बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

मधेसको मागमा सरकार र विपक्ष ‘तँ कुटेजस्तो गर, म रोए जस्तो गर्छु’ गर्दैछन्

बिहीबार, २६ साउन २०७४, १४ : ४७
बिहीबार, २६ साउन २०७४

राष्ट्रिय जनता पार्टी नेपालको सात दिनसम्म चलेको पार्टीको बैठकले चुनावको बारेमा स्पष्ट दिशा नलिएको भन्दै मधेश र मधेशी जनतामा अन्यौलता देखिएको छ । त्यसको बारेमा पार्टीको कुनै आधिकारिक धारणा आएको छैन । आज पत्रकार सम्मेलन गरेर बैठकको निर्णय सार्वजनिक गर्ने तयार थियो तर तयारी नपुगेको कारण पत्रकार सम्मेलन अझै अन्योल छ । राजपा नेपालमा चुनावमा जानेको बहुमत छ तर पनि माग पूरा नभएसम्म चुनावमा नजाने राजपाले निर्णय लिएको छ । यो अन्योलताको बीचमा बैठकमा निकै सक्रिय भूमिकामा रहेका सो पार्टीका महासचिव जितेन्द्र सोनलसँग रातोपाटीका लागि एसके यादवले गरेको कुराकानीको संक्षिप्त अंशः

राजपा नेपालको सात दिन लगातयार बैठक बस्यो, यत्रो लामो बैठकले के निष्कर्ष निकाल्यो त ?
–राजपा नेपाल गठन भएको चार महिनामा नै यति लामो बैठक बस्नु आफैमा एउटा ऐतिहासिक काम हो । पार्टी गठन भएपछि बसेको यो नै पहिलो औपचारिक बैठक हो । यो बैठकले राजपा नेपाललाई एउटा परिचय दिने काम गरेको छ, औपचारिकता दिने काम गरेको छ । अर्को कुरा राजपा नेपाल गठन हुँदा सबै कार्यकर्ता तथा नेताहरुसँग सल्लाह नगरी गठन भएको हुँदा थुप्रै भ्रम तथा अन्योलताहरु थिए, ती सबै अब समाप्त भएको छ । छवटा फरक फरक विचार र धारणा बोकेका पार्टीबाट एउटा छाता मुनी आएका थिए त्यहाँ एडजस्ट हुन सबैलाई गाह्रो थियो, अब त्यो अन्त्य भएको छ । अलग अलग रहेका सम्पूर्ण कार्यकर्ता राजपा नेपालको एउटा कार्यकर्ता बनेर जिल्ला फर्केका छन् यो नै सबभन्दा महत्वपूर्ण कार्य भएको मान्न सकिन्छ ।

सात दिनको लामो बसाईले के गाइडलाइन दिएर कार्यकर्तालाई राजपा नेपालले पठाएको छ ?
–आन्दोलन र संघर्षकै बीचमा जन्मेको यो नयाँ पार्टीको बटमलाईन अधिकार सम्पन्न मधेश र विभेदमुक्त समाज निर्माण गर्नु नै हो । त्यसका लागि संघर्ष बाहेक अरु कुनै विकल्प नरहेको ठहर गर्दै अधिकारका लागि संघर्ष गर्नका लागि तयार रहन भनि पठाएको छ । सात दिनसम्म यही विषयहरुमा कुराकानीहरु भयो । र, सबैलाई यही भनेर पठाएको छ ।

औपचारिक निर्णय केही भएन त ?
–केही औपचारिक निर्णयहरु पनि भयो । खासगरि दुईटा एजेण्डामा लामो बहस भयो । स्थानीय तहको चुनाव र पार्टीको विधान यी दुईटा विषय बहसको केन्द्रविन्दु बनेको थियो । जतिजनाले कुरा राखे सबैले यिनै दुईटा विषयमा कुरा राखे । र, सबैको सुझाव समेटेर दुईटा निष्कर्ष निकाल्यो । एउटा, तीन बुँदे सम्झौता अनुसार माग पूरा नभएसम्म स्थानीय तहको चुनावमा नजाने र अर्को, विधान संशोधन तथा परिमार्जनका लागि एउटा समिति बनाउने । यी दुईटा निष्कर्ष निस्केको छ । पार्टीका संयोजक महन्थ ठाकुरले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदन परिमार्जन र संशोधनसहित पारित गर्ने पनि निर्णय भएका छ ।

माग पूरा नभएसम्म चुनावमा नजाने निर्णय भएको तपाईले भन्नुभयो, तर राजपा नेपालका अधिकाँश नेता तथा कार्यकर्ता चुनावमा जानुपर्ने पक्षमा रहेको कुरा सञ्चारमाध्यमाम आएका छन् नि ?
–सञ्चारमाध्यममा के आयो र कहाँबाट आयो कसरी आयो त्यतातिर अहिले म जान चाहन्न । तर, जे यथार्थ हो मैले त्यही भने । शतप्रतिश नेता तथा कार्यकर्ता चुनावमा नजाने पक्षमा रहेको त्यो पनि म भन्दिन । चुनावमा जानुपर्ने विषयमा कुरा राख्नेहरु पनि हुनुहुन्थ्यो । चुनाव बारेमा मिश्रित प्रतिकृयाहरु आएका छन् । ती प्रतिकृयाहरुको बारेमा पार्टी फेरि छलफल हुन्छ र एउटा निष्कर्ष निकालिनेछ तर प्रारम्भिक निष्कर्ष भनेको माग पूरा नभएसम्म चुनावमा नजाने नै हो ।

भनिन्छ, लोकतन्त्रणमा सबैको धरणलाई स्थान दिनुपर्छ, अल्पसंख्यकको पनि कुरा सुन्नुपर्छ । तपाईले नै भन्नुभयो, चुनावमा जानुपर्ने धारणा राख्ने नेताहरु पनि थिए । त्यसो भए उनीहरुको भनाईलाई कसरी एड्रेस गर्नुहुन्छ त ?
–मैले अघि नै भने नि कि बैठकमा आएका सबैको सुझावलाई सम्मानपूर्वक पार्टीले ग्रहण गरेको छ । ती सबै सुझावहरुको लिपिवबद्ध भएको छ, त्यसको बारेमा छलफल गरि कहि न कही एड्रेस पक्कै पनि हुन्छ, कसैको भनाइलाई अवमूल्यन गर्ने काम हुनेछैन ।

त्यसो भए चुनाव जानका लागि जोडदार रुपमा कुरा उठाउनेहरुको चित्त कसरी बुझाउनु हुन्छ ? चुनावमा कुन अवस्थामा जाने कुरा हुन्छ ?
–पहिलो कुरा हामी चुनवको विरोधी होइन । लोकतन्त्रमा चुनावको विरोध गरेर धेरै दिन सम्म टिक्न सक्दैन । तर, जो कोही पनि चुनावमा जाँदा आफ्नो अनुकुल वतावरण खोजेका हुन्छन् । अब यो बुझ्नुस् कि राजपा नेपालका लागि चुनावमा जाने वातावरण तयार भएको छैन, जबसम्म वातावरण तयार हुँदैन तबसम्म चुनावमा नजाने हाम्रो स्पष्ट धारणा हो ।

सरकारको प्रश्न छ, अब कस्तो वातावरण चाहियो तपाईहरुलाई ? संविधान संशोधन बाहेक सबै माग पूरा भएको छ, सविधान संशोधनका लागि पनि प्रयास भइरहेको छ, भने अब वातावरण बनाउनका लागि के गरिदिनु पर्यो ?
–कुन सरकारले यस्तो भनेको हो ?, मैले त सुनेको छैन । हामीलाई त्यस्तो खबर कतैबाट आएको छैन । हाम्रा कार्यकर्ता जो मधेश आन्दोलनमा सहभागि थिए, उनीहरु अझै थुनामा छन् । हाम्रा कार्यकर्ताहरु अझै प्रवास छन्, भागि भागि हिँडिरहेका छन् । अनि कसरी भन्ने सरकारले सबै माग पूरा गरेको छ ? आन्दोलनका क्रममा घाइते भएकाहरुमध्ये कतिपयको अझैसम्म होश आएको छैन । कोही अपाङ्ग भएका छन्, अनि कसरी भन्नुभयो सबै माग पूरा भएको छ ? सरकारले केही गरेको छैन भन्ने पनि म आरोप लगाउँदिन । सहिद घोषणा गर्ने काम लगभग सकिएको छ, घाइतेहरुलाई उपचार गराउने खर्च पनि दिएको छ, यस्ता खुद्रा कामहरु पनि भएका छन् । संविधान बाहेक स्थानीय तहको सँख्या थप्ने कुरा, मुद्दा फिर्ता, बन्दी रिहाका विषय हाम्रा मुख्य विषय हुन् । यी कुराहरु सरकारले पुरा गरेपछि हामीले चुनावको बारेमा सोच्न सक्छौ ।

भनिन्छ, २०६ मुद्दामध्ये १४० मुद्दा फिर्ता भएको छ रे । अनि स्थानीय तहको संख्या थप्ने निर्णय सरकारले गरेकै हो, सर्वोच्चमा मुद्दा परेपछि त्यसको दोषी सरकार होइन नि ?
–तपाईहरु एउटा जिम्मेवार पत्रकार हुनुहुन्छ, यो देशको राजनीति, रणनीतिबाट अनभिज्ञ हुनुहुन्न । कहाँबाट के गेम खेल्छन्, कसरी कुन कुरालाई युटर्न गर्छन् ती सबै कुरा तपाईहरुलाई थाह छ । तैपनि हामीलाई किन बोल्न लगाउनु हुन्छ ? यो देशमा कुट्नेले कुटेको जस्तो गर्छन्, रुनेले रोएको जस्तो गर्छन् यति कुरा बुझ्नुस् ।

कुरा बुझिएन प्रष्ट पारिदिनुस् न ?
स्थानीय तहको संख्या थप गर्ने निर्णय गरेर सरकारले हामीलाई खुशी बनाएको हो, सर्वोच्च अदालतमा मुद्दा दायर गर्न लगाएर विपक्षीलाई खुशी बनाएको हो । अब कुनै दिन कसैलाई खुशी र कसैलाई दुःखी बनाउनु पर्ने दिन आयो भने त्यही अनुसार अदालतबाट फैसला आउँछ हेर्नुहोला । अब त कुरा बुझ्नु भयो नि ।

फेरि तपाईहरुको बैठककै कुरा गरौँ । पार्टीभित्र ह्रदयश त्रिपाठीलगायतका नेताहरु असन्तुष्ट रहेको कुरा व्यापक रुपमा बाहिर आएको छ, खासमा त्यो कुरा के हो ?
–उहाँहरु असन्तुष्ट हुनुहुन्छ, जस्तो लाग्दैन मलाई । पार्टीका कुनै कुरामा फरक मत राख्दैमा असन्तुष्ट भन्न मिल्दैन । यदि त्यसलाई नै असन्तुष्टि मान्ने हो भने पार्टीभित्र कोही पनि सन्तुष्ट छैन । कसलाई कुन कुरामा चित्त बुझेको हुँदैन, कसलाई कुन कुरामा चित्त बुझेको हुँदैन, कुनै न कुनै कुराले सबै असन्तुष्ट हुन्छन् । त्यसो भए के पार्टीभित्र सबै असन्तुष्ट छन् भन्न मिल्छ त ? होइन नि । त्रिपाठीजीहरुको विधानलगायत केही कुरामा असन्तुष्टि देखिएको छ । उहाँहरुले पार्टीमा सुझाव दिनुभएको छ । उहाँहरुको सुझावलाई पार्टीले हार्दिकताका साथ मनन गरेको छ । विधान संशोधन हुन्छ, परिमार्जन हुन्छ, पार्टीलाई लोकतान्त्रिक प्रकृयाबाट सञ्चालन गर्छन् भन्ने कुरामा पार्टी पुरै तयार छ । विधान संशोधनका लागि एउटा समिति पनि बनाएको छ ।

छवटा पार्टीको एकीकरण भएको छवटै पार्टीको क्षमता एउटै थिएन र अहिले एकीकरणपछि समान हैसियत भएको छ, यसमा पनि उहाँहरुको असन्तुष्टि छ भनिन्छ त्यो के हो ?
–यदि उहाँहरुले यस्तो कुरा उठाउनु भएको छ भने सैद्धान्तिक हिसाबले सही कुरा हो तर यो एकीकरण एउटा सहमतिको आधारमा भएको हो । सहमतिको जगमा एकीकरण भएको हुनाले अहिले त्यस्तो देखिएको होला । तर, यो शुरुवात हो । मलाई लाग्छ यी सबै कुरा विस्तारै मिल्दै जान्छ ।

भन्छन्, पार्टीमा गुट्टै गुट छ रे, महेन्द्र र शरतको एउटा गुट, महन्थ, राजेन्द्र, अनिल र राजकिशोरको एउटा गुट । सही हो त ?
–होइन, यो कुरा एकदमै निराधार हो । पार्टी गठन भएको चार महिना मात्र त भएको छ, अहिले नै गुट बनेको होला भने मलाई लाग्दैन । यो गुटको कुरा पहिलो चोटी तपाईको मुखबाट सुनेको छु ।

अन्त्यमा भन्दिनुस्, असोज २ गते हुने स्थानीय तहको चुनावमा राजपा नेपाल भाग लिन्छ कि लिदैन ?
–    भाग लिन्छ तर सरकारले त्यसको वातावरण बनाई दिनुपर्छ ।

यदि राजपा नेपालले चुनावमा भाग लिएन र त्यही दलका नेताहरु स्वतन्त्र उम्मेदवारी दिएर चुनाव लडे भने के हुन्छ ?
केही हुँदैन । यसअघिको चुनावमा पनि केही नेताहरु त्यस्तो गरेको पाइएको छ । पार्टीको निर्णय विपरित चुनावमा स्वतन्त्र उम्मेदवारी दिनेहरु पार्टीको नेता हुनै सक्दैन अहिलेलाई म यति भन्छु ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप