बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रोमाञ्चक खेलमा नेपालद्वारा मलेसिया ६ रनले पराजित

आइतबार, २९ असार २०७६, ११ : ०९
आइतबार, २९ असार २०७६

दोस्रो टी–२० खेलमा नेपालले मलेसियामाथि ६ रनको रोमाञ्चक जीत हासिल गरेको छ ।

जीतका लागि १ सय ७४ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६७ रन मात्र बनाउन सकेपछि पराजित भएको हो ।

पहिलो खेलमा नेपाल ७ विकेटले विजयी भएको थियो ।

१ सय ७४ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मलेसियाले शुरुवात भने राम्रो गरेको थियो । दुवै ओपनरले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेका थिए ।

सायेद अजिजले ५० रन तथा विरन्दीप सिंहले २३ रनको योगदान दिए ।

त्यस्तै अमिनुद्दिन राम्लीले २४ तथा मुहमद स्याहादतले नटआउट रहँदै २१ रन बनाए पनि टोलीलाई जीत दिलाउन सकेनन् ।

नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट लिए भने करण केसी, अविनास बोहोरा र कप्तान पारस खड्काले १–१ विकेट लिए ।

यसअघि, टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको थियो । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ७३ रन बनायो ।

नेपालका लागि विकेटकिपर विनोद भण्डारीले सर्वाधिक ५१ रनको योगदान दिए । उनले मात्र २५ बलमा ३ चौका र ५ छक्का हिर्काए ।

शरद भेष्वाकरले ४० रनको योगदान दिए भने कप्तान खड्काले २३ रन बनाए ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेलेको हो ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ  ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आप्mनो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप