मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

निर्माणमा सेना : ‘ठेक्का’ कि राष्ट्रिय जिम्मेवारी ?

मङ्गलबार, ३१ असार २०७६, ०९ : ३०
मङ्गलबार, ३१ असार २०७६

धेरैलाई लाग्न सक्छ सेना भनेको देशको सुरक्षाको लागि मात्रै हो । सेनाको काम भनेको सीमामा सुरक्षा दिनेदेखि सार्वभौमसत्ता, अखण्डता र राष्ट्रियतको रक्षा गर्नु मात्रै हो ।

तर अहिले नेपाली सेना सीमा वा देशको सुरक्षामा मात्रै केन्द्रित छैन । विकास निर्माणको काममा पनि सेनाको सहभागिता उत्तिकै महत्त्वपूर्ण बन्न थालेको छ ।

नेपालको संविधान २०७२ को धारा २६७ को उपधारा ४ मा नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापनमा पनि लगाउन सक्नेछ भनी उल्लेख गरेको छ ।

उपधारा ४ मा यस्तो लेखिएको छ : ‘नेपाल सरकारले नेपाली सेनालाई सङ्घीय कानुन बमोजिम विकास निर्माण र विपद् व्यवस्थापन लगायतका अन्य कार्यमा समेत परिचालन गर्न सक्नेछ ।’

संविधानको यही धारामा टेकेर नेपाल सरकारले नेपाली सेनालाई विभिन्न काममा लगाउने गरेको छ ।

अहिले नेपाली सेनाले मुख्यतः ५ वटा सरकारी विकास निर्माणमा हात हालेको छ । १ सय ४५ किलोमिटरको कर्णाली करिडोर सडक, ८० किलोमिटरको कालीगण्डकी करिडोर सडक, १ सय १८ किलोमिटरको बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक, १ सय १८ किलोमिटरको जाजरकोट–डोल्पा सडक र ७२ दशमलब ५ किलोमिटरको काठमाडौँ–तराई द्रुतमार्गको निर्माण गरिरहेको छ ।

यसमध्ये जाजरकोट–डोल्पा सडकको काम करिब करिब पूरा भइसकेको छ र चाँडै नै नेपाल सरकारलाई हस्तान्तरण गर्ने तयारीसमेत गरेको छ ।

तर नेपाली सेनाले गर्दै आएको कामलाई कैयौँले आलोचनाको विषयसमेत बनाएका छन् । नेपाली सेना ठेक्कापट्टामा लीन रहेको र व्यापार गरिरहेको भन्दै आलोचना भइरहेको छ ।

नेपाली सेना आफ्नो मूलभूत कार्यभन्दा पनि व्यापार व्यवसायमा लागेकाले यसले पछि समस्या निम्त्याउने भन्दै आलोचना हुने गरेको छ ।

तर के नेपाली सेना साँच्चै ठेक्कापट्टामै लीन भएको हो त ? यस्तो छ अवस्था ।

नेपाली सेनाले विकास निर्माणको काम गर्नका लागि कहीँ पनि ठेक्का पाएको होइन । न त नेपाली सेनाले कहिल्यै ठेक्का पाउनका लागि टेन्डर हालेको छ । तर राज्यले दिएको जिम्मेवारी भने पूरा गर्नुपर्ने भन्दै नेपाली सेनाले विकास निर्माणमा पनि आफ्नो काम भने निरन्तर जारी राखेको छ ।

नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार नेपाली सेनाले कहीँ कहिल्यै पनि ठेक्कापट्टामा हात हालेको छैन । आफूहरुको मूलभूत चरित्र भनेको राष्ट्रियताको रक्षा तथा राष्ट्रिय सुरक्षा नै भएको पाण्डे बताउँछन् ।

तर संविधानमै व्यवस्था भएकाले सरकारले काम गर्दिनँ भन्न नमिल्ने भन्दै नेपाली सेनाले मन्त्रीपरिषद्बाट निर्णय भएर सरकारले दिएको विकास निर्माणको काम गरिरहेको सेनाका प्रवक्ता पाण्डे बताउँछन् ।

नेपाली सेनाले हाल विकास निर्माणका ५ वटा मुख्य मुख्य जिम्मेवारी पूरा गरिरहेको छ । नेपाल सरकारले जिम्मेवारी दिएर नेपाली सेनाले गरिरहेको विकास निर्माणको काम र त्यसको प्रगतिको फेहरिस्त यस्तो छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप