शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यसकारण युएई भ्रमणको लागि दूतावासले दिँदै आएको सिफारिस पत्र बन्द

सोमबार, ३० असार २०७६, १३ : १९
सोमबार, ३० असार २०७६

युएई-युएई भ्रमणको लागि यहाँस्थित नेपाली दूतावासले दिँदै आएको सिफारिस पत्र (एनओसी) बन्द गरिएको छ।

परराष्ट्र र गृह मन्त्रालयको निर्देशन भन्दै नेपाली दूतावास आबुधावीले आइतवार एक सूचना जारी गर्दै उक्त निर्णय जानकारी गराएको हो ।
 
सूचनामा सोमबारदेखि लागू हुने गरी संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका लागि भिजिट भिसामा आउन चाहने यहाँ कार्यरत नेपालीहरुका नजिकका नातेदारलाई राजदूतावासबाट जारी गरिँदै आएको नो अब्जेक्सन सर्टिफिकेट(एनओसी) जारी नगरिने उल्लेख गरिएको छ।

यसअघि युएईमा रहेका नेपालीले दूतावास मार्फत आफन्तहरुलाई युएई भ्रमणमा आउनको लागि मापदण्ड तोकेर (बाबु, आमा, सासु, ससुरा, छोरा, छोरी, श्रीमान,श्रीमती) को नाता प्रमाणित गरेर सिफारिस पत्र(एनओसी) लिँदै आएका थिए । 

भिजिट भिषामा आएका नेपालीले यहाँ आएर कामदार रुपमा काम गर्ने र समस्या पर्दा उद्दारमा समस्या देखिए पछि नेपाल सरकारले युएईमा भिजिट भिषामा आउन रोक लगाएको थियो । तर  दूतावासले सिफारिस  पत्र (एनओसी) दिएका नेपालीहरू  सहज रूपमा युएई आउने सक्थे।

गत केही समय अगाडि राजदूतावास युएईको सिफारिस पत्र (एनओसी)  दुरुपयोग गर्दै मोटो रकम लिएर भिजिट भिषाको सिफारिस हुने भन्दै सञ्चार माध्यममा समाचार प्रकाशन भए पछि गृहमन्त्रालयले तत्काल उक्त कदम रोक्न निर्देशन दिएको हुन सक्ने बताइएको छ। 

नेपाली दूतावास युएईको तथ्याङ्क  अनुशार दैनिक १५ देखि २० वटा सिफारिस पत्र (एनओसी) दूतावासबाट जारी हुने गरेकाे छ। तर नेपालको अध्यागमनमा दैनिक २०० सय भन्दा बढी नेपालीहरू युएई भित्रिने गरेको पाइन्छ।  परराष्ट्र मन्त्रालयका अनुसार कुनैपनि देश जानको लागि सिफारिस पत्र (एनओसी) नचाहिने बताइएको छ।

अझै पनि दलाललाई मोटो रकम बुझाएर सेटिङ्गमा भिजिट भिषामा युएई आउने नेपालीहरु थुप्रै भेटिन्छन् ।अध्यागमनले वास्तविक रुपमा भिजिट भिषामा घुम्न आउनेहरुलाई विमानस्थलबाट फर्काउने र सेटिङ्गमार्फत आउनेहरुलाई विना रोकतोक आउने गरेका उदाहरणहरु प्रशस्त भेटिन्छन् ।

श्रोतका अनुसार दूतावासकै कर्मचारीको मिलेमतोमा एनओसीको दुरुपयोग हुने गरेको छ । आवुधावी दूतावासले दैनिक १५ वटा एनओसी जारी गर्ने गरे पनि अध्यागमन विभागमा एनओसी लिएर सयौका संख्यामा नेपालीहरु पुग्ने गरेका थिए । 

सन् २००७ देखि जारी गर्न सुरु गरिएको एनओसी एकाएक बन्द गरिँदा सर्वसाधारणले आक्रोस ब्यक्त गरेका छन् । दूतावासमा हुने गरेको बदमासी लुकाउन सर्बसाधारणलाई जारी गर्ने गरिने एनओससी बन्द गरिएको नेपाल पत्रकार महासंघ युएई शाखाका सचिव मेघराज सापकोटाले बताए ।

 दुरुपयोगको छानबिन नगर्ने, भ्रष्ट कर्मचारी र दलाललाई कारबाही नगर्ने तर आम जनताले पाउने सुबिधा भने बन्द गरिनु गलत रहेकाे उनले बताए । 

दूतावासले आइतबार एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठ सहित राजनैतिक दलका भातृ संगठनका नेताहरु श्याम कंडेल, चित्र केसी, विश्व शाह लगायतलाई दूताबासमा बोलाएर निर्णयमा सहयाेग गर्न आग्रह गरेकाे थियाे । 

छलफलमा उपस्थितहरूले बिना रोकतोक नेपालीले  युएई  घुम्न पाउने वातावरण तयार गर्न दूतावासलाई आग्रह गरेकाे एनआएनए  युएईका अध्यक्ष रमेश श्रेष्ठले बताए । 

यता जनसम्पर्क समिति युएईका पूर्व  सभापति चित्र केसीले अध्यागमनमा कुनै रोकतोक नभए निर्णय स्वागतयोग्य भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बिनोद श्रेष्ठ
बिनोद श्रेष्ठ
लेखकबाट थप