मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

टुटल र पठाओमा यात्रु बोक्न कालो नम्बर प्लेटको मोटरसाइकल !

सोमबार, ३० असार २०७६, १३ : १२
सोमबार, ३० असार २०७६

यातायात व्यवस्था विभागले भाडा लिएर मोटरसाइकलमै यात्रु बोक्न पाउने गरी कानुन संशोधन गर्ने प्रस्ताव मन्त्रालयमा पेश गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमार प्रसाद दाहालले हाल सञ्चालनमा रहेपनि कानुनीरुपले नमिलेको टुटल र पठाओको सेवालाई व्यवस्थित गर्ने प्रस्ताव विभागीय मन्त्रीसमक्ष पेश गरेका हुन् ।

केही दिनअघि मात्रै यातायात व्यवस्था महानिर्देशक कुमार प्रसाद दाहालले मोटरसाइकलबाट यात्रु ओसारप्रसार गर्ने सेवालाई व्यवस्थित गर्ने र कर तथा बीमाको दायरामा ल्याउने गरी प्रस्ताव लगेका हुन् ।

त्यसका लागि कानुनमा संशोधन गरी भाडामा यात्रु बोक्ने कामका लागि मोटरसाइकलको नम्बर प्लेट कालो बनाउने प्रस्ताव गरिएको छ ।

महानिर्देशक दाहालले यातायात मन्त्रालयका सचिव र मन्त्रीसमक्ष पेश गरेको १५ बुँदे प्रस्तावको बुँदा नम्बर १२ मा यस्तो भनिएको छ ।

‘टुटल तथा पठाओ जस्ता सेवाले मोटरसाइकलबाट यात्रु ओसारपसार गरेको देखिएकाले यो कानूनविपरीत छ । यसलाई कानून बमोजिम नै बनाउन कालो नम्बर प्लेट दिने, करको दायरामा ल्याउने, इन्सुरेन्सको व्यवस्था गर्ने र भाडा नियन्त्रण गर्ने । त्यसो हुन नसकेमा सेवा नै बन्द गर्ने ।’

यद्यपि यो प्रस्तावउपर मन्त्रालयबाट कुनै काम कारवाही भने भएको छैन । विभागका महानिर्देशकको सुधारको प्रस्तावमा यो बुँदा उल्लेख भएको पाएपछि हामीले टुटलका प्रमुख कार्यकारी निर्देशक शिक्षित भट्टलाई यसबारे सोधेका थियौँ ।

उनको भनाई जस्ताको तेस्तै :

‘यातायात व्यवस्था विभागले मन्त्रालयमा पेश गरेको सुधारको प्रस्तावमा टुटल र पठाओले मान्छे बोक्नका लागि कालो नम्बर प्लेटमा मोटरसाइकल दर्ता गर्नुपर्ने प्रस्ताव गरेको भनेर पहिलोपटक तपाइँकै मुखबाट सुने । यस्तो प्रस्ताव पहिले बाहिर नआएकाले यसबारे थप केही बताउन सकिनँ ।’

‘जहाँसम्म कालो नम्बरप्लेटमा चलाउने भन्ने विषय छ, त्यो सम्भव छ जस्तो मलाई लाग्दैन । यसले त झन् समस्या ल्याउँछ । किनभने हामीले ‘राइड सेयरिङ’को कुरा गरेका हौँ । यसले यातायात व्यवस्थापनमा पनि सहयोग गर्छ । अब यात्रु बोक्नलाई कालो नम्बर प्लेटमा मोटरसाइकल राख्ने भन्ने कुरा भयो भने यहाँ फेरि मोटरसाइकलको सङ्ख्या थपिन्छ । त्यसकारण यो त्यति व्यवहारिक विषय हो जस्तो मलाई लाग्दैन । हाम्रो उद्देश्य भनेको यहीँ भएको श्रोत साधनलाई भरपुर प्रयोग गर्ने भन्ने हो ।’

जहाँसम्म करको दायरामा ल्याउने र बीमाको व्यवस्था गर्ने भन्ने कुरा छ, यो त राम्रो विषय हो । यसलाई हामीले व्यवहारिक बनाउन सक्छौँ र त्यसका लागि तयार पनि छौँ ।’

यातायात व्यवस्था विभागका महानिर्देशकले टुटल र पठाओलाई व्यवस्थित गर्ने भनेर मन्त्रालयमा प्रस्ताव लगेपनि त्यो कार्यन्वयनमा नआउँदै विभागका महानिर्देशक कुमार प्रसाद दाहाललाई भने सरुवा गरिएको छ ।

असार २३ गतेको मन्त्रीपरिषद् वैठकले महानिर्देशक दाहाललाई विभागबाट राष्ट्रिय सूचना आयोगमा सरुवा गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप