बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

देवेन्द्रको १० बुँदे आरोप : बाबुराम एकाडेमिकको घेराबन्दी परे, पार्टी एनजिओजस्तो भयो

बिहीबार, २६ साउन २०७४, १६ : ३१
बिहीबार, २६ साउन २०७४

काठमाडौँ । नयाँ शक्तिका नेता देवेन्द्र पौडेल ‘सुनिल’ लगायत १५ जना नेताहरुले पार्टीका संयोजक बाबुराम भट्टराईले लिएको ‘लाइन’ प्रति असन्तुष्टि जनाएका छन् । बिहिबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै भट्टाराईले तयार पारेको दस्तावेजप्रति असन्तुष्टि जनाएका हुन् ।


पत्रकार सम्मेलनमा पार्टी सुधारका लागि भन्दै १० बुँदे अपिलसमेत जारी गरिएको छ ।


पौडेलले छुट्टै पत्रकार सम्मेलन गर्ने भनेपछि उनले पार्टी परित्याग गर्ने चर्चा समेत चलेको थियो । तर, पौडेलले आफूहरुले पार्टी छाड्न नभएर पार्टीको सुधारका लागि पत्रकार सम्मेलन आयोजना गरेको स्पष्ट पारे ।


‘हामी पार्टी छाड्दैनौँ,’ पौडेलले भने, ‘हामीले पार्टीमा नयाँ बहस शुरु गर्न लागेका हौँ ।’


पौडेलले पार्टीले तयार गरेको दस्तावेज र पार्टीले लिएको लाइन अमूर्त भएको आरोप लगाए । उनले भने, ‘मात्र सम्बृद्धिको कुरा गरेर वा पाँच ‘स’ को कुरा गरेर मात्र हुँदैन । कसको लागि सम्बृद्धि, कस्तो सम्बृद्धि ? त्यो स्पष्ट हुनुपर्यो ।’ 


उनले आफूहरुको प्रयास पार्टीलाई मूर्त बनाउने भएको दाबी गरे । ‘हामीले नयाँ शक्ति भनेर पार्टी त बनायौँ । तर, अहिले हाम्रो पहिचान के हो भन्ने अलमल छ । हामी कता हराएको जस्तो भएका छौँ ।’


नेता पौडेलले बाबुराम भट्टराई सीमित व्यक्तिहरुको घेराबन्दीमा परेको पनि आरोप लगाए । ‘वहाँ बढी एकाडेमिक सार्थीहरुको प्रभावमा पर्नु भएको छ । वहाँ सीमित व्यक्तिको घेराबन्दीमा पर्नु भएको छ,’ उनले भने, ‘हामी बाबुराम भट्टराईलाई नेता बनाउन चहान्छौँ । तर, यसरी सीमित घेरामा बसेर हुँदैन । यो वहाँकै हितमा छ ।


उनले पार्टी श्रमजीवी र उत्पीडित वर्गको हितमा हुनुपर्नेमा भट्टराईको दस्तावेजमा त्यो कुरा उल्लेख नभएको बताउँदै पार्टी एनजिओ जस्तो भएको पनि आरोप लगाए ।


पौडेलले नयाँ शक्तिसहित परिवर्तनकारी शक्तिहरुबीच ध्रुवीकरण हुनुपर्नेमा पनि जोड दिए । ‘प्रचण्ड, बाबुराम, किरण, विप्लव, उपेन्द्र, जनजातिहरुको ध्रुवीकरण हुनुपर्छ भन्नेकुरा बाबुरामजीले बुझ्नुपर्छ । नत्र परिवर्तन सम्भव छैन,’ उनको भनाई थियो ।


जारी अपिलमा पौडेलसहितमहेन्द्र पासवान, बामदेव क्षेत्री, कुमार पौडेल, मुक्ति प्रधान, पासाङ शेर्पा, हिसिला श्रीपाली, बलावती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहिद अनसारी, लाल किरण, शमिर्ली लामा, रत्न राणा र रविन्द्र सुनुवारको हस्ताक्षर रहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप