केन्द्रीय संस्करण

खेमाबन्दीको एम्बुसमा नेपाली राजनीति

person explore access_timeअसार ३०, २०७६ chat_bubble_outline0

जनताको चिन्ता
     आजकल टेबलमा चियाको चुस्कीमा ससाना जनसभा हुन्छन् । बिहान बिहानै आँखा मिच्दै देशको बहस मच्चिन्छ । हो, आजभोलि यसो महिलाले पनि कान थाप्न थालेका छन् । समावेशी सम्बोधन नहुने पो हो कि भनी बीचमा अचार थप्दै गर्छन् । गफमा बहस चर्कियो– ‘एकताबाट निर्मित नवीन इतिहास कोरेको पार्टीले मखुन्डो मात्रै भिरेर सौदाबाजी त गर्दै छैन ?’ मलाई दर्शक, स्रोता बनेर सुनिरहन मन लाग्यो । मजस्ता कान थाप्नेमा कोही समर्थक, कोही ठुटे नेताका पुच्छर त कोही ससानाका अघि गफ लडाएर चिया खाने दाउमा थिए– मैले मनन गरेँ । नेपालीहरूमा शङ्का र राम्रो कुरालाई नराम्रै बनाउने आदत पनि छँदै छ– सोचेँ । 

    फेरि भन्नेहरूले यसो पनि भन्ने गर्छन्– नेपाली जनता नै भेडा हुन् । विश्लेषण र समर्थन गर्ने तरिका पनि अन्धो प्रवृत्तिको छ । हरेक पार्टीले आफ्ना विद्यार्थी सङ्गठन बनाएका हुन्छन् । यसको अर्थ– हाम्रो पक्षमा सडक तताउने बेलामा तिमीहरूको खाँचो पर्छ– विद्यार्थीलाई आफ्नो पक्षमा लडाउने शैली । अनर्थ नलागोस्, यथार्थ तीतो हुन्छ तर सोझा र बेरोजगार जनताको अस्मितालाई हुकुमी शैलीमा अन्धो बनाइएको हो । अर्कोतिर, चाकडीबाजको शैली र स्वार्थको आशा बोकेर खेमाबद्ध हुनेको लर्को विद्वान् भनिएका व्यक्तित्वमा पनि हुँदो रहेछ । अचम्मको कुरा आफू समर्थकको जेजस्ता घटना भए पनि, जति जघन्य र खराब कार्य भए पनि सल्ट्याएर आपूmमाथि पर्ने होड चल्दो रहेछ । पढालेखा नै पनि बुझीबुझी अन्जान बन्दा रहेछन् । 
  

 माओवादीले दसाँै वर्ष युद्ध गर्यो, आज हेरौँ त जनताको त्याग र भोगेका वेदनामाथि प्रहार ? सत्य हो ! मान्छेमा बहस हुन्छन् तर खेमाबन्दीकै शैलीले बजार तात्छ । पहिला पार्टीको समर्थन त्यसपछि पार्टीभित्रकै– खेमाबन्दीको । कुरो गहिरो छ, निष्कर्ष चाहिँ कुर्सीको । कोही हातको भाउ लगाउँदै बोल्दै थिए– ‘यो दुई दिने मखुन्डो भिरेर पुरानै शैलीमा एक भएका छन् । अब दुई चार दिनमा आपसमा तुष जन्माएर भिड्छन् । नेपालमा स्थायी सरकारले काम गर्ने जोगको विकास गर्ने हो भने यो मौका गुम्दा खतरा मात्रै रहला कि ?!

    नेकपाले एकता गरेपछि जनतामा परिवर्तनको अभिलाषा बढेको हो तर कहिलेकाहीँ लरबरिएका घटनासँग जनतामा अविश्वासको खाडलसँग भय छ । वाक्युद्ध चल्यो तर विचार माझियो । अब मिलेर जानुहोस्, घरको कुरा बजारमा नआओस् – जनताको आशा हो । अगुल्टाले हानिइसकिएका नेपालीलाई बिजुली मात्र चम्के पनि भय त हुन्छ नै । एकतामा धमिरा लागे आजसम्मको उपलब्धिमा नै भय छ । मिडियाले पायो भने तिललाई पहाड बनाउला कि भन्ने डर पनि हुने । हिजोको मित्रता आजको खतरा बन्दै गर्दा बीचका खुरापाती गर्नेको आफ्नै लर्को छ । भड्काउने, फुटाउने र च्याँखे थापेर फाइदा लुट्ने सोचै छैन भन्न पनि नसकिने । ‘हैन एकता भएदेखि सबै नेतृत्व एकदम खुसी बनेका छन्’– अहँ त्यसो त भन्नै पाइएन । ३ करोड नेपाली जनताका आशा र सपना सबै राजनीतिभन्दा बाहिर त छैन । हुन पनि त सक्दैन । आखिर अभिभावकमै बेमेल भएपछि छोराछोरीको मनोविज्ञान कसरी सकारात्मक बन्छ । मसिना कुरामा स्वार्थ र मेरो भन्ने सङ्कीर्णताले झ्वाप्पै छोप्ने । दीर्घकालीन सोच र गन्तव्यको स्पष्ट चित्रतिर लम्कने हो भने आदर्शतावादी पनि बन्न जान्नुपर्छ । झुक्न नजान्ने र स्वार्थी सोचकै कारण आजसम्म हाम्रो देश २००७ साल यता आधा शताब्दीभन्दा बढी रुमल्लिरहेको छ । 

    दुई पाइलट मिल्यौँ, देश हाँक्छौँ पनि भन्यो अनि एक अर्कामा आपूmखुसीको मपाइँत्वले छोड्न पनि मुठी कसिराख्यो । पदको वा स्वार्थको वा कुनै अरू कुनै लालसको जालोभित्रबाट करायो– अहँ त्यो जालो तोड्न पनि सकिन्न । आफैभित्रमा नै विश्वास देखिन्न । न सिद्धान्त, न जनताको जनवाद, बहुमतको कम्युनिस्ट सरकारसँग सर्वहारा जनताले के विषयमा कसरी खुसी मान्ने ? आज पनि भागबण्डे शैलीमा देश विभाजनकै तारतम्यमा चल्छ भने यसको अर्थ राजनीतिको अतिवाद हाबी छ । हरेक कर्मचारीतन्त्र, हरेक कार्यालय, हरेक क्षेत्रमा एउटा पार्टी र पहुँचको बोलवाला हुन्छ तब सबै जनताले झोले र चम्चे नबने काम नबन्ने बुझेपछि क्षमता विकासभन्दा नेताको दैलो कुरुवा हुनुलाई अतिउत्तम मान्नुपर्ने हुन्छ । यो आजको यथार्थ तर तीतो, साहै्र नै तीतो पीडा हो । अवसरवादको चर्को परम्परा यो सरकारको मात्रै दोष होइन पुरानो र कुरूप थिति हो– कृपया तोडेर जस लिनुहोस् । 

विकसित मुलक र हामी 
    हिजो सन् १९७० ताका जापानलाई चामल निर्यात गर्ने, दोस्रो विश्वयुद्धपछि खाद्यान्न बाँढ्ने हैसियत बोकेको नेपाल आज २०१९ सम्मको समयमा कति परजीवी बनेको छ ? आज हामी जापानभन्दा ५०औँ वर्षपछि रहेछौँ । यसको कारण आज अधोगति अधोमति भएका मुलुकमा अर्कालाई बझाएर, लडाएर आफू उक्सिने प्रपञ्च मात्र रचिन्छ र राजनीति चलिरहन्छ । वास्तवमा दाता गरिब हुँदैन माग्नेलाई उन्नतिले छुँदैन भन्ने हुनुपथ्र्यो । हामीले आत्मनिर्भरता बिर्सिहाल्यौँ । अर्काको भाषा, अर्काको सामान, बोर्डिङ स्कुलमा अङ्ग्रेजी रटाउने, भान्साघरदेखि चर्पीसम्मका सामान आयातित अनि देशको उन्नति कसरी सम्भव हुन्छ ?
 

   फ्रान्स सन् १९६७ ताका आज हाम्रो देशको जस्तै अन्योल र बेमेलको शैलीमा थियो । आज २०१९ मा हामी त्यसबेलाको फ्रान्स जसरी ५२ वर्ष पछाडि रहेछौँ । अब, दक्षिण कोरियातिर एउटा प्रोफेसरले बोल्दा, तिनका छेउमा पर्दा आफ्नो आसन छोडेर सादर सम्मान हुन्छ । हाम्रो देशमा नेताको दैलो कुर्ने लाजमर्दो प्रवृत्ति प्रबल हाबी बनेको छ । 

यही विसङ्गतिपूर्ण चरित्र हाबी बन्दै जाने हो भने यो मुलुकमा अर्को पृथक् क्रान्ति हुने खतरा रहेको देखिन्छ । यहाँबाट ठूलो सङ्ख्यामा युवाशक्तिको जमात बाहिरिनु भनेको एक दिन पृथक् प्रकृतिको नेतृत्व जन्मनु हो । यसको जिम्मेवार हरेक सत्तापक्षी र विपक्षी नेतृत्व बन्नुपर्छ । विकासकै कुरा गर्ने हो भने २००७ देखि आजसम्म झन्डै ७० वर्षको अन्तरालमा हाम्रो मुलुकले थुप्रै खाले सत्ताका प्रकृति पायो तर परिवर्तनलाई ठोस आभाष गर्नै पाएन । कारण, हामीले स्पष्ट योजना र कार्यान्वयनको चरणलाई बोध गर्नै जानेनौँ । नीति बनायौँ, सुन्दर हुन्छ तर कार्यान्वयन र प्राप्तीको विवरणसँग दूरदर्शी बन्नै जानेनौँ । 

    घरघरमा सिंहदरबार पुग्यो कि खाने मुख चाहिँ घरघरमा पुग्यो भन्नुपर्ने जटिलताले देशमा पीडा भएको हो । ७७ जिल्लाका २९३ नगरपालिकाभित्र रहेका ४६० वटा गाउँपालिकामा कार्यरत कर्मचारी निकायलाई मैले त जितेर आएको पार्टीका आडमा गुलामी गर्नुपर्छ भन्ने मात्र सोचले गाँज्यो र जताततै नातावाद चल्यो भने भ्रष्ट दरबार गाउँगाउँ पुग्यो भन्नुपर्ने हुन सक्छ । 

राजनीतिको मैलो : खेमाबन्दी
    आज देशमा मर्दा लास उठाउने मलामी पाउन छोडिएको छ, जुन देशमा राजनीति मात्रै ठूलो हो भन्ने शैली छ । जहाँ शिक्षा र शैक्षिक व्यक्तित्वको सम्मान हुँदैन, जहाँ विज्ञहरूले नेताको दैलो कुर्ने कुलीन परम्परालाई तोड्न सक्दैन भने परिवर्तन कसरी भयो ? सरकारी कामका लागि कर्मचारी आफन्तवादको खेमापन्थी चलाउँछन्, कर्मचारी नेताको पावर बोकेर कामचोर प्रवृत्तिमा हाबी बन्छ । क्षमता र योग्यताको उपहास भइरहन्छ भने सुशासन कहाँ कुन स्थानमा कसरी कायम रहन्छ ?
  

 शिक्षाको सबैभन्दा ठूलो र भरपर्दो त्रिविका कर्मचारीसमेत राजनीतिक भागबण्डामा डिन, रजिस्टार, भीसी सबैलाई पार्टीमय बनाउने यो देशले शिक्षा, स्वास्थ्यजस्ता पवित्र र मानवीय क्षेत्रमा पनि हैकम जमाएपछि उपचार पनि झोला बोक्ने र चाकडी गर्नेको प्राथमिकताका आधारमा हुने भयो नि । हरेक पार्टीभित्र स्वार्थ र अवसरका लागि खेमाबन्दी हुँदो रहेछ । कर्मचारी भागबण्डामा चल्ने । सबै सोचमा हैकमवाद देखिन्छ । 
    “गाउँपालिकाले कायापलट हुने बजेट ल्याएको छ । हाम्रो नीति तथा कार्यक्रम युगसापेक्षी छ । पाँच वर्षमा हाम्रो सरकारले यो गाउँपालिकालाई उच्च आय भएको क्षेत्र भनेर घोषणा गर्नेछ ।” चियाको कप हातमा बोकेर बिहानै दुई चारजनाका साथमा वडाध्यक्ष्यज्यू गफिनुहुन्छ । 

    अर्का एकाथरी ओहोदा नभिरेर पनि आस्था भएकाहरूको जमघटमा एकजना बूढा मान्छे बोल्छन् ः राणा ढालेँ, पञ्चायत ढालेँ भन्छन्, बहुदल ल्याएँ, राजा खेदाएँ भन्छन् । बहुमतको सरकार भयो अब मिलेर विकासकै मात्र कुरो हुनेछ पनि भन्थे । तर तिनै सत्तामा बस्नेसँग गुटतन्त्र छ ।”
  

 कोही ओली पक्षको रे ! कोही माधव नेपालतिरको भएकाले मन्त्री नदिइएको रे ! कोही प्रचण्डतिरको रे ! कतै झलनाथ या वामदेव लगायतका अनेकौँ तर्क र सोचले देशको गन्तव्य कतातिर ढल्कँदै छ ? काँग्रेसमा पनि देउवा पक्ष, सिटौला या कोइराला पक्ष, आखिर खराबी कुर्सी मोहमै रहेछ । यही कुरा विकासको घातक हो ।

    प्रतिपक्षी उल्टो गङ्गामा नुहाउन चाहन्छ । कोही देउवाका पक्षधर, कोही पौडेलका रे । कोही सिटौला अरू अरू । अन्य सबैजसो दलमा मौरीका रानाअनुसारका कर्मी मौरी । सायद स्वतन्त्र रहन चाहनेले पनि सास्ती खेपिरह नै पर्यो । आखिर सोचको घैँटोको मुखै सानो छ– खराबी खोज्ने, राम्रो बन्लान् कि, विकास गरेर भोट तिनैले तान्लान् कि भन्ने ध्याउन्नमा बाँच्छ । लडाउने र भत्काउनेबाहेक बनाउने सपनै देख्दैन । कुर्सीको मोह हिजोकै जस्तो । अस्थिर विचार झनै कडा हुँदो रहेछ । अहँ, यो बहुमतको सरकार भएर पनि स्पष्ट भिजनै भएन । युवा खाडीमा भासिएकै छन् । स्वरोजगारको अभाव र शिक्षितहरू बेरोजगार बनिरहेकै छन् । हाम्रो यस्तो देश बन्या जो युवाले कुनै बाहिरका देशले भिसा खुलायो भन्दा खुसी मान्छ । विदेशमन्त्री र सरोकार गमक्क हुन्छन् । खुसी मान्छन् । उपलब्धि ठान्छन्, आफ्नो बनाउने कुरा ?! विदेशीले लगानी गर्ने भयो, उसको अङ्ग्रेजी छाँट्यो भने हामी फुरुक्कै हुन्छौँ । 

मखुन्डे आदर्शता बदलौँ
    जापानिज, हिब्रु, अङ्ग्रेजी आदि सिकेर या त आईईएलटीएस दिएर विदेशतिरै होमिने सपना बोकेको छ । अमेरिकाको डीभी भर्नेको लर्को, शिक्षा र पैसाको अपेक्षाको खजमजिएको संसारमा समृद्धिका गफ ? मान्छेको पेट भर्ने समस्यामा घोत्लिनुपर्दैन र ? कम आय हुनेको अवस्थाप्रति सोच्नुपर्ने कुरा पहिला कि अन्य योजना ? २३ प्रतिशत आय त रेमिट्यान्स नै कुरिरहने कि दैनिक हजारौँ खाडीमा भासिनेदेखि दक्षिण कोरियामा मात्रै होमिने ९२ हजार नेपाली युवाशक्तिप्रति यो देशले चिन्ता गर्ने त ?!
  

 दुःखद् कुरा, जनताले विश्वास गरेर काम गर भन्दै जिताएपछि घरी यता घरी उता गर्ने हक नेतालाई हुने कि नहुने ? नत्र जनप्रतिनिधि कसरी हुन्छ ? जनतासँग आश्वासन बाँढ्ने, सत्ता र कुर्सीमा लड्ने अनि झोँक चल्यो अर्कातिर लाग्ने । नेताले जनताको भोट पाएर जितेपछि आफ्ना शुभचिन्तक जनतालाई एक शब्द राय नलिई, भोट माग्दा वाचा गरिएका कामै नगरी पार्टीबाट छोड्ने हो भने कसरी जनप्रतिनिधि हुन्छ ? 
    जनताको अभिमतबाट चुनिएको प्रतिनिधिले विचारलाई बाँढ्दा आफ्नो हैसियतलाई भुल्न पाइन्छ र ? कम्तीमा जनताको मागलाई सम्बोधन गर्ने वा चित्त बुझ्दो कारण वा त काम गरेर देखाउन पनि त जान्नुपर्छ । काम गर्नभन्दा पनि ओहोदाका नाममा, भ्रष्ट चरित्रको नाम र मनोविज्ञानमा ससाना बखेडाभित्र अल्झिएर आजको हाम्रो राजनीतिक नेतृत्व भौँतारिइरहेको देखिन्छ । फलतः भ्रष्टचारीले आड लिन्छन्, फटाहा हैकम जमाउँछन् । स्थानीय क्षेत्र र प्रदेशमा भनसुन सोचमा नेतृत्व हाबी बन्नुहुन्न बरु आदर्श नेतृत्व बन्न सक्नुपथ्र्यो । नेता चुनाव लड्ने र जित्ने केही समयका लागि होइन उसको कार्यकाल र क्षमता रहेसम्मका लागि हो । तिनले गल्ती गर्नु, समृद्धिको पाइलामा भाँजो हाल्नु, नेता यताउता गर्दा जनताको मन भाँड्नु ः वास्तवमा जनताको अभिमत माथिको अत्याचार पनि त ठहर्छ ।

युवा रोजगार र विकासको समन्वय
    देशले पहिलाको नेपाल र अहिलेको नेपाल हेरेर निराशाले जकडेको जनमानसलाई आशाले जोड्ने पहिलो आधार युवालाई अवसर र विकासको बाटोमा प्रयोग गर्नु नै हो । सम्भाव्यता खोतलेर युवाशक्तिका क्षमतालाई स्वदेशमै सम्मान गर्ने हो भने धेरै समस्या हल हुन्छ । विकासे मार्ग अघि बढ्न बेर पनि लाग्दैन । पद, पैसा र पावरको धाकले देशको शासन व्यवस्थामा प्रहार हुन्छ । त्यसैले आदर्शवादी व्यवहारको विकासवादी समृद्धि ल्याउन सक्नुपर्छ । विनाभेदभाव व्यवहार र सबैलाई माया र प्रेम पस्कन थाल्ने र प्रतिपक्षीसँग पनि भाइचाराकै भावमा विकास र बाधक चिन्ने निकायलाई बलियो बनाइसक्दा भने देश बन्न युगौँसम्म कुरिरहनु नपर्ला । 
    

सबै समस्यासँग राजनीतिक कमजोरी नै जोडिन्छ तर विकासका क्षेत्रमा नवीन संरचना र व्यवस्थाको ज्ञानको अभाव हुनु पनि त हो । कृपया ट्याङ्की सफा गर्नुहोस् र नेपालीपनको विकास गर्नुहोस् । नयाँ नेपालको अर्थ हाम्रै भाषा, हाम्रै भेष, हाम्रै पहिचान जोगाउने शैलीबाट पर्यटन विकास गरौँ । शिक्षा र स्वास्थ्यमा जनतालाई बढी सहुलियत दिएर रोजगारमा चाहिँ क्षमता भएकाहरूलाई अघि बढाउँ र आवश्यकता आधारमा उत्पादन गरौँ । विनायोजना उत्पादन चाहिँ गर्ने तर काम नदिने भए सरकारले विकल्पका लागि विज्ञसँग बसेर बहस गर्ने आदत बसाओस् । 
    नयाँ व्यवस्था हो, समय लाग्न सक्ला यद्यपि साना मान्छे, गरिब तर क्षमता भएकादेखि सुरु गर्नुपर्छ । सर्वहारा वर्ग र कम्युनिस्ट सिद्धान्तलाई केन्द्रमा राख्ने नै हो भने ठूला विकासलाई मात्रै विकास हो भन्ने संस्कारलाई बदल्न सक्नुपर्छ । यो देशमा भएका बौद्धिक व्यक्तित्वको सम्मान र सल्लाहलाई ग्रहण गर्ने राजनीतिक शैली पटक्कै छैन । राजनीति गर्ने नेता भए पनि विचार माझ्ने ज्ञाता चाहिन्छ । अब आर्थिक समताको सिद्धान्तमा माथिल्लालाई नदबाई तल्लालाई उकास्नुपर्छ । समग्र विषय मूलतः जनताको आय र जायजेथोका आधारबाट मापन हुनुपर्छ । हाम्रो मुलुकलाई अब युवा रोजगार र विकासको समन्वयकारी योजनाको खाँचो छ । 
 

 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...