शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपा नेता–सल्लाहकारहरूको कटु अभिव्यक्ति : द्वन्द्वको आगो झोस्ने कि समाधानको सूत्र खोज्ने ?

आइतबार, २९ असार २०७६, १२ : ०८
आइतबार, २९ असार २०७६

काठमाडौँ । नेपालको इतिहासमा त्यस्तो मौका विरलैले पाएका छन्, जुन मौका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र त्यसका नेतृत्व गरिरहेका प्रधानमन्त्री केपी ओलीले अहिले पाएका छन् । इतिहासमै सम्भवतः पहिलो पटक नेपाली जनताले प्रचण्ड बहुमतको नैतिक, भौतिक र कानुनी बलका साथ सुनको थालीमा पस्केर सत्ताको साँचो नेकपालाई सुम्पिदिएको छ, जुन मौका यसअघिका कुनै पनि सरकारले पाएकै थिएनन् । विरलै प्राप्त हुने यस्तो सुनौलो मौकाको फाइदा उठाउँदै इतिहासमा आफू, आफ्नो सरकार र सिङ्गो पार्टीलाई अमर तुल्याउने महान अवसर यतिखेर केपी ओली नेतृत्वको सरकार र नेकपाका सामु छ । तर दुर्भाग्यको कुरा, सरकारले पक्रेको दिशा र नेकपाको समग्र हिँडाइको पदचापले इतिहासको त्यो सुनौलो अवसरलाई पक्रेर अघि बढ्न सकिरहेको देखिँदैन ।

यतिखेर ओली सरकार, त्यसका आधारभूमिको रूपमा रहेको नेकपा पार्टीले अनिवार्य रूपमा तत्कालै गर्नैपर्ने कार्य भनेको पार्टी एकतालाई तीव्र गतिमा पूर्णता दिँदै पार्टीलाई एक ढिक्कामा रूपान्तरण गर्ने, पार्टीभित्रका मतभेद र मनभेदका खाडलहरूको दायरालाई खुम्च्याउँदै आन्तरिक बहस, छलफल र वादविवादहरूको माध्यमबाट पुरेर लैजानु नै हो । अनि यसका लागि अनिवार्य रूपमा गर्नैपर्ने काम भनेको विधि, विधान र साङ्गठनिक पद्धतिलाई धुजाधुजा पार्दै आपसमा गाँड कोराकोर गरेर मतभेदहरूलाई सडकसम्म छताछुल्ल हुने गरेर पोख्ने कामलाई तुरुन्तै रोक्नु पनि हो ।

दुःखको कुरा, त्यसो हुन सकिरहेको छैन । पार्टीभित्रको मतभेद र मनभेदहरू झनझन फाट्दै गएको आभास दिनेखालका अभिव्यक्ति र क्रियाकलाप नेता–सल्लाहकारका सार्वजनिक अभिव्यक्तिमा अनि सामाजिक सञ्जालमा आएका टीकाटिप्पणीबाट मनग्गे देखिन थालेका छन् । फलतः नेताहरूले मतभेद नरहेको र एकता बलियो बन्दै गइरहेको सफाइ जतिसुकै दिए पनि त्यसले प्रष्ट देखाएको छ ः नेकपाभित्र मनभेद र मतभेदले गहिरो जरो गाडेको छ, त्यहाँ आन्तरिक किचलो अझै बाँकी छ र सोही कारण सरकारको काम कारबाही प्रभावित त भएकै छ, त्यसले समग्र देशमा नै नकारात्मक प्रभाव सिर्जना गर्दै गइरहेको छ । परिणामतः स्वाभाविक रूपमा त्यसले नजानिँदो ढङ्गले लोकतन्त्र र अहिले अपनाइँदै आएको शासन पद्धतिकै बारेमा पनि आम जनतामा निक्कै नकारात्मक भावनाको विकास गर्ने खतरनाक सम्भावनालाई पनि मलजल गर्दै गइरहेको छ ।

सामाजिक सञ्जालका लडाइँले सङ्केत गरेका खतरनाक पक्षहरू

पछिल्लो समयमा लेख, रचना, समाचार, ट्विटर र फेसबुकबाट एकअर्कालाई प्रहार गर्ने काम नेकपाका, अझ सरकारमा समेत रहेका जिम्मेवार नेताहरूबाट बारम्बार हुँदै आइरहेको देखिन्छ । त्यसको पछिल्लो उदाहरण तरकारीको ‘विषादी परीक्षण प्रकरण’ र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ‘श्यामशरणले भेटे’ भनिएको प्रसङ्गलाई लिन सकिन्छ ।

२१ गते बसेको नेकपाको संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएपछि विष्णु रिमालबाट एउटा ट्विट आयो । साङ्केतिक रूपमा नै सही, सार्वजनिक रूपमा आएको सो ट्विटमा प्रयुक्त भाषा र शब्दावलीको घोर आलोचना त भयो नै, सो ट्विट तत्कालीन माओवादी केन्द्रका नेताहरूप्रति लक्षित रहेको बुझ्न कसैलाई गाह्रो भएन ।

रिमालको ट्विटको भाषा यस्तो थियोः

‘भनिन्छ, छौँडाहरू आफै चलमलाउँदैनन् कसैले छोड्छन्, दुःख दिन्छन् ! यी छौँडाहरू आफै चलमलाएका हुन् कि कसैले छोडेका ?’

संसदीय दलको बैठकमा प्रधानमन्त्रीलाई लक्षित गरेर विषादी प्रकरण तथा र पार्टीको एकीकरणमा भइरहेको ढिलाइलाई लिएर पूर्वमाओवादी केन्द्रका नेताहरूले आलोचना गरेका थिए । प्रधानमन्त्री ओलीको आलोचनापछि रिमालको त्यस्तो ट्विट आएको थियो । ट्विटमा सोझो भाषा प्रयोग गरिएको थिएन, त्यसमा बिम्बको प्रयोग गरिएको थियो । तर समयसन्दर्भ र त्यसमा प्रयुक्त शब्दावलीका कारण लख काट्न गाह्रो भएन, उनको ट्विट नेकपाभित्रका पूर्वमाओवादीका नेताहरूविरुद्ध केन्द्रित रहेको छ ।

रिमाल प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार हुन् । उनले लेख्ने र बोल्ने कुरामा धेरैजसो प्रधानमन्त्री ओलीको भावना, सोच र चाहना प्रतिबिम्बित हुन्छन् भन्ने बुझाइ धेरैको छ ।

नेकपाका स्थायी समितिका सदस्य जनार्दन शर्माले त्यसको भोलिपल्ट आफ्नो फेसबुकमा लेखे विनाशकाले विपरीत बुद्धि... उफ’ । धेरैको बुझाइ छ, नेता शर्माको सो पोस्टको अन्तर्य सल्लाहकार रिमाललाई दिइएको जवाफ हो किनभने संसदीय दलको बैठकमा नेता शर्माको प्रस्तुति निक्कै कडा नै थियो ।

कुरा त्यतिमा नै सकिँदैन, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारले यसरी ट्विट गर्नुभन्दा पहिले प्रधानमन्त्री ओलीकै अर्का परराष्ट्र सल्लाहकार राजन भट्टराईले ‘भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुँदै गरेको अवस्था’ भनी आफ्नो फेसबुकमा लेखेका थिए ।

सरकारको काम कारबाही र साङ्गठनिक गतिविधिमा पार्टीभित्र र बाहिर आलोचना बढ्न थालेपछि सल्लाहकार भट्टराईले असार १० गते फेसबुकमा लेखे, ‘बढ्दो जनअपेक्षा, सरकारको कमजोर डेलिभरी प्रणालीबाट उत्पन्न जनअसन्तुष्टिका माध्यमबाट सक्दा वर्तमान व्यवस्था र संविधान उल्ट्याउने नभए वर्तमान सरकारका विरुद्ध प्रयोग गर्ने । यसका लागि कुन कुन व्यक्ति र शक्तिहरूलाई एक ठाउँमा ल्याएर मुलुकमा अस्थिरता र अन्योलता सिर्जना गर्न सकिन्छ, त्यो गर्ने । यसका लागि भित्र र बाहिरका केही शक्तिहरू सक्रिय हुँदै गरेको अवस्था अर्थात् इतिहास पुनरावृत्ति गर्ने दुस्प्रयास । समयमै सचेत भई जनमतको कदर गर्दै जनअपेक्षा पूरा गर्नतर्फ सबै केन्द्रित होऔँ ।’

यसरी फेसबुकमा लेखेको कुराबारे प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईसँग जिज्ञासा राख्दा सुरुमा त उनी झाँेक्किएँ । उनले अरूले कहाँ कसले के लेख्छ, त्योबारे आफूलाई केही मतलब छैन तर आफूले लेखेको विषयलाई जिम्मा लिने भनी रातोपाटीलाई बताए ।

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार भट्टराई भन्छन्, ‘मैले लेखेको कुराको जिम्मेवारी म लिन्छु, अरू कसले के लेखे, त्यसको जिम्मेवारी लिन्नँ । मैले के लेखेँ, त्यो मलाई थाह छ, त्यसको जिम्मेवारी म लिन्छु । बाँकी कुरा केही दिनपछि गर्छु ।’

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार जस्ता व्यक्तिले समाजिक सञ्जालमा यो स्तरको कुरा लेख्नु चानचुने कुरा होइन । पक्कै पनि उनले केही न केही सङ्केत थाहा पाएर नै लेखेका होला । सम्भवतः उनले सङ्केत गरेको बाहिर शक्ति भनेको प्रतिपक्षी दललगायत विभिन्न शक्तिसहित अन्तराष्ट्रिय शक्ति नै हो । अनि उनले सङ्केत गरेको भित्री शक्ति भनेको मुलुकभित्र प्रतिगमनको चलखेल गरेका शक्तिहरू मात्रै होइन, पार्टीभित्रकै शक्तिलाई समेत भनेको हुन सक्ने धेरैको बुझाइ रहेको छ ।

स्मरण रहोस्, दुई तिहाइको प्रचण्ड बहुमतका साथ सत्तासीन प्रधानमन्त्री ओलीले गरेको कामकारबाही तथा अधिकांश निर्णयको बारेमा पार्टी बाहिर र भित्रबाटै पनि आलोचना, टिप्पणी हुँदै आएका छन् ।

प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार रिमालको टिप्पणी ट्विटरमार्फत् सार्वजनिक भएको चार दिनपछि नेकपा केन्द्रीय सदस्य सूर्य थापाले पार्टीका बारेमा १२ बुँदे लामो फेहरिस्त आफ्नो फेसबुकमा लेखेका छन् । त्यसमा पूर्वएमालेका नेता तथा सांसददेखि लिएर पूर्वमाओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, सो दलका नेता तथा कार्यकर्तालाई डाम्ने कामसमेत उनले गरेका छन् ।

उनले लेखेका छन्, ‘पूर्वमाओवादी केन्द्रका तर्फबाट मन्त्री भएका केही व्यक्तिहरूको विवादास्पद निर्णय निर्देशित र निहित परिणाम लक्षित जस्तो छ । त्यसो गर्दा कूटनीतिक सम्बन्धको समेत ख्याल नगरी बिगार्ने खालको र संशयपूर्ण गतिविधि रहेको छ ।’

सल्लाहकार रिमाल र भट्टराईभन्दा उनी स्पष्ट रूपमा आएका छन् । उनले रिमाल र भट्टराईलाई पनि जवाफ दिएका छन् । उनले आफ्नो फेसबुकमा लेखेका छन्, ‘बोल्नै नपर्ने विषयमा प्रधानमन्त्री र सल्लाहकारहरूको जवाफी फायरिङ चलेको छ । काममा दिने जवाफ कुराले दिँदा तिक्तता झनै बढ्न बल पुगेको छ । भारतमा १० वर्ष मनमोहन सिंह र चीनमा सी जिन पिङको जारी कार्यशैली अनुकरण गरी नेतृत्वले कुराले भन्दा कामले परिणाम देखाउनु जरूरी छ । मूल्याङ्कन त कसैको पनि सुन्दर कुरामा होइन, औसत काममा हुने हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीको बचाउ गर्दै नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई पनि प्रहार गरेका छन् । उनले प्रचण्डको बारेमा यसो भनेका छन्, ‘पार्टीको भूमिका शून्यप्रायः रहेको छ । एकता प्रक्रियामा ढिलाइको सरकार सञ्चालनमा प्रत्यक्ष नकारात्मक असर परेको छ । दोस्रा अध्यक्षको सार्वजनिक अभिव्यक्ति सदैव आगोमा पानी हालेर समस्या–समाधानमुखी होइन, इन्धन हालेजस्तो अस्थिरता बढाउन लक्ष्यित जस्तो र तरङ्गित पार्न उद्यत महसुस गर्न सकिन्छ ।’

पार्टीभित्रैका जिम्मेवार नेताहरूले यसरी खुलेर एक अर्काको टिप्पणी गर्न थालेपछि त्यसको नकारात्मक प्रभाव र तरङ्ग चारैतिर फैलिएको छ ।

****

राजनीतिक विश्लेषक एवं लेखक हरि रोक्का भन्छन्, ‘नेपाल कम्युनिस्ट पार्टीका जिम्मेवार नेताहरूले जुन प्रकारका अभिव्यक्ति दिएका छन्, त्यसले  पार्टीभित्र मेलमिलाप छैन, छलफल नै हुँदैन, नेताहरू संस्थागत हुन नसकेको सन्देश समेत जान्छ ।’

****

नेकपाभित्र मौलाउँदै गएको यो प्रवृत्तिबारे टिप्पणी गर्दै राजनीतिक विश्लेषक एवं लेखक हरि रोक्का भन्छन्, ‘नेपाल कम्युनिस्ट पार्टीका जिम्मेवार नेताहरूले जुन प्रकारका अभिव्यक्ति दिएका छन्, त्यसले कसैलाई फाइदा हुँदैन ।’

‘सत्ताधारी दल भएका कारणले यस्तो अभिव्यक्तिका असर समग्र देशमा नै पर्ने’ भन्दै विश्लेषक रोक्काले ‘पार्टी, सरकारमा नकारात्मक असर मात्र पर्ने होइन, यसले त पार्टीभित्र मेलमिलाप छैन, छलफल नै हुँदैन, नेताहरू संस्थागत हुन नसकेको सन्देशसमेत जाने’ टिप्पणी गरे ।

सरकारले गरेको काम प्रभावकारी हुन नसकेको कुरा चारैतिर उठिरहेको छ । सरकारले गरेको काम प्रधानमन्त्री ओली स्वयंले प्रचार गरिरहेका छन् । पार्टीले त्यसको बारेमा कुनै जस–अपजस लिइरहेका छैनन् । यसको मुख्य कारण नेताहरूले बाहिर बोल्ने गरेको अभिव्यक्ति नै हो ।

राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘पार्टीका जिम्मेवार नेताहरूबाट जुन प्रकारका अभिव्यक्तिहरू आइरहेका छन् । त्यसले प्रष्ट हुन्छ कि पार्टीभित्रको द्वन्द्व समाप्त भएको छैन ।’ सुवेदीका अनुसार, ‘नेताको अभिव्यक्तिले न पार्टीलाई भलो गर्न सक्छ न सरकारलाई भलो गर्छ । यो घर झगडाले चारैतिर असर गर्छ ।’

नेकपाभित्र मौलाएको अविश्वास र गाँडकोराकोर अनि नेतालाई खुइल्याउन खोज्ने प्रवृत्तिको उदाहरणका रूपमा प्रचण्ड र नेपालका लागि पूर्वभारतीय राजदूत श्यामशरण बीच भेटघाट भएको भनी आएको समाचार प्रकरणलाई पनि लिन सकिन्छ । श्यामशरण दिल्लीबाट आएर सीधै नेकपाका अध्यक्ष प्रचण्डलाई भेटेर पुनः दिल्ली फर्केको समाचार सञ्चारमाध्यममा आएका थिए ।

यस्तो खालको विचित्रको समाचार कहाँबाट कसरी आयो भन्नेबारेमा प्रधानमन्त्री प्रचण्डको सचिवालय र भारतीय दूतावास समेत अच्चममा परेका छन् । सो समाचार आएपछि दूतावासले पनि चासो राखेर कतै अनौपचारिक रूपमा थाहै नदिई श्यामशरण आएकै पो हुन् कि भनी खोजबिन गरेको तर त्यस्तो फेला नपारेको बुझिएको छ । 

श्यामशरण र प्रचण्डबीच भेटघाटको विषयमा बुझ्नका लागि सम्पर्क गर्दा दूतावासले पनि अनभिज्ञता प्रकट गर्यो । दूतावासका प्रवक्ता अभिशेष दुवेदीसँग यस विषयमा औपाचरिक प्रतिक्रिया माग्दा उनको उत्तर थियो, ‘नो कमेन्टस् ।’

सो समाचार आएपछि प्रचण्डका सचिवालय झन् अच्चममा परेको थियो । खासगरी, प्रचण्डको राजनीतिक छवि खुइल्याउन र उनलाई भारतपरस्त भनी बदनाम गराउनका लागि पार्टीभित्रैबाट कसैले यो समाचार बनाउन लगाएको प्रचण्ड सचिवालयको दाबी छ । प्रचण्ड निकट नेकपाका एक नेताका अनुसार एकातिर रिमाल, रिजाल, भट्टराई, थापाहरूको त्यस किसिमका विचारहरू सार्वजनिक हुनु र अर्कोतिर त्यस किसिमको उडन्ते खबर मिडियामा आउनु संयोग मात्रै  हुन सक्दैन ।’

प्रचण्डका स्वकीय सचिवसमेत रहेका गङ्गा दाहालले त आफ्नो फेसबुकमार्फत् प्रचण्ड र श्यामशरणबीच भएको भेट भएको भन्ने समाचारलाई खण्डन नै गरेका छिन् ।

उनले लेखेकी छिन्– नेकपा अध्यक्ष तथा पूर्वप्रम क. प्रचण्डले हालै नेपालका लागि एक पूर्वभारतीय राजदूत श्यामशरणसँग गोप्य भेटघाट गरेको भन्ने समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । कमरेड प्रचण्डका कुनै पनि कूटनीतिक भेटघाटहरू गोप्य र रहस्यमय छैनन्, बरु ती पारदर्शी एवं पार्टी तथा सरकारी निकायहरूसँगको समन्वयमै भइरहेका छन् । हालसालै कुनै भारतीय व्यक्ति वा निकायसँग उहाँको त्यस प्रकारको गोप्य भेट भएको छैन । तसर्थ त्यससँग जोडेर गरिएका प्रचारबाजी असत्य, नियोजित र दुराशययुक्त छन् ।

त्यस्तै, तरकारीको विषादी परीक्षण प्रकरणमा अध्यक्ष प्रचण्डलाई जबर्जस्ती जोडेर गरिएको कुप्रचार भत्र्सनायोग्य छ । मुलुक र जनताको हितका लागि नेपाल सरकारद्वारा गरिएको र गरिनुपर्ने यस कामबारे अध्यक्ष प्रचण्ड सचेत र स्पष्ट हुनुहुन्छ । नेपालको रूपान्तरणका लागि ठूलो ऐतिहासिक भूमिका खेलेको नेपाली पत्रकार जगतबाट निरन्तर सत्य तथ्य समाचार मात्र आउने कुरामा हामी विश्वास व्यक्त गर्छौं ।’

त्यसो त भारतबाट आउने तरकारी तथा फलफूल प्रकरणमा प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने गरी जसरी स्थिति सिर्जना भयो, त्यसलाई पनि प्रम ओलीलाई खुइल्याउने गरी पार्टीभित्रैबाट भएको डिजाइन थियो भनी मान्नेहरू पनि कम छैनन् । स्मरण रहोस्, विषादीको बारेमा भारतका तर्फबाट कुनै दबाब परेको छैन भनी प्रधानमन्त्री ओली र अन्य मन्त्रीहरूले भनिरहेकै बेला नेपालस्थित भारतीय दूतावासले त्यसअघि नै पठाएको पत्र सार्वजनिक भएको थियो । सोही प्रकरणबारे ट्विटरमा खरो टिप्पणी गर्दै नेकपा नेता भीम रावलले पनि लेखेका थिएः विश्व व्यापार संगठन अन्तर्गत अन्तर्राष्ट्रिय सम्झौता अनुरूप सबै देशहरूले उपभोग्य वस्तु, फलफूल, तरकारी र बिरुवाको आयात गर्दा जनताको स्वास्थ्य सुरक्षा र विषादीबाट जोगाउन सही मापदण्ड अनुरूप भए नभएको परीक्षण गर्न पाउँछन्, गर्नुपर्छ । कसैको दबाबमा आएर सरकार कर्तव्य विमुख हुन मिल्दैन ।

श्यामशरण र प्रचण्डबीच गोप्य भेटघाट भएको समाचार उछाल्नुको अन्तर्य पनि ओलीलाई बदनाम गर्न खोजेजस्तै पार्टीभित्रैबाट डिजाइन भएको चलखेल थियो भनेर मान्नेहरू पनि कम छैनन् ।

खासमा, तत्कालीन माओवादी र तत्कालीन एमालेबीच पार्टी एकीकरण भएर नेकपा बनेको भए पनि अझै पनि पार्टीभित्र ती दुई सङ्गठनहरूको अस्तित्वको चिरा देख्न सकिन्छ । त्यसमाथि थप ती दुई पूर्व पार्टीमा रहेका गुट–उपगुट पनि आफैमा चलायमान छन् र आफ्नो अस्तित्व सिद्ध गर्न बेलाबेलामा चलखेल गरिरहेकै हुन्छन् । यतिखेर स्वयं नेकपा अनि मुलुकको स्वास्थ्यका लागि खाँचो भनेको गुट उपगुट र पूर्वपार्टीको अस्तित्वलाई मेट्दै सिङ्गो पार्टीलाई एक ढिक्का बनाउने दिशातिर प्रयत्नशील हुनु नै हो । तर त्यसको ठीकविपरीत, पार्टी एकतालाई विथोल्ने, पार्टीभित्रका गुटउपगुटलाई नै मलजल हुने गरी बेलाबेलामा नेता, सल्लाहकारहरूबाट आउने कटु अभिव्यक्तिले स्वाभाविक रूपमा प्रश्न उठ्छ, अझै पनि स्वार्थ र तुष्टीकरणको खरानी पाउनका लागि पार्टीलाई नै भष्म पार्ने गरी, अनि मुलुकलाई नै भड्खालोमा जाक्ने गरी द्वन्द्वको आगो झोस्ने कि समाधानको सूत्र खोज्ने ?  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप