शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन सय रुपैयाँ तोला सुनका गहना बेच्नेहरु

शनिबार, २८ असार २०७६, १८ : २७
शनिबार, २८ असार २०७६

बुटवल । गुल्मीको सदरमुकाम तम्घास घर भएका  ६५ वर्षीय कृष्णबहादुर सुनारले भने– ‘यहि हातले एक सय ६० रुपैयाँ तोला सुनका गहना बेचियो । अहिले  सपना जस्तै भयो ।’  तम्घासको बगाले टोलमा जन्मिएका उनलाई  स्थानीयले बगाले कृष्ण भनेर चिन्ने गर्छन्।

उनले सुनचाँदीको काम सुरुमा भारतको अछाम र सिलोङमा बसेर सिकेको बताए । त्यहाँबाट फर्केपछि उनले झोलामा गहगहना बनाउने ज्यावल बोकेर गाउँगाउँमा गहना बनाउन जाने गरेको सुनाए । ‘गुल्मी मात्र होइन, बाग्लुङ्ग र प्युठानसम्मका घर–घरमा गहना कमाउन पुगियो, झन तिज ताका त खाने र सुत्ने फुर्सदसम्म हुन्नथ्यो । अहिले त काम चल्नै छाड्यो ।’

उपल्लो तम्घासकै ६६ वर्षीय नामबहादुर सुनारले सुरुमा आफूले दुई सय ९० रुपैयाँ तोलाको दरले सुनका गहना बेचेको अनुभव सुनाए । लामो समय अछाममा बसेर गरगहना बनाउने सिप सिकेका उनले भने– ‘अहिले सुन महङ्गो छ । सुन खेलाउनै गाह्रो भयो ।’ 

अर्खले भुवनपानी घर भएका ५५ वर्षीय दिलबहादुर सुनारले सात हजार रुपैयाँ तोलाका दरले सुनका गहना बेचेको अनुभव सुनाए । ‘बालकाटे र भुवनपानी सुनका गहना बनाउन निकै कहलाएको गाउँ थियो,’ उनले भने, ‘अहिले त चार पाँच जनाले मात्रै सुन चाँदीको काम गर्छौं । अरुले गर्न छाडे ।’

उपल्लो तम्घासका ७६ वर्षीय लोकबहादुर सुनार छिमेकीहरुबाट बाटे माइलाका नामले चिनिन्छन् । उनले १ सय १० रुपैयाँ तोलाका दरले सुन र एक रुपैयाँ तोला चाँदी बेचेको अनुभव सुनाउँछन । 

‘उतीबेला गरगहनाको पसल राख्ने चलन नै थिएन्,’ उनले भने, ‘घरमै बसेर काम गरिन्थ्यो । तिज ताका राती १२ बजेसम्म टुुकी बालेर गहना बनाइन्थयो । खुब काम चल्थ्यो, अहिले त काम चल्नै छाड्यो ।’

सोही स्थानका ७३ वर्षीय चिन्ताबहादुर सुनारले १८ बर्षको उमेरदेखि गहना बनाउने काम सिकेको र १ सय ५० रुपैयाँ तोला सुन र सुका पैसाँ चाँदी बेचेको अनुभव सुनाए । 

‘त्यतिबेला असाध्धै काम चल्थ्यो  । रातभरी टुकी बालेर काम गरिन्थ्यो ,’ उनले भने, ‘हाम्रा बुबाले त डेढ दुई रुपैयाँ तोला सुन बेचेको मैले नै देखेको थिएँ । अहिले तीन भाई छोराले हाम्रो बिँडो थामेका छन् । मैले त काम गर्नै छाडे ।’

सोही स्थानका ७० वर्षीय मानबहादुर सुनार पनि बाटे माइला भनेर समाजमा चिनिन्छन् । उनले सदरमुकाम तम्घासमा आफूले पहिलो पटक सुनचाँदीको पसल खोलेको दावी गरे ।  

‘उतिबेलाका भलाद्मी र कहलाएका व्यवसायी रहेका नरप्रसाद श्रेष्ठ र चेतनारायण मरासिनीले सुन चाँदीको पसल राख भने । उहाँहरुले आफ्नो घरमा भाडा समेत नलिइ राखे ।  मैले सुरु गरिसके पछि क्रमशः अरुले पनि पसल राख्न थालेका हुन्,’ उनले भने ।

सोही स्थानका ७० वर्षीय टोपबहादुर सुनारले १५ बर्षको उमेरदेखि गहना बनाउन सिकेको र ४ सय रुपैयाँ तोला सुन बेचेको अनुभव सुनाए । 

बाटे माईला, बाटे साईला र टोपबहादुर सुनार पुराना पुस्ताका बढि कहलाएका र घरजग्गा कमाउनेमा अलि बढि गनिन्छन्  । बगालेका कृष्णबहादुरका छोराहरुले पछिल्लो पुस्तामा आफूलाई  बढि स्थापित गरेका छन् ।  

बाटे साईलाका पितालाई पनि बाटे साईला नै भनिन्थ्यो ।  दलबहादुर सुनार नाम भएपनि बाटे साईला भनेर चिनिने उनी  निकै कहलाएका र प्रतिष्ठित सुनारको रुपमा चिनिन्थे ।

उनको पुस्तामा साईला सुनार, पुर्सुङ्गे सुनार पनि त्यति नै कहलाएका सुनार थिए । अहिले भने तोलाको ६५ हजार ७ सय रुपैयाँका दरले सुन बेच्ने गरेको सुनचाँदी व्यवसायी संघ गुल्मीका अध्यक्ष बालकृष्ण बरालले बताए ।   

आज संघले छैठौं साधरण सभा तथा तेश्रो जिल्ला अधिवेशन गरिरहेको बेला उनै पुराना सुनारहरुलाई सम्मान गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रेम सुनार
प्रेम सुनार

 सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप