शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्राकृतिक विपत्तिका बेला किन भयो संसद बैठक स्थगित  ? विपतमा के गर्दैछन् सांसदहरु ?

सोमबार, ३० असार २०७६, १९ : १३
सोमबार, ३० असार २०७६

काठमाडौं– सोमबारका लागि डाकिएको प्रतिनिधिसभाको बैठक एकाएक सूचना टाँसेर स्थगित गरियो । प्राकृतिक विपत्तिमा परेकाहरुको खोजी,उद्धार र राहतका लागि सांसदहरुलाई जिल्लामा जान दिनुपर्ने भन्दै स्थगित गरेपनि सत्ता पक्ष र प्रतिपक्षको कुरा नमिल्दा बैठक स्थगित भएको हो । 

गतअसार २५ गते नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टीले सर्लाहीमा भएको घटनाको संसदीय छानविन समितिको माग गर्दै अवरोध गरेपछि संसद बैठक स्थगित भएको थियो । आजको बैठकका लागि तय गरिएको अन्य कार्यसूची हटाएर काँग्रेसकै माग अनुसारको कार्यसूची गर्ने सहमति जुटेको थियो ।

कांग्रेसले बिहान बाढी पहिरो लगायतका विपत्तिको बारे सार्वजनिक महत्वको बिषयलाई कार्यसूचीमा राख्न निवेदन दर्ता गराएको थियो । त्यसबारे छलफल हुँदा सुरुमा प्रतिपक्षले बोल्ने कांग्रेसको प्रस्ताव थियो भने नेकपाले गृहमन्त्रीले बोल्ने गरेको प्रस्तावप्रति कांग्रेसले असहमति जनायो । यही विषयमा कुरा नमिलेका कारण संसद बैठक स्थगित हुन पुग्यो ।

 नेकपाका सांसद एवं संविधानसभा अध्यक्ष सुवास नेम्वाङ्ले आजको संसद बैठक स्थगित हुनु दुःखद भएको बताए । नेकपाका प्रमुख सचेतक देव गुरुङ, कानूनमन्त्री भानुभक्त ढकाल सहित कांग्रेसका सांसदहरु मिनेन्द्र रिजाल, पुष्पा भुसालसहित सभामुखसँग छलफल भएको थियो । सो छलफलमा गृहमन्त्रीलाई देशभर भएको प्राकृतिक प्रकोपको अवस्थाको बारेमा सुरुमा बोल्न दिउँ, त्यसपछि तपाईसँगको कुराकानी राख्नुस् भनेर नेकपाले राखेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको नेम्वाङले बताए ।

उनले भने–‘अरु बेलाको विवाद अहिले छाडौँ, साझा सरोकारको विषयमा छलफलका लागि बहुमत प्राप्त सरकारले यसबारे जानकारी गराउँन संसदसँग समय माग्यो, यो स्वभाविक हो । स्थगन प्रस्ताव प्रतिपक्षले ल्यायो । पछि सभामुखले सुचना टाँस गरेर संसद स्थगन गरेको खबर आयो ।’

प्रतिपक्षी नेपाली कांग्रेसले बिहान संसद सचिवालयमा बाढी पहिरोको विपक्तिलाई सार्वजनिक महत्वको विषयका रुपमा कार्यसुची बनाउन निवेदन दर्ता गराएको थियो । त्यसबारे अनौपचारिक छलफलमा प्रस्तावक कांग्रेसले संसदमा सुरुमा आफ्नो धारणा राख्ने, त्यसको गृहमन्त्रीले जवाफ दिने र संसदले सरकारलाई निर्देशन दिने सहमति भएको सांसद पुष्पा भुसालले रातोपाटीलाई बताइन् । 

उनले प्रमुख प्रतिपक्षी दलले गम्भिर सार्वजनिक विषयमा प्रस्ताव राखेपछि सरकारले गैरजिम्मेवारी काम गरेको बताइन । उनले भनिन्– ‘हामीले यस्तो सार्वजनिक महत्वको प्रस्ताव राखेपछि सरकारले त हामीलाई धन्यवाद पो दिनुपथ्र्यो । यति धेरै विपत्तिको घटना भइरहेको छ, सदनमार्फत सरकारले आफूले गरेको कामको जानकारी गराउन नसकी संसदलाई छल्न खोज्नु गैरजिम्मेवारपूर्ण काम हो नि ।’

उनले कांग्रेसले नियमभित्र रहेर प्रस्ताव दर्ता गरेको र गृहममन्त्रालयसँग जोडिएको बिषय रहेकोले प्रस्तावकले आफ्नो कुरा राखेपछि गृहमन्त्रीले जवाफ दिनुपर्ने बताइन् । यसमा कांग्रेसले जुंगाको लडाई गर्न नसकेपनि सरकार भने सो रुपमा प्रस्तुत भएको उनले बताइन् ।

संसद बैठक स्थगितपछि कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदमा बाढी पहिरोबारे छलफल गर्नुपर्ने बेला स्थगित गरेको भन्दै आपत्ति जनाए । उनले मानवियतासँग जोडिएको बिषयमा संसदमा छलफल गर्न नदिनु आश्र्चय भएको बताउँदै सरकारको भत्सर्ना जाहेर गरे । 

गत सातादेखि सुरु भएको भीषण बर्षातका कारण राजधानीसहित देशका विभिन्न जिल्लामा बाढी पहिरो र डुवानका कारण ६७ जनाले ज्यान गुमाएका छन् भने ३२ जना अझै बेपत्ता रहेका छन् । बाढी पहिरो तथा डुवानका कारण पहाडी क्षेत्रमा बाढी र पहिरोका कारण सर्वसाधारण प्रभावित भए भने तराईमा डुवानका कारण प्रदेश नम्बर दुईका धेरैजसो स्थानहरु प्रभावित बनिरहेका बेला यसबारे संसदमा छलफल हुन सकेन । 
सोमबार नै सभामुख कृष्णबहादुर महराले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोको विपत्तिमा परेकाहरुको राहत र उद्धारका लागि खट्न आग्रह गरेका छन् । 

राजधानीसहित देशका विभिन्न पहाडी जिल्लाहरुमा पहिरोको प्रकोपबाट धनजनको क्षति भएको छ भने तराईका विभिन्न जिल्लाहरुमा बाढी र डुवानका कारण धेरै नागरिकहरु प्रभावित बनेका छन् । सबैभन्दा धेरै प्राकृतिक प्रकोपका घटना भएका क्षेत्रका सांसदहरु अहिले के गरिरहेका छन् भनेर हामीले विभिन्न जिल्लाका सांसदहरुसँग कुराकानी गरेका छौँ । 

प्रभू शाह, रौतहट क्षेत्र नम्बर ३ 

रौतहटमा डुबानकै बीचमा म पुगेको थिएँ । मेरो क्षेत्रको झन्डै आधा गाउँ डुवान प्रभावित भएको थियो । कठरिया, मौलापुर लगायतका गाउँका बाढी प्रभावितका लागि खानाको ब्यवस्थाका लागि सामुहिक मेस चलायौँ । बाढीका कारण आवागमन बन्द भएको थियो । पानी रोकिएपछि ५ ठाँउमा भत्किएको देवाही मौलापुर सडक खण्ड खुलाउने काम ग¥यौँ । जंगलसरिया, गर्जा भन्ने ठाउँमा भत्किएको पुल निर्माणको काम सुरु गरिएको छ । बाढीले बिजुली, सञ्चार सबै अवरुद्ध भएपछि सरकारको प्रतिक्षा नगरी स्थानीयको सक्रियतामा सबै जुटेर निःशूल्क जेसिभी, ट्याक्टरसहित निर्माणको काम भइरहेको छ । मृतकलाई राहत र भत्किएका घरको पुनर्निर्माणको कामका लागि पहल गरिरहेको छु । 

गणेश पहाडी, सिन्धुली क्षेत्र नम्बर २

कमला नदीको बाढीको कारणले ४ जना वेत्तपा भएका छन् । विपत्तिमा परि ४ जनाको मृत्यु भएको छ । स्थानीय तहसँग समन्वय गरेर, जिल्ला दैवी प्रकोप उद्धार समिति, रेडक्रससँग बैठक गरेर खोज उद्धार र राहतको कामलाई तीब्र पारिएको छ । 

बाढी पहिरोका कारण वीपी राजमार्ग र मध्यपहाडि लोकमार्गको बाटो अवरुद्ध भएको थियो । वीपी राजमार्ग खुलाउने काम भएको छ भने मध्यपहाडी लोकमार्गको घुर्मी–खुर्कोट सडक अवरुद्ध हुँदा ओखलढुङ्गा लगायतका पूर्वी पहाडी क्षेत्रका यात्रुहरु अप्ठेरोमा परेका छन् ।

मध्यपहाडी सडक हेर्ने आयोजना प्रमुखसँग बाटो खुलाउने विषयमा सल्लाह भएको छ । जिल्ला प्रशासन कार्यालय, राजनीतिक दल, सर्वसाधारण सबै सडक खुलाउन लागेका छन् । सडक खुलाउन अझै २ दिन लाग्छ होला । मृत्यु भएका परिवारलाई दुधौली नगरपालिकाले ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भनेको छ । नेपाल सरकार केन्द्रीय दैवी प्रकोप उद्धार कोषले १ लाख दिने राहतका लागि पहल भइरहेको छ । 

रामेश्वर यादव, सर्लाही ३

बाढीका कारण प्रदेश नंबर २ मा सर्वाधिक क्षति पुगेको छ । ८ जिल्लामध्ये रौतहट र सर्लाहीमा सबैभन्दा बढी क्षति पुगेको छ । यहाँको बागमती नदी र लखनदेवी नदीमा पानीको बहाव बढेकाले क्षति भएको हो । मानवीय क्षति नभएपनि अन्य आर्थिक क्षति भएको छ । एकजना घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

१२ हजार घर भत्किएका छन् भने सवा लाख मानिस प्रभावित भएका छन् । ५ हजार त्रिपाल पठाउनुपर्नेमा अहिलेसम्म ३ हजार त्रिपाल पठाइयो । बाटो अप्ठेरो भएको र टाढाबाट खाद्यान्न किनेर लैजाँदा समय लाग्ने भएकोले स्थानीय स्तरमै नजिकै खाद्यान्न खरिद गर्नका लागि जिल्ला दैवी प्रकोप समितिलाई पैसा पठाउन गृह मन्त्रालयमा अहिले भर्खरै छलफल सकेको छु । गृहमन्त्रालयले आवश्यक रकम निकासा गर्ने भएको छ । भोली आफ्नो निर्वाचन क्षेत्रमा जानको लागि टिकट काटिसकेको छु । 

विरोध खतिवडा, मकवानपुर–२


प्राकृतिक विपत्तिको सामना गर्न अहिले स्थानीय निकाय सक्षम छन् । आफ्नो कोषबाट काम गर्न सक्छन् । प्रदेशको राजधानी पनि हेटौंडा मै छ । सरकारी निजी अस्पतालमा उपचारका लागि व्यवस्था छ । आर्थिक समस्या समाधानका लागि सिडियो, प्रदेश सरकारसँग कोष छ ।

खानपिन तथा सेल्टरका लागि समस्या छैन् । हाम्रो पार्टीको पहिलो जिल्ला कमिटीको बैठकले जिल्ला तहका सम्पूर्ण कार्यकर्ताहरुलाई विपतका बेला जुनसुकै बेला उद्धार र राहतका लागि घट्न निर्णय गरेको छ । आफ्नो जिल्लाको प्राकृतिक प्रकोपबारे संसदमा आफ्ना भनाई राख्न मुङ्लिनको बाटो हुँदै काठमाडौं आइपुगेको छु । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप