शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ मा अविरल वर्षाले बेहाल, कमला नदीको बाँध फुट्यो (तस्बिरहरु)

शनिबार, २८ असार २०७६, १५ : ०१
शनिबार, २८ असार २०७६

जनकपुर–बुधबारदेखिको अविरल वर्षाले प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुधाम सहित ८ वटै जिल्ला जलमग्न अवस्थामा छन् भने केही जिल्लामा बाढी समेत आएको छ ।

प्रदेश नम्बर २ को बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा सिरहा र सप्तरी जिल्लाका अधिकांश क्षेत्र डुबानमा परेको छ । डुबानले गर्दा सो क्षेत्रको जनजीवन प्रभावित भएको छ । 
धनुषा भएर बग्ने कमला नदीको बाँध फुटेपछि धनुषाको मलहनियाका १ सय ५० घर परिवार विस्थापित भएको छ ।  

जनकनन्दनी गाउँपालिकाको सघारा नजिक रहेको बाँध फुटेको हो । मलहनिया गाउँनै डुवानमा परेपछि १ सय ५० घर परिवार पूर्ण रुपमा विस्थापित भएका हुन् । 

बाँध ३० मिटरसम्म फुटेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले जानकारी दिए । हाल विस्थापित परिवारको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ ।

त्यस्तै धनुषाको दक्षिणी सीमाक्षेत्रमा अवस्थित जटही र भारतको पिप्रौन जोड्ने जलाद नदीको नवनिर्मित पुल छेउको माटो उप्केपछि पुलबाट हुने सम्पूर्ण आवागमन नै ठप्प भएको छ । 

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ स्थित मुसहरी टोल पानीले डुबेको छ । मुसहरीमा रहेको ५० भन्दा बढी घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । विपन्न मुसहर समुदायका ४ दर्जन घर परिवारका १ सय जना भन्दा स्थानीयवासीलाई रामजानकी आधारभूत विद्यालयमा राखिएको वडा नम्बर ७ का अध्यक्ष जानकीराम साहले जनाए ।


रौतहट सदरमुकाम गौर डुब्यो,  जिल्लाको अवस्था बेहाल (फोटोफिचर)


वडा अध्यक्ष साहले विपन्न परिवारलाई बस्न, खान र लगाउन सम्पूर्ण व्यवस्था गरीएको बताए । वडा नम्बर ७ मा ५ सय भन्दा बढी घर परिवारहरु प्रभावित भएको छ ।

वर्षाका कारण जनकपुरधाम उपनगरपालिकाको अधिकांश क्षेत्र जलमग्न भएको छ । जनकपुरको २५ वटै वडा जलमग्न भएको छ भने धनुषाको दक्षिणी क्षेत्र बढी प्रभावित भएको छ ।

वर्षाले जिल्ला प्रहरी कार्यालय र संघीय इकाई प्रहरी कार्यालय, जनकपुर अञ्चल अस्पताल, रामानन्द चोक, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, जिल्ला प्रशासन कार्यालय, वन कार्यालय सहितका कार्यालयहरु जलमग्न छन् । त्यस्तै जनकपुरको ऐतिहासिक बाह्रबिघा रंगभूमी मैदान, उद्योग वाणिज्य संघ, भानु चोक, मिल्स एरिया, पिरडिया माइस्थान, मुरली चोक देखि विश्वकर्मा चोक, कदम चोक, सरकारी कार्यालय क्षेत्रका सडक र परिसर समेत जलाशयमा परिणात भएको छ ।

त्यस्तै धनुषाको शहिदनगर नगरपालिका, कमला नगरपालिका, जनकनन्दनी गाउँपालिका, सबैला नगरपालिका, गणेशमानचारनाथ नगरपालिका लगायतका गाउँ वस्तीहरु कमला नदीको बहाबको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए । 


पर्सामा वर्षाको कहर : वीरगन्ज डुब्यो, ग्रामिण क्षेत्रमा पनि उस्तै सकस (तस्बिरहरु) 


अविरल वर्षाले पर्साको ग्रामीण क्षेत्रका नदी र खोलाहरूमा पानीको सतह बढेर गाउँ डुबानमा परेका छन् । नदी र खोलाको बाढिले केही स्थानमा खेतीयोग्य जमीन समेत कटान गरेका छन् ।  बाढीको कारणले दसौता गाउँ डुबानमा परेको छ । त्यस्तै पर्साकै भिस्वा, मुडली, लङ्गडी, धोबिनी, आशवारी, गुलरिया, जयमङ्गलापुर, सबैठवा, धोरे, हस्वा, मसिहानी, प्रसौनीभाटा, अमरपट्टि, गर्दौललगायतका अधिकांश गाउँ पनि डुबानमा परेका छन् । यस्तै वीरगन्जका केही स्थान पनि डुबानमा परेको छ । 

त्यस्तै बारा महोत्तरी, सप्तरी र सर्लाहीका अधिकांश जिल्लाहरु पनि डुबानमा परेको छ । त्यहाँका सरकारी कार्यालय लगायत सडकमा पानी जमेका कारण आवतजावतमा समस्या परेको छ ।

सर्लाहीको बस्तिमा पानी पस्दा घर डुबानमा परेको छ । माटो र खरद्वारा बनाइएको घरहरु भत्किएको छ भने त्यहाँको जनजीवन अति प्रभावित भएको छ ।


बर्दिवासमा पूर्वपश्चिम राजमार्गको पुल भत्किँदा सडक अवरुद्ध 


सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर १५ स्थित गाउँ नै डुबेको छ । गाउँमा जमेको पानीको निकास नहुँदा स्थानीय १ सय ५० परिवारलाई नजिकैको विद्यालयमा  राखिएको छ । यस्तै रौतहटको गौरलगायतका स्थान पनि डुबानमा परेको छ । 

मृतक परिवारलाई ३ लाख 

यसैबीच  प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढी पहिरोबाट ज्यान ज्यान गुमाएकाका परिवारलाई क्षतिपुर्ति स्वरुप  रु ३–३लाख दिने निर्णय गरेको छ । 


प्रदेश नं २ सरकारको मन्त्रीपरिषदको आपतकालीन बैठक बैठकले सो निर्णय गरेको हो । 

बैठकले प्रदेश २ का प्रभावित जिल्लामा तत्काल १०–१०लाख रुपैया निकासा गरी त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने  निर्णय गरेको छ।  

यस्तै  बैठकले हेलिकप्टर, सेना, प्रहरी  ,सशस्त्र प्रहरी लगायतलाई उद्दार  र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह समेत गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप