शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्रिय विपत्तिमा संसद स्थगित गरिएको भन्दै आलोचना

सोमबार, ३० असार २०७६, १८ : ५४
सोमबार, ३० असार २०७६

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसदहरुले राष्ट्रिय विपतिको बेलामा संसद स्थगित् गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सभामुख कृष्णबहादुर महराको आलोचना गरेका छन् ।  संसदको आज (सोमबार) को बैठक सूचना टाँसेर स्थगित गरिएलगत्तै बाढि, पहिरो प्रभावित जिल्लाका नेकपाका सांसदहरुले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यस्तो आलोचना गरेका हुन् । उनीहरुले जनताको कुरा सार्वभौम संसदमा राख्न नदिएको भन्दै कांग्रेसको विरोध गरे । जनताको मानवीयतासँग जोडिएको विषयमा संसदमा छलफल गर्न नदिनु खेदजनक भएको उनीहरुको टिप्पणी छ । उनीहरुले संसद स्थगित् गरेकोमा आक्रोश पोख्दै त्यसको भत्सर्ना पनि गरे । 

सभामुख महाराको भूमिका नै आपत्तिजनक ः भट्टराई
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै खोटाङबाट निर्वाचित नेकपाका सांसद विशाल भट्टराईले आफूहरुले जनताको दुःखको कुरा सार्वभौम संसदमा सुनाउन नपाएको गुनासो पोखे । उनले भने,‘अविरल वर्षाका कारण ठूलो जनधनको क्षति भएको छ । सवारी आवातजावत अवरुद्ध छन् । जनताको आवासमा ठूलो क्षति पुगेको छ । तर, यस्तो प्राकृकित विपतिको बेलामा पनि संसद स्थगित् गरियो । हामी चाहन्थ्यौं संसदले यो संकटको निवारण गरोस भनेर । तर, कांग्रेसले विगतको घट्नाक्रमलाई हेरेर हठ देखायो । आयोग गठनको माग गरेर संसद अवरुद्ध गर्नु गलत हो ।’

भट्टराईले सभामुख महाराको भूमिकाप्रति पनि आपत्ति जनाए । उनले भने,‘सभामुखज्यूले संसद बैठक स्थगित गर्नुभयो । यसमा हाम्रो घोर आपत्ति छ । यो खेदजन्य कुरा हो । यथाशिघ्र बैठक बोलाउनुपर्छ । संसदलाई बन्धक बनाउनुहुँदैन् ।’ उनले सबै दलहरुबीच सहमति र एकता कायम गरेर संसद सुचारु गर्नुपर्नेमा जोड दिए । उनले खोटाङमा तीन जनाको निधन भएको र एक जना घाईते भएको सुनाए । बाढि, पहिरोका कारण खोटाङमा एक किलोमिटर पनि आवातजावात हुन नसकेको भट्टराईले सुनाए । 

विपतिको घडीमा पनि कांग्रेसले संवेदनशीलता देखाएनः खड्का 

रौतहटबाट निर्वाचित नेकपाकी सांसद एवम् संघीय संसदीय समिति विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यस्तो प्राकृतिक विपतिको घडीमा पनि संवेदनशीलता नदेखाएको आरोप लगाईन् । 

कांग्रेसको अकर्मण्यताका कारण आजको बैठक स्थगित भयो ः सिलवाल
ललितपुरबाट निर्वाचित नेकपाका सांसद नवराज सिलवालले संसद स्थगित् गरिएकोमा गम्भिर आपत्ति जनाए । उनले भने,‘मुलुक अहिले बाढि, पहिरो र डुवानबाट प्रताडित छ । सयौं घरहरु भत्किएका छन् । बाटाघाटाहरु अवरुद्ध छन् । यस्तो बेलामा संसद सुचारु गरेर गृह मन्त्रालयले आफ्नो कामहरु प्रस्तुत गर्नुपर्दथ्यो । हामीले पनि आफ्ना कुरा राख्न पाउनुपर्दथ्यो । तर, संसद बैठक स्थगित गरियो । यसमा हाम्रो घोर आपत्ति छ ।’

कांग्रेसले राजनीतिक दाउपेचलाई केन्द्रमा राख्दा संसद बैठक स्थगित ः सुनुवार

ओखलढुंगाबाट निर्वाचित नेकपाका सांसद यज्ञराज सुनुवारले संसद बैठक अवरुद्ध गरेकोमा गम्भिर आपत्ति जनाए । राष्ट्रिय विपतिको बेलामा संसद बैठक बसेर आफ्ना कुरा राखौंला भन्ने चाहना पुरा नभएकोमा उनले कडा आक्रोश पोखे । उनले भने,‘संसदको नियमित बैठक बस्ला र आफ्ना कुरा राखौंला भनेको त बैठक स्थगित गरियो । यसमा हाम्रो गम्भिर आपत्ति छ । कांग्रेसले जुन रवैया देखायो, यो गलत छ ।’

कांग्रेसले राजनीतिक दाउपेचलाई केन्द्रमा राखेर संसद बैठक स्थगित गरेको भन्दै उनले गम्भिर आपत्ति जनाए । उनले भने,‘म कांग्रेसको यो रवैयाको घोर आपत्ति जनाउँछु ।’ आफू ७२ घण्टा लगाएर संसद बैठकमा जनताका दुःखका कुरा राख्छु भनेर ज्यान दाउमा लगाएर आएको सुनाउँदै सुनुवारले भने,‘तर, बैठक स्थगित गरियो । यसमा म सभामुखलगायत प्रतिनिधिसभाको नेतृत्व गर्नेहरुको आलोचना गर्छु ।’

सरकारले राहत तथा पूनस्र्थापनाको काम द्रुत गतिमा गर्नुपर्छ ः राई

उदयपुरबाट निर्वाचित नेकपाका सांसद सुरेश राईले पनि राष्ट्रिय विपतिको यस्तो घडीमा संसद बैठक स्थगित् हुनु दुःखदायी र खेदजनक भएको टिप्पणी गरे । उनले भने,‘अहिलेपनि पीडितहरुको अवस्था दयनीय छ । तर, कांग्रेसले संसद अवरुद्ध गरेर गलत चरित्र देखायो ।’ यस्तो बेलामा संसद बैठक बसेर अझै सरकारको भूमिका प्रभावकारी बनाउनको लागि छलफल तथा बहस हुनुपर्ने थियो भन्ने उनको भनाई छ । 

उनले बाढि, पहिरोबाट प्रभावित सबै जिल्लाका पीडितहरुलाई राहत तथा उद्धारमा सबैले एकतावद्ध हुनुपर्ने र सोहीअनुसार भूमिका निर्वाह गर्नुपर्ने बेला भएको सुनाए । उनले भने,‘विपदको घडीमा विपक्षी दलले जस्तो भूमिका निर्वाह गर्नुपर्ने थियो, त्यो गरेन । त्यसैले कांग्रेसको भूमिका प्रभावकारी भएन् ।’ कांग्रेसले यस्तो बेलामा राजनीतिक हठ देखाउन नहुने उनको सुझाव छ । संसदलाई बन्धक बनाएर आफ्नो हठ पूरा गर्ने सोच नराख्नपनि उनले कांग्रेसलाई चेतावनी दिए । 

कांग्रेस र राजपा जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ ः श्रेष्ठ 

सिरहाबाट निर्वाचित नेकपाका सांसद लिलानाथ श्रेष्ठले मुलुक अहिले राष्ट्रिय विपतिको अवस्थामा भएकोले यस्तो बेलामा सबै दलहरु एकजुट भएर उद्धार तथा राहतमा जुट्नुपर्ने बताए । उनले भने,‘आज संसद चल्छ र आफ्नो कुरा राखौंला भनेको त एक्कासी सदन स्थगित् भयो । यो दुःखद् कुरा हो ।’ 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप