शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

डुबान क्षेत्रमा महामारी फैलिन सक्ने खतरा, स्वास्थ्य मन्त्रालयले चिकित्सकको टोली प्रभावित क्षेत्रमा पठाउँदै

सोमबार, ३० असार २०७६, १४ : ३६
सोमबार, ३० असार २०७६

काठमाडौं– एक सातादेखि लगातार भइरहेको वर्षाका कारण बढी समस्यामा परेको प्रदेश नं. २ मा  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३ स्थानमा समन्वय केन्द्र स्थापना गर्ने भएको छ । संघीय सरकार अन्तर्गत नागरिकको स्वास्थ्यमा आउन सक्ने समस्यालाई कम गर्नको लागि  ९ जना चिकित्सकको टोली पठाउने मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय र विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थासँगको छलफल पछि प्रदेश नं. २ मा समन्वयको लागि तत्काल ३ टोली पठाउने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका स्वास्थ्य आपत्तकालीन तथा विपद् व्यवस्थापन इकाई  प्रमुख चुडामणि भण्डारीले रातोपाटीलाई बताए । 

संघीयतापछि संघ, प्रदेश र स्थानीय तहको आ—आफ्नै जिम्मेवारी भएकोले अहिले प्रदेश र स्थानीय तहले नै औषधी उपचारको कामहरु गर्दै आइरहेको र केन्द्रसँगको समन्वयको लागि टोली पठाउने निर्णय गरेको प्रमुख भण्डारीले बताए । 

बैठकमा प्रदेश नं. २ को ३ स्थानमा समन्वय केन्द्र स्थापना गरी स्वास्थ्य अवस्थाको बारेमा केन्द्र सरकारलाई जानकारी गराउने छ । जसअन्तर्गत दुई जिल्लालाई हेर्ने गरी पथलैयामा ३ चिकित्सकसँगै एक समन्वय केन्द्र राखिने छ । पथलैयाको टोलीले बारा, पर्साको नागरिकको स्वास्थ्य अवस्थाको बारेमा केन्द्र सरकारलाई जानकारी गराउनेछ ।

महोत्तरी, सर्लाही, धनुषाका तीन जिल्लालाई हेर्नेगरी बर्दिबासमा टोली राखिने छ । सिराहा र सप्तरीलाई हेर्नको लागि लहानमा टोली खटाइने जनाएको छ । संघबाट प्रत्येक टोलीमा ३—३ जनाको चिकित्सकको टोली पठाइने पनि मन्त्रालयले जनाएको छ । 

हाल स्थानीय तह र प्रदेश सरकारले उपचारको व्यवस्था गर्दै आइरहेको हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समन्वयको लागि टोली सकेसम्म आजै पठाउन लागेको जनाएको छ । 

आपतकालीन सम्पर्कको लागि टोली गठन 

साथै मन्त्रालयले आपत्तकालीन सम्पर्कका लागि केन्द्रदेखि प्रदेशसम्म ११ व्यक्तिलाई तोकेको छ । कुनै पनि स्वास्थ्यसम्बन्धी समस्या परेको खण्डमा यी व्यक्तिहरुलाई सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।

जसअन्तर्गत गुणस्तर मापन तथा नियमन महाशाखा प्रखुम डा.दिपेन्द्र रमण सिंह, आपत्तकालीन तथा विपद् व्यवस्थापन इकाई  प्रमुख चुडामणि भण्डारी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा.विवेककुमार लाल, डा.प्रकाश प्रसाल शाह महामारी व्यवस्थापन शाखा प्रमुख, आपत्तकालीन तथा विपद् ब्यवस्थापन अन्तर्गत प्रदेश नं.१ केशु काफ्ले, प्रदेश नं.२ मा विजयकुमार झा, प्रदेश नं. ३ मा गोपाल बजगाई, गण्डकी प्रदेशमा डा.भोजराज गौतम, प्रदेश नं. ५ का डा.उमाशंकर चौधरी, कर्णाली प्रदेशमा चेतन निधि वाग्ले, सुदूरपश्चिम प्रदेशमा रमेश मलाशीलाई तोकिएको छ । साथै मन्त्रालयले प्रदेश, जिल्ला र स्थानीय तहका सम्पूर्ण स्वास्थ्य संस्थाहरुले आवश्यक समन्वय तथा सेवामा जुट्नको लागि पनि केन्द्र सरकारले आग्रह गरेको छ । 

स्वास्थ्यमा यस्ता समस्या देखिन सक्छन्ः शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा.शेरबहादुर पुन

 विपद् पछि स्वास्थ्यमा समस्यानै आउँछ भन्ने छैन तर हामीले अनुमान लगाउन सक्छौ र पूर्व तयारी गर्न सक्छौँ । अहिले विपद्को समयमा नागरिकको स्वास्थ्यमा विभिन्न किसिमका रोगहरु लाग्ने सक्ने सम्भावना हुन्छ । कारण स्वाच्छ पिउने पानीको मुहानहरु अहिले बाढी तथा पहिरोले बगाएको अवस्था छ भने भएको महानमा पनि धमिलो पानी पसेको छ ।

खानेपानीको मुहानमा धुमिलो पानी मिस्सिने हुँदा सुरुको चरणमा लाग्ने रोग भनेको पानीको कारणले लाग्ने रोग हो । पानीको कारणले हुने संक्रमणहरु कुनै तत्काल र कुनै अलि ढिला देखिने हुन्छ । जस्तै हैजाको संक्रमण केही घण्टामानै देखिन सक्छ, टाईफाई, झाडापखाला जस्ता समस्याहरु पनि देखिन सक्छन् । 

साथै डुवान परेको ठाउँमा लामो समयसम्म पानी रहन्छ । पीडित नागरिक विस्तारै स्थापित हुने क्रममा घर निमार्णमा ब्यस्त हुन्छन् । तर घर वरिपरि खाल्डाखुल्डीमा जमेको पानीमा कसैको पनि ध्यान गएको हुँदैन । त्यो जमेको पानीमा लामखुट्टेले लार्भा बनाउने ठाउँ पाउने हुँदा त्यस्तो ठाउँमा डेंङगूको संक्रमण फैलिन सक्ने सम्भावना पनि रहेको हुन्छ । बिस्तारै घरमा पनि पानी भाडामा थापेर राख्ने भएको हुँदा त्यस्तो ठाउँमा पनि लामखुट्टेले लार्भा पार्ने सम्भावना हुन्छ । यस्ता समस्याहरु तराईमा मात्रै नभै पहाडमा पनि देखिन सक्छ ।

त्यसैले सबै ठाउँमा नागरिकले लामखुट्टेले लार्भा नपार्ने व्यवस्था गर्नुपर्छ । ब्याक्टेरियाको संक्रमणबाट डेंगु, मलेरिया, कालाज्वारो जस्ता संक्रमण फैलिन सक्छ । पूर्व तयारी लाग्नुपर्ने देखिन्छ । ब्याक्टेरियाको संक्रमण जस्तै टिटानस, सर्पदंश, घाउ पाक्ने समस्याहरु पनि देखिन सक्छ ।

एकै ठाउँमा धेरै नागरिकले खाना खाद फ्रुडपोईजन हुने सम्भावना पनि देखिन्छ । त्यसैले सम्बन्धित निकायले सकेसम्म नागरिकलाई रोग नलाग्ने उपायतर्फ लाग्नुपर्ने देखिन्छ । बालबालिका, सुत्केरी महिला ,अपाङगता भएका नागरिक ,जेष्ठ नागरिकमा बढी समस्या देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप