केन्द्रीय संस्करण

पोखरामा भ्वाङमाथि बिल्डिङ, हेरौं १० तस्विर

person explore access_timeअसार ३०, २०७६ chat_bubble_outline0

पोखरा– प्राकृतिक सम्पदामा धनी छ पोखरा । आँखै अघिका हिमाली दृश्य । मनै लोभ्याउने ताल, धार्मिक महत्व बोकेका मठ मन्दिर तथा गुफा । चारैतिर हरियाली डाँडापाखा पोखराका मुख्य आकर्षण हुन् । यिनै सुन्दरताले नै पोखरालाई पोखरा बनाएको छ । यिनै सुन्दरताले तानिएर वर्षेनी लाखौ स्वदेशी तथा विदेशी पर्यटक पोखरा ओइरिन्छन् ।

 पोखरेली पर्यटनको यस्तै मानकको रुपमा उभिएको सम्पदा हो ‘गुप्तेश्वर महादेव’ गुफा । वि.सं. २०५० मा फेला परेको यो गुफा पोखराको दक्षिण–पश्चिम भेग पोखरा १७, छोरेपाटनमा पर्छ । समुन्द्री सतहदेखि ८ सय मिटर उचाईंमा रहेको यो गुफा २९ सय ४९ मिटर लामो छ । 

दैनिक २ हजार पर्यटकले गुफाको अवलोकन गर्ने गरेको व्यवस्थापन समितिका उपाध्यक्ष ईश्वरीप्रसाद लम्सालले जानकारी दिए । उनका अनुसार चालू आर्थिक वर्षमा ३ लाख २७ हजार ८ सय ३५ नेपाली, १ लाख २५ हजार ६ सय १४ विद्यार्थी र २ लाख ९ हजार ३ सय ९४ विदेशी पर्यटकले गुफाको अवलोकन गरेका छन् ।

जसबाट समितिले वार्षिक ५ करोड बढी आम्दानी गरेको छ । ‘दैनिक २ हजार स्वदेशी तथा विदेशी पर्यटकले गुफाको अवलोकन गर्नुहुन्छ,’ उनले भने, ‘खासगरि साउन महिनाको पहिलो सोमबार एकदमै भिडभाड हुन्छ । अरु दिनमा पनि कम त हुँदैन, त्यै पनि त्यो दिनमा धेरै नै भिडभाड हुन्छ ।’

हिन्दु धर्मावलम्बिले विशेष आस्थाका रुपमा हेर्ने गरेको यो गुफाभित्र प्रवेश गरिसकेपछि ४० मिटरभित्र हिन्दु देवता शिव, पार्वती, नाग, गणेश र मुसासहितको शिला मुर्ति छन् । गुफामै भेटीएका ज्योतिष निरविक्रम पौडेलका अनुसार वि.सं. २०४९ पुस ९ गते साढे २ बजे राति महादेवले सपनामा आएर सो गुफाको बारेमा जानकारी दिएका थिए ।

‘राति साढे दुई बजे एउटा आवाज आयो,’ उनले भने, ‘मलाई चिनिस् भन्ने आवाज आयो । मैले चिनिन, आवाजले हामी ५ सय वर्षदेखि यो स्थानमा बस्दै आएका छौं, नागलाई हानेर मारिसकेपछि हाम्रो रक्षा गर्ने कोही भएनन् भोलिपल्ट तिमी आएर गुफाको प्रवेशद्वारमा नाग मारिएको थियो । त्यहाँ पुजा गर भनेर महादेवले भन्नुभयो ।’ उनका अनुसार सपनामा देखिसकेपछि अरु धार्मिक गुरुहरु समेतको संलग्नतामा अनुसन्धान गरेर गुफाको विकास सुरु भएको थियो । 

सोही मन्दिरदेखि १ सय मिटर भित्र छिरिसकेपछि डेभिजफल (पाताले छाँगो) देख्न सकिन्छ । डेभिजफलको उत्तरतर्फ १ किमी र दक्षिणतर्फ १÷१ किमीका दुई सुरुङमा विभाजन भई फुर्सेखोलामा मिसिएर दोभान बनेको छ । भू–गर्भविद्हरुको अनुमानअनुसार सम्भवतः यो गुफा दक्षिण एसियाकै सबैभन्दा लामो मध्येमा पर्छ । 

सन् १९७०, ८० र ८२ मा ‘ब्रिटिसकार्स रिसर्च केभ एक्सपिडिसन’ नामक ब्रिटिस संस्थाले गुफाको अनुसन्धान गरि ‘द एटलास ग्रेड केभ अफ वल्ड’ किताबमा समेत गुफालाई समावेश गरेको छ । प्राचिन भनाईअनुसार यो ठाउँ फड्केको खत्री तराका नामबाट पनि चिनिन्थ्यो । खत्री तरामा रहेको यस गुफाबाट पानीको बाफ समेत निस्किने र केही साहसिक युवाहरुले गुफाभित्र पसेर माछा निकाल्ने गरेको पनि प्राचिन भनाई छ ।

पोखराका प्राकृतिक सम्पदाबारे जति चर्चा हुन्छ । ती सम्पदाको संरक्षणबारे कमै चर्चा हुन्छ । पोखरेली पर्यटनको महत्वपूर्ण मानकको रुपमा उभिएको गुप्तेश्वर महादेवको हकमा पनि त्यही भएको छ । पोखरेली पर्यटनमा यति ठुलो महत्व राख्ने ‘गुप्तेश्वर महादेव’ गुफाको माथिपट्टि ठुलठुला भवन बनेका छन् ।

२ तलाभन्दा माथिको भवन बनाउन महानगरले रोक पनि लगाएको छ । तर, मापदण्ड बिपरित भौतिक संरचना निर्माण हुँदा समेत महानगर मौन छ । जसको असर गुफामा सोझै पर्नेगर्छ । जुन गुफा संरक्षणको हिसाबले उपयुक्त होइन । यसरि जथाभावी रुपमा भौतिक संरचना बिस्तार गर्दा गुफाको अस्तित्व नै संकटमा पर्ने सम्भावना छ । तर, सम्बन्धित निकायले भने यसतर्फ त्यति ध्यान दिएको देखिँदैन । 

सिद्धार्थ राजमार्गमा चल्ने गाडी पनि यही बाटो भएर चल्छन् । जसको कम्पन सडकबाटै महशुस गर्न सकिन्छ । त्यतिमात्रै होइन गुफा संरक्षण गर्न बनेको व्यवस्थापन समिति आफैंले क्याम्पस गुफाको साढे ६ रोपनी क्षेक्रफलमा क्याम्पस सञ्चालनमा ल्याएको छ । गुफाको प्रवेशद्वारमा ह्याभि स्टक्चर पनि थप गर्दै छ । सोही भवनमा ६ वटा सटर निकालेर व्यापारिक प्रयोजनका लागि दिइने समितिले जनाएको छ । गुफाको मुख्य प्रवेशद्वारदेखि गुफासम्म करिब ३० वटा व्यापारिक स्टल बनाएर पनि सञ्चालनमा छन् । जुन व्यक्तिगत स्वामित्वका जमिनमा बनेका हुन् ।

यसले गुफा व्यवस्थापन गर्न बनेको समिति नै गुफा जोखिममा पार्न लागि परेको देखिन्छ । व्यवस्थापन समितिका उपाध्यक्ष लम्साल वि.स. १९९० र ०७२ सालको भूकम्पले केही नभएको र आगामी दिनमा पनि केही नहुने दाबी गर्छन् । यद्यपि, पोखराकै जोखिमयुक्त ठाउँ मध्येमा सोही ठाउँ पनि पर्ने विज्ञहरु बताउँछन् ।

 पोखरा नगर विकास समितिको प्राविधिक प्रमुखको रुपमा लामो समय जिम्मेवारी सम्हालेका इन्जिनियर किसानसिंह गुरुङका अनुसार पोखराको जोखिमयुक्त ठाउँमध्येमा पाताले छाँगो र गुप्तेश्वर गुफा आसपासका जमिन पहिलो नम्बरमा पर्छन् । 

सन् १९९८ मा गरिएको भौगर्भिक अध्ययन अनुसार यि ठाउँहरु एकदमै जोखिमयुक्त ठाउँमध्येमा पर्ने उनले सुनाए । ‘पोखरा उपत्यकाका जोमिमयुक्त ठाउँमध्येमा यी दुई ठाउँ पहिलो नम्बरमा पर्ने सन् १९९८ को भौगर्भिक अध्ययन रिपोेर्टले पनि देखाएको छ,’ उनले भने, ‘यस्ता ठाउँमा भवन बनाउनु भनेको एकदमै जोखिम मोल्नु हो । गुफालाई पनि धरापमा पार्नु हो ।’

बेलैमा यसतर्फ ध्यान नदिए गुफाको अस्तित्व नै लोप भएर जाने उनको भनाई छ । ‘तपाईंहरुले आफैं पनि देख्न सक्नुहुन्छ, गुफाभित्रका चुन विस्तारै पग्लिएर झरेको देख्न सक्नुहुन्छ,’ उनले भने, ‘त्यति कमजोर छ त्यो भूगोल । त्यसमाथि भार थप्दै गई सकेपछि त त्यो स्वत कोल्याप्स भएर जाने खतरा हुन्छ ।’ गुफाको संरक्षणका लागि बेलैमा ध्यान दिनुपर्ने बेला भएको उनले सुनाए । 

यसरि विश्वकै अमुल्य निधिको रुपमा रहेको गुप्तेश्वर गुफा संरक्षणमा सम्बन्धित निकायले बेलैमा ध्यान नपु¥याए गुफाको अस्तित्व नै सकिएर जाने देखिन्छ । स्थानीय तहमा निर्वाचित भएर आइसकेपछि गुफाको संरक्षणमा आफूहरु चिन्तित रहेको पोखरा महानगरपालिका वडा नम्बर १७ का अध्यक्ष तीर्थराज अधिकारीले दाबी गर्छन् ।

महागरले भने आफूहरुले बेलाबेलामा झक्झकाई रहँदा समेत चासो नदिएको उनको आरोप छ । ‘हामीले पहिलेदेखि नै चिन्तित भएर लिएको विषय हो,’ उनले भने, ‘यसतर्फ महानगरले भने त्यति चासो दिई रहेको छैन । हामीले बेला बेलामा झक्झकाई रहेका छौं ।’ गुफा संरक्षणको लागि जग्गा अधिग्रहण गरेर महानगरले तोकेको मापदण्ड कायम गर्न छिट्टै लागि हाल्नुपर्नेमा उनले जोड दिए । यसअघि महानगरले गुफा संरक्षणको लागि २ सय मिटर मापदण्ड कायम गर्नुपर्ने नियम पनि ल्याएको छ । सो नियम कार्यान्वयनतर्फ महानगरको त्यति चासो देखिदैन । 

पोखरा महागर प्रमुख मानबहादुर जीसी गुफा लगायतका प्राकृतिक सम्पदा राष्ट्रका सम्पति भएको हुनाले राज्यको मातहतमा ल्याउनुपर्ने दाबी गर्छन् । ‘पहिलो कुरा त गुफा लगायतका प्राकृति सम्पदा राष्ट्रकै सम्पति हुन्,’ उनले भने, ‘गुप्तेश्वर महादेव गुफा आसपासमा व्यक्तिको स्वामित्वका जग्गा पनि धेरै छन् । गुफालाई दिर्घकालिन संरक्षण गर्नका लागि पनि यो राष्ट्रकै सम्पति भएको हुनाले हामीले बुझेको महानगर मातहतमा ल्याएर सञ्चालन गर्नुपर्छ ।’ 

गुफा संरक्षणको लागि अधिग्रहणमा ढिलाई गर्न नहुने उनको भनाई छ । गुफा आसपासमा भवन बनाउन रोक लगाई सकेको उनले जानकारी दिए । रोक लगाए पनि संरचना बन्न क्रम रोकिएको छैन त भन्ने प्रश्नमा आफ्नो गल्ति ढाकछोप गर्दै उनले भने, ‘हामीले रोक त लगाएका छौं । यद्यपि, रोकिएको छैन, व्यक्तिहरुलाई पनि किन तड्पाएर राख्ने हो ।

प्राविधिक अध्ययन गरेर गुफा आसपासमा ह्याभि स्टक्चर बन्न नदिनका लागि पहल सुरु गरि हाल्नुपर्छ ।’ गुफाको दिर्घकालिन संरक्षणको लागि छिटो भन्दा छिटो मु अब्जा दिएर राज्य संरक्षणमा लाग्नुपर्ने उनले जोड दिए । गुफा संरक्षणको लागि महानगर तिव्र रुपमा लागिपर्ने उनले सुनाए । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...