शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पहिले सेल्फी त्यसपछि पढाई, नमाने गयो कमाई

सोमबार, ३० असार २०७६, १० : ४५
सोमबार, ३० असार २०७६

भारतको उत्तर प्रदेशको बारम्बंकी जिल्लामा प्राइमरी स्कूलका अध्यापकका लागि निकै अचम्मको तरिकाले हाजिर गर्नुपर्ने नियम लागु भएको छ । नयाँ नियम अनुसार अध्यापकहरुले ठिक आठ बजे स्कूल पुगेर कर्मचारी र बच्चासँग सेल्फी खिच्नुपर्नेछ, त्यसलाई विभागको ह्वाट्सएप ग्रुपमा पठाउनुपर्ने छ, अनिमात्रै पढाई र अन्य काम गर्नुपर्नेछ ।

यो व्यवस्थाको पालना नगर्ने र अनुपस्थित रहने अध्यापकको एक दिनको तलब दण्डस्वरुप काटिने बताइएको छ । यस्तो नियम लागु गर्नुपर्ने कारण बताउँदै जिल्लाका शिक्षा अधिकारीले भने, ‘धेरैजसो अध्यापक समयमै स्कूल नपुग्ने र छुट्टीमा धेरै बस्ने उजुरी आएपछि यस्तो निर्णय लिइएको हो ।’

शिक्षा अधिकारी वीपी सिंहले बीबीसीसँगको कुराकानीमा गत अप्रिलमा नयाँ सत्र सुरु भएदेखि नै यो नियम लागु गरिएको बताए । उनले भने, ‘अप्रिल महिनामा केही दिन स्कूल खोलेपछि गर्मीको छुट्टी भएको थियो । जुलाई १ पछि विद्यालय सुचारु भयो र शिक्षकलाई यो नियम पालना गर्न कडा निर्देशन दिइएको छ । अहिलेसम्म अनुपस्थित रहने वा सेल्फी नराख्ने करिब सात सय शिक्षकको एक दिनको तलब काटिएको छ ।’

बाराबंकीमा सरकारी प्राइमरी र मिडिल स्कूलमा करिब साढे सात हजार अध्यापक छन् । यी सबैमा यो नियम लागु गरिएको छ । उनीहरु सबैलाई बिहान आठ बजे स्कूल पुगेर विद्यार्थीसँग सेल्फी खिच्न र त्यसलाई बेसिक शिक्षा विभागको वेब पेजमा पोष्ट गर्न लगाइएको छ । यो नयाँ व्यवस्थालाई ‘सेल्फी अटेन्डेन्स मिटर’ नाम दिइएको छ ।

हुन त धेरैजसो अध्यापकले यसलाई ठिक मानिरहेका छन् तर कतिलाई भने यसमा आपत्ति छ ।

बंकी ब्लकको कन्या जुनियर हाई स्कूलकी एक शिक्षिका पारुल शुक्ला भन्छिन्, ‘यसले शिक्षकको आत्मसम्मानलाई ठेस पुर्याउँछ । हाजिरीको व्यवस्था पहिले नै थियो तर पनि तपाईंहरु हामीलाई सेल्फीको लागि बाध्य बनाएर के भन्न चाहनुहुन्छ ? के शिक्षकहरु अनुशासनहीन भएकै कारण उनीहरुमाथि विभिन्न नियम लागु गरिँदैछ ? आखिर यी सबै प्रयोग अन्य विभागमा किन हुँदैन, किन शिक्षकमाथि नै यस्ता नियम लादिएका हुन्छन् ?’

पारुल शुक्लाका अनुसार उनी सधैं समयमा नै स्कूलमा आउने र जबदेखि नियम लागू भयो, सेल्फी पनि पोस्ट गरिरहेकी छिन् तर नयाँ व्यवस्थाले आफूलाई कसैले शंकाको दृष्टिले हेरिरहेको भान हुने बताउँछिन् । पारुल शुक्लाकी अन्य सहयोगी सविता यादवलाई सेल्फी पठाउन कुनै आपत्ति नभएको तर पारुलको कुरासँग आफू पूर्ण सहमत भएको बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप