मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीका पम्पहरुमा गुणस्तरीय डिजेल र पेट्रोल

मङ्गलबार, ३१ असार २०७६, १२ : १९
मङ्गलबार, ३१ असार २०७६

रुपन्देहीका पेट्रोल पम्पहरुमा गुणस्तरीय पेट्रोलियम पदार्थको बिक्री हुने गरेको पाइएको छ । विभिन्न कार्यालय तथा सङ्घसंस्थाले गरेको अनुगमनका क्रममा पम्पहरुमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको पाइएको हो । 

आइतबार र सोमबार अनुगमनपछि आज प्रतिवेदन सार्वजनिक गर्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराईले अनुगमन गरिएका सबै पेट्रोल पम्पमा डिजेल र पेट्रोलको नापतौल ठीक भएको जानकारी दिए ।

उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, वाणिज्य कार्यालय, नापतौल तथा गुणस्तर विभाग, आयल निगम, जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी र पत्रकार महासङ्घका प्रतिनिधिसहितको टोलीले गरेको अनुगमनका क्रममा रुपन्देहीका पेट्रोल पम्पमा गुणस्तर राम्रो भएको पाइएको हो ।
 
टोलीले रुपन्देहीको ओमसतीया गाउँपालिका–४ स्थित मोहित आयल फिलिङ सेन्टर र हरिकृष्ण आयल सप्लायर्स, सिद्धार्थ नगरपालिका–१ स्थित नवजीवन स्टोर्स, बुटवल रामनगरस्थित अशोका सप्लायर्स, श्री रिपुमर्दिनी पेट्रोल पम्प र बुटवलको नेपालगञ्ज रोडमा रहेको बुटवल डिजेल सेन्टरमा अनुगमन गरेको हो । 

नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेलका अनुसार प्रति पाँच लिटरमा जाँच गर्दा १५ मिलिलिटर कमी र २५ मिलिलिटर बढी हुनुलाई सामान्य मानिन्छ । यो भन्दा कम भएमा ठगी गरेको ठहरिने प्रमुख पोखरेलले बताए ।

अनुगमन गरिएका सबै पम्पमा डिजेल र पेट्रोलको नापतौल र गुणस्तर सही भएको आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवालीले बताए । “डिजेल र पेट्रोलको गुणस्तर ठीक छ तर पम्पहरुलाई अझै व्यवस्थित गर्न जरुरी छ”, उनले भने । 

पेट्रोल पम्पको गुणस्तर सही भए पनि अधिकांशमा सुरक्षा उपकरण भने नभएको पाइएको छ । सुरक्षाका हिसाबले अत्यन्तै संवेदनशील मानिने पेट्रोल पम्पमा विपद् वा आगलागीका घटनाबाट बच्न प्रयोग हुने सुरक्षा उपकरणहरु तयारी अवस्थामा राख्न निर्देशन दिइएको जिल्ला प्रशासन कार्यालयका अधिकृत झबिलाल भट्टराईले जानकारी दिए । 

“अधिकांश पेट्रोल पम्पमा सुरक्षा उपकरण नभएको पाइयो”, उनले भने । अनुगमन गरिएका पेट्रोल पम्पमा शौचालयको व्यवस्था भए पनि व्यवस्थित नभएको पाइएको छ । अधिकृत भट्टराईले लैङ्गिक र अपाङ्गमैत्री शौचालयको व्यवस्था गर्न निर्देशन दिइएको जानकारी दिए ।  

जिप्रकाका अधिकृत भट्टराई, नापतौल तथा गुणस्तर विभागका प्रमुख मनोजकुमार पोखरेल र कर्मचारी रमेशप्रसाद पाण्डे, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका नारायण भट्टराई र राजकुमार घिमिरे, आयल निगमका सहायक प्रबन्धक गोविन्दप्रसाद ज्ञवाली र केशवप्रसाद गौतम, वाणिज्य कार्यालयका मङ्गला शर्मा, नेपाल प्रहरीका एनबी थापालगायतको टोलीले पेट्रोल पम्पमा स्पष्ट देखिने गरी बोर्डको व्यवस्था गर्नसमेत निर्देशन दिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप