शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आफ्नो पैसाको राम्रो व्यवस्थापन कसरी गर्ने ? पैसा कसरी बढाउने ?

आइतबार, २९ असार २०७६, ११ : २९
आइतबार, २९ असार २०७६

के तपाईंको कहिले आफ्नो पार्टनरसँग पैसाको विषयमा बहस भएको छ ? अथवा, परिवारका कुनै सदस्य वा साथीसँग भएको छ ?

साधारणतया हामी पैसाबारे कुरा गर्दैनौं किनभने यसले अर्को व्यक्तिलाई अचम्ममा पार्न वा नराम्रो लाग्न सक्छ । तर पैसाको मामलालाई सधैंभरी नजरअन्दाज गर्न सकिँदैन । र जब पैसाको विषयमा बहस हुन्छ तब त्यसको अन्त्य निकै नराम्रो हुन्छ ।

सम्बन्धबीचको तनावमा पैसा एउटा ठूलो कारण हुनसक्छ ।

ब्रिटेनमा भएको एक हालैको सर्वेक्षण अनुसार पैसाको कारण भएको झगडाले सबैभन्दा धेरै सम्बन्ध टुट्यो । यो अनुसन्धान च्यारिटी रिलेट, रिलेशनशिप्स स्कटल्याण्ड एण्ड म्यारिज केयरको तर्फबाट गरिएको थियो । यसअघि नेशनल अफिस अफ स्टेटिस्टिक्सको तर्फबाट गरिएको सर्वेक्षणमा पनि यो कुरा सार्वजनिक भएको छ ।

र पैसा, श्रीमान्–श्रीमतीबीचको सम्बन्धमा मात्रै नभई परिवार र साथीभाइबीच पनि मनमुटावको साधारण कारण हो ।

यी सबै समस्याको समाधान भनेको पैसाको विषयमा जति पनि कुरा छन् ती सबैमा स्पष्ट हुनु हो अर्थात्, पैसाबारे दुई पक्षबीच इमान्दार र खुल्ला रुपमा कुराकानी हुनुपर्छ ।

तर यो मामलामा झगडाको मुख्य कारण के हो ?

तपाईं पैसा बचाउने व्यक्ति हो कि उडाउने ?

पैसाबारे भिन्न व्यक्तिको धारणा भिन्न हुन्छ, यही नै बहसको मुख्य कारण हो ।

तपाईं खर्चिलो हुनुहुन्छ वा पैसा बचाउने किसिमको, यो तपाईंको सुरुवाती जीवनको अनुभव वा घरको स्थितीमा पनि निर्भर हुन्छ । अर्थात्, तपाईंलाई यो बानी बाल्यकालदेखि नै लागेको हुन्छ ।

तर यसको अर्थ तपाईं यो मामलामा आफ्नो आमा–बुवा जस्तै हुनुहुन्छ भन्ने होइन । कतिपयले बाल्यकालमा पैसाको अभाव देखेको तर पछि गएर निकै खर्चिलो भएको पनि देखिएको छ । पहिला पैसा नभएर खर्च गर्न नपाएको  र अहिले पैसा भएपछि धेरै खर्च गर्ने बानी धेरैको हुन्छ ।

कतिका लागि पैसा जीवनलाई सुरक्षित बनाउने तरिका हो भने कतिका लागि यो स्वतन्त्रता हो । यस्तै गरी कतिको लागि यो प्रेम देखाउने तरिका हुनसक्छ र कतिका लागि यसले शक्ति र स्टेटस महसुस गराउनसक्छ ।

त्यसकारण पैसासँग हाम्रो सम्बन्ध निकै जटिल र गहिरो हुन्छ । र जब पैसाको विषयमा आफूभन्दा अलग सोच भएका व्यक्तिसँग भेट हुन्छ तब दुईबीच भ्रम र तनावको सम्भावना अत्यधिक हुन्छ ।

तपाईं पैसालाई निकै सावधानीपूर्वक खर्च गर्नहुन्छ होला तर तपाईंको साथी नयाँ कपडामा र पार्टी गरेर धेरै पैसा उडाउने गर्नुहुन्छ होला । यतिबेला उहाँलाई लाग्न सक्छ कि तपाईंले अत्यधिक कञ्जुसी गर्न छोड्नुपर्छ र कहिलेकाँही केही कुरामा खर्च गर्नुपर्छ ।

कोसँग धेरै पैसा र कोसँग कम ?

यदि तपाईंले एउटा नयाँ सम्बन्धको सुरुवात गर्नुभएको छ र ‘मेरो पैसा’, ‘तिम्रो पैसा’ लाई ‘हाम्रो पैसा’ मा परिवर्तन गरिएको छ भने पछि गएर केही कुरा हुनसक्छ ।

त्यसपछि जब तपाईं त्यो पैसा खर्च गर्नेबारे सोच्नुहुन्छ तब मतभेद निम्तिन सक्छ ।

त्यो पैसा दुबैको आधा–आधा हो भन्नु पनि ठिक हुँदैन । यस्तो अवस्थामा सबै कुरा ठिक बनाउन कुन तरिका अपनाउने त ?

र यदि भोलि स्थिती परिवर्तन भए तपाईं के गर्नुहुन्छ, जस्तै कि बच्चा जन्मिन सक्ला वा तपाईंहरुले अलग्गिने निर्णय लिनुहोला । यस्तो बेला के गर्ने ?

अथवा, तपाईंको पुर्ख्यौली सम्पत्ति पनि त्यो पैसामा परेको छ भने तपाईं त्यसलाई आपसमा कसरी बाँड्नुुहुन्छ ?

यदि तपाईंको पैसा तपाईंको साथीको पैसाभन्दा कम छ भने यसले पनि तपाईंको सम्बन्धमा समस्या निम्त्याउन सक्छ । तपाईंलाई नराम्रो लाग्नसक्छ । आफू कसैमा निर्भर भएको तपाईंलाई लाग्न सक्ला ।

अविश्वासः

जेम्सलाई जब उनकी श्रीमतीले थाहै नदिई क्रेडिट कार्डबाट हज्जारौं पाउन्ड खर्च गरिसकेकी छिन् भन्ने थाहा भयो तब उनलाई ठूलो धक्का लाग्यो । उनलाई श्रीमतीले विश्वासघात गरेको भान भयो ।

जब तपाईं कुनै सम्बन्ध सुरु गर्नुहुन्छ तब त्यसमा विश्वासको स्तर निकै धेरै हुन्छ । तपाईं आफ्नो साथीलाई विश्वास गर्नुहुन्छ र तपाईंलाई लाग्छ कि उसले तपाईंलाई केयर गर्नेछन् ।

तर यदि पैसाको विषयमा तपाईंहरुको सोचमा अन्तर छ भने दुबै बीचको विश्वास नराम्रोसँग टुट्नसक्छ ।

त्यसकारण तपाईं आफ्नो खर्च गर्ने बानीबारे इमान्दार बन्नुपर्ने हुन्छ र जतिपनि खर्च गर्नुहुन्छ त्यसबारे खुलेर कुरा गर्नुपर्ने हुन्छ ।

पैसा न त उधारो लिनुहोस्, न दिनुहोस्ः

यदि तपाईंसँग कसैले पैसा माग्छ भने के गर्ने ?

निकै मिल्ने साथी, आफन्तले घर बनाउन वा नयाँ कार खरिद गर्न भन्दै पैसा माग्न सक्छन् ।

तपाईं उनीहरुलाई खुसीखुसी पैसा उधारो दिनुहुन्छ । तर यदि उनीहरुले त्यो पैसलाई उपहार ठाने र फिर्ता नै दिएनन् भने के होला ?

त्यसकारण यदि पैसा उधारो दिँदै हुनुहुन्छ भने सुरुमा नै स्पष्ट कुरा गर्नुहोस् ता कि भविष्यमा कुनै समस्या नहोस् ।

यी सबै स्थितीमा सम्पूर्ण कुराकानी इमान्दारिता र खुल्ला रुपमा हुन जरुरी छ ।

आर्थिक विशेषज्ञ जिन थ्यूरेरले ६ टिप्स दिएका छन् जसमार्फत् तपाईं पैसाका कारण निम्तिने बहसलाई रोक्न सक्नुहुन्छः

सही समयमा पैसाबारे कुरा गर्नुहोस्ः

एकजनालाई भनेको जस्तो गरेर पार्टनरलाई सुनाउने काम नगर्नुहोस् र सवाल जवाफ गरेर झगडाको सुरुवात नगर्नुहोस् । सही समयमा पैसाबारे कुरा गर्नुहोस् ।

आफ्नो साथीलाई कमजोर नदेखाउनुहोस्ः

आफ्नो कुरामा स्पष्ट हुनुहोस् तर साथीमाथि आरोप लगाउनबाट बच्नुहोस् ।

आफ्नो बजेटबारे कुरा गरिरहनुहोस्ः

बजेटको विषयमा तपाईंहरु दुईबीच सहमती हुन आवश्यक छ । त्यसका लागि हप्तामा, महिनामा वा तीन महिनामा एकपटक पैसाबारे कुरा गर्नुहोस् । बजेट अनुसार नै सबैकुरा भए, नभएको हेर्नुहोस् ।

खुलेर कुरा गर्नुहोस्ः

यदि तपाईंलाई आफ्नो साथीले बुझोस् भन्ने चाहना छ भने तपाईं इमान्दार भएर खुलेर कुरा गर्नुपर्छ ।

एक–अर्कालाई सुन्नुहोस्ः

साथीले जे बोलिरहेका छन्, त्यसलाई ध्यान दिएर सुन्नुहोस् र बुझ्ने कोसिस गर्नुहोस् ।

सम्मान गर्नुहोस्ः

विश्वास, सहयोग र सम्मानको वातावरण बनाउनुहोस् ता कि तपाईंहरु दुईजना कुनै डर बिना एकअर्कासँग कुरा गर्न सक्नुहोस् ।

आफ्नो पैसा बढाउनका लागि के गर्ने ?

कुनै विशेष अफर वा सेलको लोभमा नपर्नुहोस् । आफूलाई चाहिएको कुरा मात्रै किन्नुहोस् । यदि तपाईंले कुनै हजार रुपैयाँको कोट आधा दाममा पाउनुभएको छ भने तपाईंले पाँचसय रुपैयाँ बचाएको होइन, पाँच सय खर्च गर्नु भएको हो ।

प्रलोभन दिने चीजबाट बच्नुहोस् । आफ्नो  खानपिनको बजेट ध्यानमा राख्नुहोस् । त्यही किन्नुहोस्, जुन तपाईं खानुहुन्छ ।

नोट नै दिने कोसिस गर्नुहोस्ः जब तपाईं नोट वा सिक्का दिनुहुन्छ तब तपाईंलाई धेरै पैसा दिनुपरेकोमा नराम्रो लाग्छ । कार्ड दिँदा कहिले पनि पैसा धेरै खर्च गरेको जस्तो लाग्दैन ।

सेकेन्ड ह्यान्ड सामान खरिद गर्नुहोस्ः यो तपाईंको लागि सस्तो पनि हुनेछ र वातावरणका लागि पनि राम्रो हुन्छ ।

कुनै कुराको आवश्यक छैन भने त्यो बेचिदिनुहोस् ।

ब्रान्डेड सामान खरिद गर्नुको साटो अनब्रान्डेड छान्नुहोस् ।

यो लेखमा भएका सामग्री बीबीसी रेडियो ४ को प्रोग्राम मनी क्लिनिकबाट लिइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप