार, ३१ असार २०७६, १३ : ०२
मङ्गलबार, ३१ असार २०७६

सिड्नी । नेपाली ब्रान्ड गोल्डस्टार जुत्ताको स्टोर अष्ट्रेलियामा उद्घाटन गरिएको छ । नेपाली मूलका अस्ट्रेलियन युवा प्रमेज श्रेष्ठले नेपालीको बाक्लो बस्ती रहेको स्थानीय रक्डेल इलाकामा  स्टोरको उद्घाटन गरेका हुन् । प्रमेज  अष्ट्रेलियाको संघीय संसदको गत चुनावमा उम्मेदवार बनेका थिए ।  यो उनको निर्वाचन क्षेत्र पनि हो । 

सो अवसरमा पहिलो पुस्ताका  नेपाली अस्ट्रेलियन डा नारायण प्रधानले  चालिस वर्षअघि अर्को नेपाली भेट्न आफूलाई दुई वर्ष लागेको पुरानो स्मरण गर्दै अहिले यहाँ नेपालीको संख्या र व्यापार दुबैबढेकोमा खुशी व्यक्त गरे  । 

 अर्डर अफ अस्ट्रेलिया पाउने पहिलो नेपाली अस्ट्रेलियन इन्द्रा  बनले  विस्तारै यहाँ नेपालीहरु उच्च पदसम्म पुग्न थालेको बताइन् । 

गैरआवाशीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष नन्दु गुरुङले अस्ट्रेलियामा नेपाली उत्पादन आइपुग्नु खुशीको कुरा भन्दै सबै युवाले उद्यमशीलतामा ध्यान दिनु पर्ने बताए ।

 गैरआवाशीय नेपाली संघ अस्ट्रेलियामा सचिव देव गुरुङले नेपाली युवाहरुको उद्यमशीलता विकासमा  एनआरएनले सहयोग गर्ने बताए ।

गोर्खाज  हार्ली ग्रुप नामक अस्ट्रेलियाका  नेपाली मोटरसाइकल चालकहरुको टीमका सदस्य सहिल शाहीले नेपाली युवा हरेक क्षेत्रमा अघि बढिरहेकोमा गौरव गर्नु पर्ने बताए ।

 कार्यक्रममा अस्ट्रेलियन नेपाली पत्रकार संघले  अन्तरार्स्ट्रिय खेलकुद पत्रकार दिवस जुलाई २ को अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल खेलका सहभागी ५ जनालाई उपहार स्वरुप गोल्ड स्टार जुत्ता प्रदान गरिएको थियो ।

उद्घाटन कार्यक्रममा उपस्थित नेपाली तथा अस्ट्रेलियनहरुलाई धन्यबाद दिँदै गोल्ड स्टार अस्ट्रेलियाका डाइरेक्टरहरुका तर्फबाट प्रदीप शाह सुडीले नेपाली उद्योगलाई अन्तरार्स्ट्रिय बजारबाट उदाहरण सहित टेवा पुर्याउने आफूहरुको लक्ष्य रहेको बताए । 

उनले अगाडी भने, ‘अहिले हामीसँग महिला , पुरुष र बालबालिकाका लागि जम्मा २९.९९ अस्ट्रेलियन डलर देखि ५९.९९ अस्ट्रेलियन डलरसम्मका  विभिन्न साइज र स्टाइलका जुत्ता छन् । भविष्यमा  खेलाडीहरुलाई पनि लक्षित गरि स्पोर्ट्स सुज पनि आयात गरिने छ ।’

उनले समाज र हाम्रो मातृभूमि प्रतिको दायित्वलाइ समेत बुझेर  भिजिट नेपाल २०२० लाइ प्रवर्द्धन गर्न ‘हाइकिङ नेपाल अभियान’ पनि संचालन गर्ने बताए । 

उद्योग स्थापनाको झन्डै आधा सताब्दी र गोल्ड स्टार ब्राण्ड उत्पादनको तीन दसक पछि गोल्ड अस्ट्रेलिया आइपुगेको हो । 

नेपाल तथा भारतका करोडौ मानिसको जीवनशैलीसँग जोडिएको गोल्ड स्टार जुत्ता अब अस्ट्रलियाली जनताको पनि जीवन शैलीको एक अंग बनेको छ ।

नेपालमा करिब तीन हजार जनशक्तिले दैनिक ७५ हजार जोर गोल्ड स्टार जुत्ताको उत्पादन गर्ने गरेको कम्पनीले जनाएको छ।   अहिले झन्डै पच्चीस हजार जोर जुत्ता अस्ट्रेलिया ल्याइएको बताइएको छ । 
 यो हिसाबले नेपालको एक  हजार  जनशक्तिलाइ एक दिनको रोजगारी दिन अस्ट्रेलियामा खुलेको स्टोर सफल भएको छ । 

स्टोर संचालक प्रदीपले भन,  ‘गोल्ड स्टार जुत्ताको अस्ट्रेलियामा भविष्य गोल्डेन छ ।’

उद्घाटन सत्र सकिएपछि गोर्खाज हार्ली नामक नेपाली मोटरसाइकल चालकहरुको एक दर्जनको समूहले नेपाली राष्ट्रिय झण्डा र गोल्डस्टारका ब्यानरसहित रक्देल , कोग्रा , हर्श्भिल लगायतका स्थानहरुमा मोटरसाइकल र्याली गरेका थिए । गोल्ड स्टार अस्ट्रेलियाले शनिबार शोरूम उद्घाटन गरेपछि आइतबारदेखि आफ्नो अनलाइन बिक्री पनि सुरु गरेको छ ।

नेपालबाट गोल्डस्टारको कन्टेनर प्रशान्त महासागरको यात्रा पार गर्दै जुन १७ मा सिड्नी आइपुगेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप